माछापुच्छ्रे प्रतिबिम्ब पार्क अलपत्र

श्याम रानामगर २०७८ चैत ४ गते १२:००

श्याम मगर
पोखरा ।
आकाश छ्याङ खुलेको दिन माछापुच्छ्रेले फेवातालमा डुबुल्की मार्छ । यो मोहक दृश्यले मन नलोभ्याउने सायदै होलान् ।
गीतै छ,
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको पोखरा नै रैछ
हो, ड्यामसाइड किनारबाट देखिने यो दृश्यलाई धित मरुञ्जेल हेर्न पनि पाइने, त्यतिमात्रै होइन, नेपालको ८० फिट अग्लो झण्डाको प्रतिबिम्ब पनि फेवातालमा हेर्न पाइने । बाल उद्यान, पेभिलियन खुला व्यायामस्थल लगायतका अनेक संरचना तयार पारेर पर्यटकलाई भुलाउन अर्को पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारले माछापुच्छ्रे प्रतिबिम्ब पार्कको काम अघि बढाएका थिए । यद्यपि, एक चौथाई पनि काम हुन नपाउँदै पार्कको काम अलपत्र परेको छ ।


वरिपरि हिँड्ने पेटी र केही रुख ढलाउनेबाहेक माछापुच्छ्रे प्रतिबिम्ब पार्कको कामअघि बढ्न सकेको छैन। २०७६ वैशाख १६ गते पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानी गर्ने गरी मामाछापुच्छ्रे प्रतिबिम्ब पार्क शिलान्यास गरिएको थियो ।


गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तत्कालीन पर्यटन मन्त्री विकास लम्साल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले महानगर र गण्डकी सररकाले आधा–आधा खर्च व्यहोर्ने गरी पार्कको शिलान्यास गरेका थिए । पार्कको शिलान्यास गर्दै महानगर र प्रदेश सरकारका कार्यकारीले एक स्वरमा भनेका थिए–प्रदेश सरकार र महानगर सँगसँगै छन् ।

Advertisement


पोखरा महानगर र प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आधा–आधा खर्च व्यहोर्ने गरी करिब ४ करोड लगानीमा बनाउने भनिएको पार्कको पहिलो चरणको कामका लागि ४५ मिटर पर्खाल निर्माण गर्ने, जग्गा सम्याउने, पार्कभित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजार रुपैयाँमा पोखरा १७ कै बिनु कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । पहिलो चरणको काम सकिएपछि भने पार्कका लागि बजेट नै विनियोजन गरिएन । लेउ जम्न लागेका पैदल मार्ग र असरल्ल छरिएका रुखका जरा देखेर पनि भन्न सकिन्छ, पार्क निर्माणको थप काम यसै अलपत्र छ ।


ड्यामसाइड क्लबका निर्वतमान अध्यक्ष तथा माछापुच्छ्रे प्रतिबिम्ब पार्क कार्यसमिति संयोजक स्थानीय पदम ढकालले हाल डिभिजन वन कार्यालयको आर्थिक सहयोग साथै क्लब र उपभोक्ता समितिको पहलमा केही काम सुरु हुन लागेको बताउँछन् । डिभिजन वन कार्यालयको ९ लाख ४७ हजार र संस्थाले १ लाख ३२ हजार रुपैयाँमा केही काम गरेको उनले सुनाए ।
नेपाल पर्यटन बोर्ड, स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर २६ लाख ४७ हजारको काम सुरु हुन लागेको उनको भनाइ छ । ‘हाम्रै सक्रियतामा यसको संरक्षण गर्ने गरी कामअघि बढाउन लागेका छौं । ०७६ वैशाखमा विधिवत उद्घाटन भयो ।केही काम ठेकेदारको कमजोरीले ढिला भयो,’ उनले भने, ‘पछि बजेट नै विनियोजन भएन । क्लबले नै सम्बन्धित निकायलाई हारगुहार गरेर कामअघि बढाउन लागेका छौं ।’

