मध्यकमाण्ड सेनापति ट्रफीमा २८ नं वाहिनी विजेता

समाधान संवाददाता २०७८ चैत १ गते १३:४६

पोखरा ।
मध्यकमाण्ड हेडक्वार्टर विजयपुर पोखरामा सोमबार भएको कमाण्ड सेनापति ट्रफी अन्तर्गतको फुटबल प्रतियोगिता २८ नम्बर बाहिनी मातहतको पुरानो गोरखगणले जितेको छ । उसले ३ नम्बर बाहिनी अन्तर्गतको श्रीजंग गणलाई २–० गोलअन्तरले पराजित गरेको हो ।


खेलमा दोस्रो हाफको ८३ र ९१ औं मिनेटमो गरेको गोलले पुरानो गोरखगण मध्यकमाण्ड सेनापति ट्रफी हात पार्न सफल भयो । सेनाको नयाँ संरचना अनुसार मध्यकमाण्डले बागमती, गण्डकी र लुम्बिनीका ३१ जिल्ला हेर्छ । देशकै सबैभन्दा ठूलो कमाण्ड पनि यही हो ।


मध्यकमाण्ड सेनापति ट्रफीमा विभिन्न ६ वाहिनीले सहभागिता जनाएका थिए । फुटबल, भलिबल, बास्केटवल, एथलेटिक्स, स्विमिङ, बक्सिङ र तेकवान्दो गरी ७ वटा विधामा प्रतियोगिता आयोजना गरिएकोमा २८ नम्बर बाहिनी प्रथम हुँदै ट्रफी जित्न सफल भयो ।

Advertisement


फागुन २४ देखि २९ गतेसम्म सञ्चालित प्रतियोगितामा उत्कृष्ट टिमले मध्यकमाण्डको प्रतिधित्व गर्दै चैतमा हुने प्रधानसेनापति ट्रफीमा सहभागिता जनाउने मध्यकमाण्ड हेडक्वार्टरका जनसम्पर्क अधिकृत प्रेम पौडेलले जानकारी दिए ।
विजेतालाई ट्रफी प्रदान गर्दै मध्यकमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले प्रधानसेनापति कपमा विजयी हुन शुभकामना दिए । यस प्रतियोगिताले उत्कृष्ट खेलाडीहरुको पहिचान गरेको र दक्ष खेलाडीहरु उत्पादन गरी राष्ट्रको नाम राख्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।


‘यस प्रतियोगिताले मध्यकमाण्ड अन्तर्गत रहेका सम्पूर्ण युनिटहरुका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न सु–अवसर प्रदान गर्नुका साथै सम्पुर्ण खेलाडीहरुलाई आ–आफ्नो खेल विधाहरुमा आफ्नो खेलकौशल देखाउने मौकासमेत प्रदान गरेको मैले अनुभूत गरेको छु,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया