सम्भावना र साझेदार खोज्दै पोउवा संघ

समाधान संवाददाता २०७८ चैत १ गते १३:४४

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदार खोजी अभियान थालेको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणसँगै यो सम्भावना खोजी गरेको हो ।


सो क्रममा संघका अध्यक्ष नारायण कोइराला नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा हुँदै स्याङ्जा, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा, रुकुम (पूर्व) बागलुङबाट पर्वत हुँदै पोखरासम्म फेरो लगाएको छ । संघका अध्यक्ष कोइरालाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिवेणी–कोरला राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माणपछिको व्यावसायिक सम्भावना र साझेदारीको खोजी थालिएको हो ।


‘पोखराको पर्यटन प्रवद्र्धन गर्नु, उद्योग वाणिज्य संघहरुबीच भाइचारा अभिवृद्धि गर्नु तथा व्यवसायमा नयाँ सम्भावनाको खोजी गर्नु अध्ययन अवलोकन भ्रमणको उदेश्य हो’, फागुन २२ देखि २७ गतेसम्मको भ्रमणको समीक्षा गर्दै उनले भने,‘ पोखरा पर्यटकीयमात्रै नभएर व्यावसायिक केन्द्र बनाउने यो निजी क्षेत्रको अभियान हो ।’

Advertisement


भ्रमणको क्रममा पाल्पा, गुल्मी, दाङ, रोल्पा तथा रुकुम (पूर्व) का उद्योग वाणिज्य संघहरुसँग सहकार्य र सम्भावनाबारे अन्तक्र्रियासमेत गरिएको उनले बताए । सबैजसो अन्तक्र्रियाको क्रममा व्यवसायीका साझा एजेन्डा, व्यावसायिक साझेदारी तथा नयाँ सम्भावनाको खोजीबारे गहन चर्चा गरिएको उनले जानकारी दिए । सो क्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पोखरा–पाल्पा र लुम्बिनीबीच पर्यटन प्रवद्र्धनमा सहकार्य गरिनुपर्नेमा जोड दिए ।

Advertisement


गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, प्यूठानका पूर्वअध्यक्ष राजकुमार कक्षपति तथा दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले मध्यम तथा साना व्यवसायीले भोगेका समस्याबारे निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिए । यसैगरी रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोरकुमार आचार्यले महासंघले साना व्यवसायीको हितमा काम गर्न नसकेको स्वीकारे ।


अध्यक्ष विश्वकुमार चन्दले रोल्पामा पछिल्लो समय व्यवसाय फस्टाउँदै गएको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्ग निर्माणसँगै रोल्पाको पोखरासँगको व्यापार विस्तार हुने र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । रुकुम (पूर्व) उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद मल्लले मध्यपहाडी लोकमार्ग निर्माणले पोखरासँगको व्यावसायिक सम्बन्ध बढेको र सडक कालोपत्रे हुनासाथ रुकुम पोखराबाट टाढा नहुने धारणा राखे ।


१८ सय ७९ किलोमिटर लामो मध्यपहाडीले गण्डकी क्षेत्रका गोरखामा ५३, लमजुङमा ४५,कास्कीमा ८२, बागलुङमा १४० गरी कुल ३४५ किलोमिटर दूरी समेट्छ । बागलुङ खण्डमा करिब १० किलोमिटर बाटो छोटिँदा यो दूरी घट्न सक्छ । बागलुङको निसीखोला हुँदै यो राजमार्ग रुकुम पूर्वतिर हानिन्छ । रुकुम पूर्वमा मध्यपहाडीको दूरी १२४ किलोमिटर रहेको छ । मध्यपहाडीका कारण रुकुमबाट काठमाडौं र पोखराको दूरी छोटिएको छ ।


पहिला रुकुम पूर्वका नागरिकहरु तराइ हुँदै ३० घण्टा लगाएर काठमाडौं जान्थे, अहिले त्यो १४ घण्टामा झरेको छ । रुकुमबाट पोखरा आउन करिब ८ घण्टा लाग्छ । २ सय १० किलोमिटर लामो सहिद मार्ग मध्यपहाडीसँग जोडिँदा रोल्पा,दाङ र प्यूठान पनि पोखराबाट नजिक पर्छ । सहिद मार्ग दाङको घोराहीबाट सुरु भएर रोल्पा हुँदै डोल्पा पुग्छ ।


‘पाँचथरबाट सुरु भएर बैतडी पुग्ने मध्यपहाडी र ४ सय ३५ मिटर लामो त्रिवेणी– कोरला सडक नाका बनेसँगै पोखरा झन ठूलो व्यापारिक केन्द्र बन्ने निश्चित छ’, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘त्यसैले हामीले अहिलेदेखि नै सम्भावनाको खोजी गरेका हौँ ।’ भ्रमणका क्रममा विभिन्न जिल्लामा उत्पादन हुने वस्तुको बजारीकरण र ब्रान्डिङमा सहकार्यको सहमति पनि बनेको छ । पोखरालाई पर्यटनको राजधानी बनाउँदै यी दुबै बाटा र हवाई मार्गसमेत प्रयोग गर्नेबारे पनि सहमति बनेको उनले बताए ।


संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले कोरला नाका निर्माण अगावै यो क्षेत्रबाट निर्यातका सम्भावना भएका वस्तु पहिचान गर्नु पनि भ्रमणको उद्देश्य भएको सुनाए । उनले रोल्पा र रुकुम क्षेत्रमा उत्पादन हुने भाँगोदेखि लोक्ता, सिमीदेखि आलुसम्मको बजारीकरणको सम्भावनाबारे छलफल भएको जानकारी दिए ।


‘राजमार्ग निर्माणले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ’, उनले भने, ‘अब स्थानीयका उत्पादन ठूला बजारसम्म आउन समस्या पर्दैन भन्ने जानकारी पनि यो भ्रमणले गराएको छ ।’ संघका कोषाध्यक्ष बलराम आचार्यका अनुसार संघको प्रतिनिधि मण्डलले ढोरपाटन क्षेत्रसमेत भ्रमण गरेको छ ।

तपाईको प्रतिक्रिया