आँधीखोलामा एमाले उम्मेद्वार सर्वसम्मत सिफारिस

समाधान संवाददाता २०७९ वैशाख १ गते १८:४४

पोखरा ।
स्याङ्जाको एमाले आँधीखोला गाउँपालिका कमिटीले अध्यक्ष तथा उपाध्यक्षका लागि सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको छ ।
सहमतिको आधारमा पालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापाको नाम सिफारिस गरेको प्रचारप्रसार समिति संयोजक दीपेन्द्र पौडेलले जानकारी दिए । अध्यक्षमा प्रस्तावित पौडेल पार्टीको जिल्ला कमिटी स्याङ्जा उपसचिव हुन् । उपाध्यक्षमा सिफारिस थापा पार्टीका स्थापित कार्यकर्ता तथा सामाजिक व्यक्तित्व हुन् ।


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पालिकाका ६ वडामध्ये ५ मा सर्वसम्मत रुपमा वडाध्यक्ष तथा वडा सदस्य सिफारिस भएका छन् । वडा नम्बर १ मा पवनकाजी अधिकारी, वडा नम्बर २ मा कमलप्रसाद पौडेल, ४ मा सिंहबहादुर क्षेत्री, ५ मा कृष्ण पनेरु र वडा नम्बर ६ मा यदु ढकाल सर्वसम्मत रुपमा सिफारिस भएका छन् । वडा नम्बर ३ मा भने उम्मेद्वार टुंगो लाग्न बाँकी छ ।


भेलाले आँधीखोला गाउँपालिका कमिटी सचिव शिव पौडेलको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा चनकऋषि लामिछाने र सचिवमा ओमप्रकाश सापकोटा छन् । निर्वाचन प्रचारप्रसार संयोजकको जिम्मा दीपेन्द्र पौडेलले पाएका छन् ।

Advertisement


पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य तथा आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले सबै नेता तथा कार्यकर्ता पार्टीका उम्मेद्वारलाई जिताउन लाग्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया