गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता

समाधान संवाददाता २०७८ चैत ९ गते १६:१०

पोखरा ।


गण्डकी विश्वविद्यालयले स्थापना गरेको इनोभेसन सञ्चालनका लागि सहयोग आदानप्रदान गर्नेबारे राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे ।


त्यस अवसरमा पुनले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरमा आफू महिनामा ५÷६ दिन आएर कामै गर्न तयार रहेको सुनाए । उनले आफ्नो बजेटको पुँजीगत खर्चको १ प्रतिशत अनुसन्धानका लागि छुट्याउन सुझाव दिए । ‘अरु देशले जिडिपीकै ३÷४ प्रतिशत छुट्याउँछन्, सबैभन्दा धेरै इजरायलले ५ प्रतिशत नै छुट्याउँछ, दक्षिण कोरिया र इजरायलको प्रतिस्पर्धै हुन्छ,’ उनले भने । इनोभेसन सेन्टर २४ सै घन्टा खुला हुनुपर्ने, विश्वविद्यालयबाहिरका व्यक्तिको पनि पहुँच हुनुपर्ने सुझाव पनि पुनले दिए ।

Advertisement


विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले विश्वविद्यालयका भौतिक संरचनामध्ये सबैभन्दा पहिला इनोभेसन सेन्टरको भवन बनेर उद्घाटन गरिसकेको जानकारी दिए । ‘पढाइ गर्ने भवनभन्दा पहिला यो तयार भएको छ,’ उनले भने, ‘यसैले पुष्टि गर्छ विश्वविद्यालय अनुसन्धानमा कति केन्द्रित छ ।’ साढे २ करोड रुपैयाँको सामान आइसकेको र ७० थरी औजार खरिद प्रक्रियामा रहेको जानकारी पनि दिए ।
रजिस्ट्रार तिमिल्सिनाले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरबाट छिटै नै ६÷७ थरी उत्पादन चाँडै आउन लागेको सुनाए । उनकै भनाइमा इनोभेसन सेन्टरबाट बिजुली चुलो, धुवाँ नआउने गरी अलैंची सुकाउने उपकरण, पोल्ट्री फार्मिङलाई काम लाग्ने हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन लगायत उत्पादन गरिने भएको छ । कोदोको रक्सीको ब्रान्डिङको क्रममा प्रयोगशालामा पठाएको रिपोर्ट छिटै आउने क्रममा रहेको पनि उनले सुनाए । ‘विश्वविद्यालयले ब्रेनड्रेन रोक्ने र ब्रेन गेन गर्ने दिशामा काम गरिरहेको छ,’ उनले भने ।


कुलपति प्राडा गणेशमान गुरुङले इनोभेसेन सेन्टरदेखि नै गण्डकी विश्वविद्यालयको बाटो बेग्ले बनेको बताए । उपकुलपति प्राडा नवराज देवकोटाले विभिन्न सहयोग जुटाउँदै विश्वविद्यालय अघि बढिरहेको जानकारी दिए । उनले शिक्षण एवं अनुसन्धान केन्द्रको रुपमा विश्वविद्यालयलाई अघि बढाइएको पनि बताए ।

Advertisement


प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संघीयता आवश्यक छैन भन्नेलाई जवाफ दिने गरी प्रदेश सरकारले काम गर्नुपरेको भनाइ राखे । उनले विद्यालय तहबाटै अनुसन्धानमा जोड दिनुपर्ने खाँचो औंल्याए । ‘बिउलाई जरा हाल्न सिकाएनौं भने बिरुवा फैलदैन,’ उनले भने । उनले आउँदो बजेटमा सिर्जनशील कामका लागि बजेट छुट्याइने पनि बताए । उनले भने, ‘पढाएर मात्रै हुँदैन, उत्पादनमा जोड दिनुपर्छ, उत्पादनलाई बजारसँग जोड्नुपर्छ ।’

तपाईको प्रतिक्रिया