Advertisement


०७७÷७८ मा वन कार्यालयको आर्थिक सहयोग आएपछि केही काम गरेको उनले सुनाए । अहिले बजेट नभएर पर्यटन बोर्डसँग सहयोगका लागि कुराकानी भएको उनले बताए । सिँगो योजनाको एक भाग काम सक्न आफूहरु लागिपरेको उनको भनाइ छ । स्थानीय संस्थाले नै जिम्मा लिनुपर्छ भनेर स्थानीय सरकारले भनेकाले पार्क निर्माणका लागि पहल थालिरहेको उनले बताए । जिल्ला सिँचाइ कार्यालयको स्वामित्वमा रहेको जग्गामा सानो मन्दिर पनि छ । पर्यटनको राम्रो सम्भावना भएको यो ठाउँमा ८० फिटको झण्डा ठड्याउने योजना तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको थियो । ‘गण्डकी प्रदेशमा कही पनि छैन भनेर तत्कालीन मुख्यमन्त्रीले भनेर भन्नु भएको थियो,’ ढकाल स्मरण गर्छन् ।

सोफिया गुरुङ र किसानसिंह गुरुङले नक्सा बनाउँदा करिब ४ करोड खर्च अनुमान गरिए पनि अहिले खर्च बढ्ने अनुमान उपभोक्ता समितिको छ । ‘आजभन्दा तीन वर्ष अघिको खर्च अनुमान हो । अहिले खर्च बढ्न सक्छ । ३ वर्षमा त पहिलेको रेट र अहिलेको फरक पर्न जान्छ,’ उनले भने । वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी नेपालको सार्वजनिक खरिद ऐन र ठेकेदारका कारण काम रोकिएको बताउँछन् ।


‘ठेकेदारले काम अलपत्र पारेको हो । अर्को ठेक्का रोकियो । राम्रो काम गरेन,’ उनले भने, ‘ठेक्का घटेर हाल्यो । फाइदा नहुने भएपछि यस्तै छाड्यो । अर्को बजेट पनि रोक्यो त्यसले ।’ वडा नम्बर १७ मा डेभिजफलबाट पावरहाउस जाने फास्ट ट्रयाकको काम सोही कम्पनीले जिम्मा लिए पनि अहिले कामै रोकिएको अधिकारीले सुनाए ।


‘हामी त साह्रै अप्ठ्यारोमा परेका छौं । केही काम उसले गरेको छ । त्यो काम पनि समयमा नसकेकाले काम समयमा नसकिँदा रकम विनियोजन हुन सकेको छैन,’ उनले भने । आफ्नो वडाको काम फुकाइदिन कार्यपालिकामा बारम्बार कुरा उठाइरहेको वडाध्यक्ष अधिकारी बताउँछन् । पार्कका लागि १ करोड ८ लाख रुपैयाँको महानगरले टेन्डर निकाले पनि ठेकेदार कम्पनीले ७६ लाख २७ हजारमा टेन्डर लिएको थियो ।


उपभोक्ता समितिमार्फत् ड्यामसाइड क्लबले काम गरिरहे पनि पहिलो चरणको काममै दाँतमा ढुंगा लागेको उनको भनाइ छ । अहिले प्रदेशले पनि हात झिक्यो । महानगर पनि निष्क्रिय भयो । प्रदेश सरकार र महानगरले कुनै चासो नै देखाएका छैनन् । अहिले रेखदेख र संरक्षणका लागि ड्यामसाइड क्लबलाई नै रेखदेख गर्ने जिम्मा दिइएको वडाध्यक्ष अधिकारीले सुनाए । ‘वडा स्तरको पैसा पनि दिन्छौं भनेर आगन्तुक पर्यटकलाई रेखदेख गरिदिनुस् भनेर भनेका छौैं,’ अधिकारीले भने ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया