साझा पीर

समाधान संवाददाता २०७८ चैत ६ गते १८:३९


दुर्गा न्यौपाने ।


गोलीकोभन्दा शक्ति शब्दमा हुन्छ । कथामा हुन्छ । अभिनयमा हुन्छ । यो नयाँ कुरा होइन । मुनामदन आज पनि ज्यूँदै छन् । कतिपय चलचित्र अमर छन् । अमरता मनले बनाउँछ । जेले जीवनलाई छुन्छ, त्यो मनसम्म पुग्छ । नबोलिएका दुःख र नभनिएका व्यथा सृजनाले बोल्छ । र, सबैले आफ्नै मान्छन् । आफ्नाको ठान्छन् । त्यसैले मान्छे सोझै भन्न नसकेका र नमिलेका कथा, व्यथा, माया प्रेमलाई गीत, कविता, कथा, नाटक आदिबाट प्रस्तुत गर्छन् । यो पुरानो चलन हो । हो, त्यसै गरे प्रकाशले ।


उनको पीरले सबैको मथिंगल हल्लाईदियो । कसैलाई रुवायो । कसैलाई चिथो¥यो । हो, मलाई पनि घच्यायो । भावना मसँग पनि छ । सम्झेँ, जनयुद्धका चेलीलाई । कसिलो मुठ्ठी बोकेर महिला मुक्तिको लागि लडेकाहरुलाई । देख्दा नमीठो लाग्यो । साँचै त्यही अवस्थाबाट गुज्रिनु परेको त छैन ? मनमा प्रश्न जन्मे ।

Advertisement


माओवादीले विरोध गरे । अपमान फिल गरे । भिडियो ब्यान्डको कुरा गरे । अरु सर्वसाधारणले वास्तविकता भने । धेरै कोणबाट बहस र चर्चा भए । प्रकाशलाई धेरैले सलाम गरे । आखिर किन यस्तो भयो ? के यो राजनीति थियो त ? के माओवादीसँग बदला लिन खोजेको थियो त ? धेरै पटक हेरेँ । सुनेँ । पटक्कै लागेन । किनकि एउटा सर्जकले कही नदेखि, नसुनी र नलागी यस्तो लेख्नै सक्दैन । अभिनय गर्नै सक्दैन । कल्पना पनि वास्तविकताको नजिक हुन्छ ।


सर्जकले कल्पना गर्न पाउँछ । कैयौँ चलचित्र बनेका छन्, नारीप्रधान । त्यहाँ अनेक नारीको वेदना देखाईन्छ । इज्जत फुकालिन्छ । नांगै बनाइन्छ । उजाड देखाइन्छ । समाजको घटना हो भनेर दर्शक बनिन्छ । नायकले न्याय दिँदा ताली बजाइन्छ । हुटिङ गरिन्छ । चाहेको त्यही हो, जुन नायकले गर्छ । त्यो लेसन बन्नुपर्छ । समाजको ऐना हो, सृजना । सृजना त फुल्नुपर्छ । फक्रिनुपर्छ । त्यसैले, जहाँसुकै होस्, एउटी नारीको अपमान भनेको आमाको अपमान हो । मातृभूमिको अपमान हो । त्यसैले नारीको अपमानलाई जिरो टोलेरेन्स बनाउनुपर्छ ।

Advertisement


माओवादी पहिला जस्तो छैन । जनताको आवाज थियो कुनै दिन । आशा थियो । भरोसा थियो । जे गर्छ माओवादीले गर्छ । यही भन्थे जनता । त्यो विश्वास छैन आज । सत्ता लालसाले झिनो भयो, यो । साथ दिने जनता बिस्र्याे । ती छापामार चेली कहाँ छन् आज ? मेरो पनि प्रश्न यही छ । हातका औँलामा गनिने महिला नेतृ भए भन्दैमा सबै सुखी छन् भन्न सकिन्न । आम रुपमा गुनासो सुनिन्छ । विदेशमा पलायन हुनुपर्ने बाद्यता ५५ डिग्रीकै छ । तिनको खोजी गरेको सुनिन्न ।

तिनका आवाज दबिएकै छन् । हिजो अरुका आवाज बोल्न लडाईँ गरेका बोली बन्द छन् । कुन अवस्थामा छन् ? खै खोजी ? यही कारण माओवादी पातलिएको छ । अझ नेतृत्वमा चेत पसेको छैन । आलोचनाले त मार्ग निर्देश गर्नुपर्ने हो । सच्चिन मद्दत पुग्नुपर्ने हो । तर त्यस्तो कहिँ देखिन्न ।


पीरले व्यथा बोलेको छ । घाउ देखाइदिएको छ । कहिँ यस्तो बिडम्बना पनि छ कि, आफैँमा प्रश्न गर्नुस् कामरेड । आम नागरिकमा गएर हेर्नुपर्छ । माओवादीको कुरामात्र होइन । समग्र शासन सत्ता र राज्यलाई हो पीर । यदि समाजमा यस्तै हुने हो भने राज्यले कस्तो कदम चाल्ने भन्नेतिर लाग्नुपर्छ । आशा गरौँ, कल्पनामात्र होस् । कल्पना पनि यत्तिकै गर्न सकिँदैन । समाज त्यता नजाओस् भनेर प्रिभेन्सन इज बेटर देन क्युरको लागि पनि हुन्छ ।

पीरले एउटा दलको प्रतिनिधित्व गरे जस्तो देखिए पनि सबै दलका मान्छेमा यो व्यथा छ । के सबै खाले युवा विदेशिनु परेको छैन ? खै देशमा रोजगारी ? खै उद्योग, धन्दा खुलेका ?


राज्यले घाटा बेहोरेर पनि उद्योग खुलाएर रोजगार सृजना गर्नुपर्छ । विदेश पलायन रोक्ने प्रयाससम्म गरेको देखिँदैन । युवा प्रयोगमात्र भएका छन् । दक्ष युवा निराशा व्यक्त गर्छन् । केही आसेपासेलाई फाइदा भएको होला, होइन भने सिस्टमले कसैलाई राहत दिएको छैन । महिला मुक्तिका सवाल खासै अनुत्तरित नै छन् । बालिकादेखि वृद्धसम्मको बलात्कार हुँदा खै विरोध ? बलत्कारीहरु हच्किएकै छैनन् । न्याय दुब्लाउँदै छ । गरिबीमा न्याय मर्छ । मरेको छ । पहँुच छैन न्यायमा । आफ्नो मान्छे चाहिन्छ, जहाँ पनि ।


देश भन्नु त के रैछ र चार किल्लाको माटो
त्यही माटो नि उनकै मात्रै जो छन् टाठो बाठो ।
के यो लाइनले मन छुन्न र ? सायद सबैको मुटु हल्लाउँछ । जनयुद्धका अवशेष बाँकी छन् । व्यवस्थामात्र परिवर्तन भयो । अवस्था उस्तै छ । धनी र गरिबको खाडल झन् फराकिलो हुँदै गएको छ । गणतन्त्र कहाँ आएको छ ? बोल्नमात्र आएको त होइन होला । हजारौँका नम्बरमा युवा पलायन हुनु, विदेशमा यातना भोग्नु, महिलाका कैयौँ अस्मिता लुटिनु के मन दुख्दैन र ? यो पीरले राज्यका नायक नायिकालाई गिज्याएको छ । निरिह बनाएको छ ।


३ करोड नेपालीमा एउटालाई मात्र त्यो अवस्था रहेछ भने पनि स्वीकार्नुपर्छ । हुन सक्ने सम्भावना भए बेलैमा विचार पु¥याउनुपर्छ । किन विरोध ? केका लागि विरोध ? सबै राजनीतिक दलहरु सच्चिनुपर्छ । आफ्नै चम्चाहरुलाई मात्र हैन । सबैलाई प्राकृतिक न्यायको सिद्धान्तले हेरिनुपर्छ । सिस्टमले चल्नुपर्छ देश । व्यक्तिले हैन । देश चार किल्लाको माटो मात्रै हैन, आत्मा बन्नुपर्छ । चुनाव गर्नु र सत्ता हत्याउनुमात्र लोकतन्त्र हैन । गणतन्त्र भनेको कुर्चीको खेल बुझेका छन् जनताले । विकास त अब खुसीमा नापिनुपर्छ देशको ।


पीर वास्तविकतामा पुगेको छ । यथार्थनजिक छ । यसो भनिरहँदा जनयुद्धका चेलीले यौन धन्दा गरेका छन् भन्ने होइन । यस्तो पनि हुन सक्छ भन्ने सन्देशचाहिँ पक्कै हो । जताततै देखिएको छ, सेक्स बजार । के यो धन्दा छैन देशमा ? छैन भन्न सक्नुहुन्छ ? यदि छन् भने देशका जिरोदेखि हिरोहरु जाने गर्छन् । स्वयं तिनै भुक्तभोगी महिलाहरु बताउँछन् । अनि असम्भव केही छ ? अब राजनीतिक विवाद गर्नुभन्दा समस्या छ, त्यसको व्यवस्थापन गर्नुपर्छ भन्नेतिर लाग्न ध्यान जाओस्, सबैको ।


युद्धको सवालमा माओवादी अलि बढी जिम्मेवार हुनुपर्छ, त्यो भिन्न कुरा हो । तर अरु दल गम्भीर हुनु पर्दैन भन्ने होइन । गैरजिम्मेवारीले आजको अवस्था निम्त्याएको छ । प्रजाले दूध र भात पनि खान पाछैनन् र ? भनेर राजाले भने जस्तो होइन । राजा बन्न छोड्नुस् । जनता बनेर जनताको पीर बुझ्नुस् । बन्द भएको उद्योग खुलाउनुस् । व्यवस्थित प्रणालीको विकास गर्नुस् । महंगी कम गराउनुस् । सपना कुर्चीमात्र नबनाउनुस् । बाहिर बसेर पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण दिनुस् । क्षमता र दक्षताको कदर गर्दै माया र न्यायको सन्तुलन मिलाउनुस् । अन्यथा हजारौँ पीरले चिथोर्न आउनेछन् । रगत पिउन खोज्नेछन् । त्यति बेला थेग्न गाह्रो हुनेछ ।

कुनै युद्ध लड्ने चेलीको अपमान हुनु भनेको नेपाल आमाको अपमान हो । पीरले अपमान भन्दा पनि यस्तो नहोस् भनेर मार्ग निर्देश गरेको छ ।


अन्तमा, यद्यपि कमजोरी सबैको हुन्छ । सपूतको पीरले समग्रमा देश बोलेको छ । माटो बोलेको छ । यो कुनै अमुक दलको मात्र नभएर सबैको चासो बन्नुपर्छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देशका लागि लड्ने चेलीहरुको कमी छैन, यो देशमा । जनयुद्ध त रुपमा अनेक हुन सक्छन् । सारमा एउटै हो । फगत मुक्तिका लागि । कुनै पनि युद्धमा लड्ने चेलीको अपमान हुनु भनेको नेपाल आमाको अपमान हो । पीरले अपमान भन्दा पनि यस्तो नहोस् भनेर मार्ग निर्देश गरेको हुनुपर्छ ।

आँखाको पट्टी खोल्ने काम गरेको छ । देशका नायक नायिकाहरुको । अझै देखेका छैनन् । देख्नुपर्ने हो, कैँयौ युवाले रुमालमा माटो पोको पारेर विदेशिएको । समाजमा भएका र हुन सक्ने हर्कत देखाउँछ सर्जकले । चाहे जुनसुकै विधामा होस् । त्यसबाट लिने शिक्षा नै हो । फिडब्याक मान्ने हो । यो कसैको एकल पीर हैन । हो भने सबैको साझा पीर हो । त्यसैले सर्जकका सृजना मार्न हुँदैन । चाहे प्रकाश हुन् वा पशुपति ।

तपाईको प्रतिक्रिया