राष्ट्रिय सभा चुनाव , गण्डकीमा बन्यो ५ दलीय संयन्त्र

समाधान संवाददाता २०७८ पुष २५ गते २०:३४

पोखरा ।
माघ १२ मा हुने राष्ट्रिय सभा चुनावका लािग गण्डकी प्रदेशमा ५ दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस तर्फबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादी गण्डकी प्रचार विभाग प्रमुख श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले विज्ञप्ति निकालेर संयन्त्रको घोषणा गरेका हुन् ।


राष्ट्रिय सभा चुनावमा गण्डकी प्रदेशबाट माओवादीका भुवन सुनार र सुरेश आलेमगरसहित कांग्रेस नेतृ कमला पन्तको उम्मेदवारी परेको छ । क्रमशः महिला क्लस्टरमा पन्त, दलितमा सुनार र अन्यमा आलेमगर मैदानमा छन् । उनीहरुलाई जिताउन गठबन्धनले संयन्त्र तयार गरेको हो । ५ दलीय गठबन्धन भए पनि प्रदेशमा माओवादी केन्द्र र नेपाली कांग्रेसका मात्र उम्मेदवारी छन् ।


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । यहाँ एमालेका २७ प्रदेश सभा संसद छन्, जसको मतभार १ हजार २ सय ९६ छ । स्थानीय तहमा एमालेका ७० जनाप्रतिनिधिको मतभार १ हजार २ सय ६० छ ।

Advertisement


कांग्रेसका १५ प्रदेश सभा सदस्यको मतभार ७ सय २० हुन्छ । स्थानीय तहमा कांग्रेसका ८२ प्रमुख, उपप्रमुखको मतभार १ हजार ४ सय ८६ छ । माओवादीका १२ प्रदेशसभा सदस्य छन् । जसको ५ सय ७६ मतभार हुन्छ । माओवादी केन्द्रका स्थानीय तहमा १२ जना प्रमुख÷उपप्रमुख छन्, यीनको मतभार २ सय १६ छ ।


गण्डकीमा राष्ट्रिय जनमोर्चाका २ संसद र स्थानीय तहमा ३ प्रमुख÷उपप्रमुख छन् । जनमोर्चासँग प्रदेशसभा सदस्यको मतभार ९६ र स्थानीय तहमा मतभार ५४ छ । जनता समाजवादीका २ प्रदेश संसद छन् । उनीहरुको ९६ मतभार हुन आउँछ । समाजवादीका पालिका जनप्रतिनिधि छैनन् । एकीकृत समाजवादीका १ उपप्रमुख छिन् । जसको मतभार १८ मतभार छ ।

Advertisement


यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका २ मतदाता छन् । राप्रपाको मतभार ३६ हुन्छ । प्रदेशमा १ जना स्वतन्त्र संसद छन्, उनीसँग मतभार ४८ छ । कांग्रेस गण्डकी सभापति शुक्रबार शर्माले देशमा लोकतान्त्रिक संविधान विरोधी कदम र जनताको प्रतिनिधि संसदको पटक पटक विघटन भएकाले प्रजातन्त्रको रक्षाका लागि संघदेखि प्रदेशमा ५ दलीय गठबन्धन बनेको उल्लेख गरे । ‘हामीहरु चुनावमा गठबन्धनबाटै जान्छौं । केही एक्लै जाने छुट छैन । प्रतिगमनलाई परास्त गर्न हामी सबै एक हुनुपर्छ ।’
५ दलीय संयन्त्रले पुस २८ मा नवलपुर, २९ मा कास्की, ३० मा तनहुँ, माघ २ मा लमजुङ, ३ गते पर्वत र बागलुङ, ४ गते म्याग्दी र ५ गते स्याङजा जिल्लामा मतदातासँग भेटघाट कार्यक्रम राखेको छ । यसअघि नै गोरखामा मतदातासँग भेटघाट गरिसकेको छ ।
संयन्त्रले मनाङ र मुस्ताङ जिल्लामा अनुकुल समय मिलाएर मददाता भेट्ने जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात वटै प्रदेशमा ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा १९ पद रिक्त छन् ।
आइतबार निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको छ ।


त्यसैगरी, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया