महामारीसँगै युद्धको सन्त्रास

डा सञ्जय कोइराला २०७८ फागुन ११ गते २०:१६

डा सञ्जय कोइराला
२०१९ डिसेम्बरदेखि सुरु भएर करिब ५९ लाखको ज्यान लिएपश्चात अहिले तेस्रो लहर लगभग पार गर्न लाग्दै गर्दा कोरोनाबाट सम्पूर्ण मानव जगतले केही पाठ सिक्नुपर्ने देखिन्छ । यो कहरलाई विज्ञानले पनि अवश्यम्भावी भनी धेरै पहिले नै घोषणा गरेको अवस्था थियो । २०१४ तिर एक अन्तर्वार्तामा बिल गेट्सले सोही सम्भावनाको कुरा गर्दा यससँग जोडेर उनलाई कुनै बेला नकारात्मक दृष्टिकोणले हेर्ने प्रयास भएको पनि थियो । चीनले यसलाई हतियारको रुपमा तेस्रो विश्वयुद्धको लागि विकास गरेको हो भनी अड्कल लगाउनेहरु पनि कम भएनन् ।

कोरोनाको कारण तेस्रो लहरसम्म आइपुग्दा भएको भौतिकसँगै आर्थिक क्षतिको लेखाजोखा गर्न सायदै सम्भव होला । हामीले के चाहिँ कुरा बुझ्नु जरुरी छ भने यो पहिलो पटक मानव जातिले भोग्नु परेको कुनै आश्चर्यजनक घटना होइन । यस्ता घटना विगतमा पनि भएका हुन् र अब भविष्यमा पनि हुने सम्भावना उस्तै छ ।

सन् १९१८ मा स्पेनिस फ्लु नामक यस्तै भाइरसले पहिलो विश्वयुद्ध सकिँदै गर्दा उक्त विश्वयुद्धमा भन्दा बढी मानवीय क्षति गरेको इतिहासका पानामा हामी हेर्न सक्दछौं । करिब ५ करोडको ज्यान लिएको सो भाइरस जातिको अध्ययन गर्दै गर्दा एक शताब्दीवरिपरि फेरि पनि यस्तै कुनै भाइरसको विश्वव्यापी संक्रमण हुनेछ भनी मेडिकल विज्ञानले चेतावनी दिएको थियो । फेरि पनि यो भाइरस आफ्नो अनुवंश परिवर्तन गर्दै अरु खतरनाक हुन सक्ने सम्भावना उत्तिकै छ ।

Advertisement

थोमस हब्सले भनेजस्तै यो जगतका हरेक वस्तु चलायमान हुन्छन् । कार्ल माक्र्सको सिद्धन्त अनुरुप हरेक वस्तुमा अन्तरद्वन्द्व चलिरहेको हुन्छ । सोही अनुरुप भाइरसको अनुवंशमा समयसँगै परिवर्तन भइरहने हुँदा यस्ता घटना भविष्यमा पुनः भइरहने छन् र यो एउटा चक्र जसरी चलिरहनेछ । यो चक्र रोक्न आधुनिक वैज्ञानिक चिकित्साशास्त्र सफल हुने सम्भावना म चिकित्सक नै भए पनि एकदमै कम देख्छु ।

हामी मानिस जाति सबैभन्दा उच्च जातको जनावर हौं । हाम्रो उद्देश्य आफ्नोसँगै यो प्रकृतिको पनि रक्षा गर्नु हो । प्राकृतिक सन्तुलन कायम राख्दै आफू र यो पृथ्वीमा बस्ने हरेक प्राणीका लागि योग्य पृथ्वीको संरक्षण गर्नु प्रत्येक मानव जातिको कर्तव्य हो । भौतिक सुख, सुविधा भोग गर्दै गर्दा प्रकृतिको पनि संरक्षण गर्नुपर्ने हाम्रो दायित्व हो । तर यो भौतिकवादी काल खण्डमा मानिस म र आफू मात्रैको चिन्तनमा बिलिन हँुदै छ ।

Advertisement

म र आफूमा हराउँदै गएको मानव जातिलाई झक्झक्याउने प्रयास यो कोरोना कहरले गर्न खोजेको स्पष्ट छ । प्रकृतिको अगाडि मानिस केही हैन, हामी धेरै बुद्धिमान आफैंलाई तर अहिले मुख छोपेर हिड्नुपर्ने अवस्था आएको छ । भौतिक रुपले जति धेरै सम्पन्न भए पनि ( मान्छे या देश) कोही पनि प्रकृतिसँग जुध्न सक्दैन भन्ने सत्य, तथ्य उजागर भएको छ ।

एक शताब्दीअघि पहिलो विश्वयुद्धपछि महामारी फैलिएको थियो भने अहिले कोरोना महामारीपछि विश्वयुद्धको सम्भावना देखिएको छ ।

पैसा नामक भौतिकवादको देवताले पनि प्रकृतिको सानोभन्दा सानो जीवाणुबाट मानिसलाई बचाउन नसक्ने स्थति उदांगो भइरहदा अझ ज्वालामुखी, भूकम्पको त कुरा नै गर्नु पर्दैन । अझ आफैं नै परमाणु अस्त्रहरु बनाएर हामी आफैं आफ्नो र यो पृथ्वीको विनासका लागि तम्तयार अवस्थामा रहेका छौं । हामी अब मानव जाति र यो युगको अन्त्यको संवाहक हुने सम्भावना प्रबल छ ।

बुर्जुवाहरूको आफ्नै कारणले गर्दा आन्दोलनको थालनी हुन्छ र आफ्नै सम्प्रभुता त्याग गर्न उनीहरु विवश हुन्छन् भनी कार्ल माक्र्सले भनेझै हामी उच्च कोटीका जनावरहरु आफ्नै कारण आफ्नो विनाश गर्न लागिपरेका छौं । हजारौं वर्षअघि लोप भएको डाइनोसर को त आफ्नो कुनै गल्ती थिएन तर मानव जाति त बुद्धिमान हँुदा हँुदै पनि यो अवस्थामा आइपुग्नु ठूलो विडम्बनाको कुरा हुनेछ ।

हाल युक्रेनको बिषयलाई लिएर अमेरिका र रुसबीच चलेको द्वन्द्वले कतै मानव जातिको अस्तित्व समाप्त हुने गरी तेस्रो विश्व युद्ध त हुने होइन भन्ने डर आम मानिसलाई लाग्न थालेको छ । डर नहोस् पनि किन, अहिले विश्वका दुई शक्तिशाली राष्ट्र आमुन्ने सामुन्ने हुने अवस्था सिर्जना भएको छ ।

आफ्नो रक्षा गर्ने र दुश्मनको विनास गर्ने हेतु बनाइएका परमाणिक हतियार अहिले सम्पूर्ण मानव जगतलाई नै खतराको बिषय बनेका छन् । दुवै राष्ट्रले दिइरहेका आआफ्ना धारणा कति सही छन्, कति गलत छन् त्यसको विश्लेषण गर्न हामी सबै आफ्नै ढंगबाटस्वतन्त्र छौं । तर त्यसको निर्णय दिने अधिकारमात्र समयसँग रहेको छ ।

समयले नै बताउने छ को सही हो र को गलत । हामी अहिलेमात्र आफ्नो ढंगले आफ्नो तर्क राख्नबाहेक केही गर्न सक्ने अवस्थामा छैनौं । तर पनि अहिलेको परिस्थितिमै अघि बढ्ने हो भने यो पृथ्वीले अर्को एउटा विनासकारी युद्ध थेग्नुपर्ने देखिन्छ । जुन अहिलेको मानव निर्मित शक्तिशाली हात हातियारका कारण मुस्किल पर्न सक्छ ।

एक शताब्दीअघि पहिलो विश्वयुद्धपछि महामारी फैलिएको थियो भने अहिले कोरोना महामारीपछि विश्वयुद्धको सम्भावना देखिएको छ । आइन्स्टाइनले कुनै बेला भने जस्तै तेस्रो विश्वयुद्ध हैन यदि अब चौथो विश्वयुद्ध भयो भने ढुंगा मुढाको बलमा हुनेछ भन्ने भाविष्यवाणी सही नहोला भन्न सकिन्न ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया