समाधान शृंखला समाचार

निर्वाचन आयोगले गण्डकीका सभामुख अधिकारीलाई स्पष्टीकरण पत्र काट्यो

सञ्जय रानाभाट २०७९ वैशाख १ गते २०:३४

सञ्जय रानाभाट । पोखरा
ढाँटेर चुनाव खर्च विवरण पेस गरेको बताएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे स्पप्रष्टीकरण मागेको हो । अधिकारीलाई पत्र काटेर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले भनेको छ ।


सभामुख अधिकारीले २०७४ सालको निर्वाचनमा आफूले ढाँटेर खर्च विवरण आयोगमा पेस गरेको सार्वजनिक अभिव्यक्ति दिएको समाचार बिहीबार समाधान दैनिकले छापेको थियो । ‘सञ्चारमाध्यममा निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च भएको निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनु भएको भन्ने समाचार प्रकाशन तथा प्रसारण भएकोमा तपाईंले त्यस्तो अभिव्यक्ति दिनु भएको हो होइन ?’ आयोगले अधिकारीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराउनुभएको थियो थिएन ?’


आयोगले शुक्रबारै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि स्पष्टीकरण सोधेको छ । उनको तस्बिरसहित माओवादीले चुनाव प्रचार सामग्री बनाएपछि त्यसबारे आयोगले उनलाई सोधेको हो ।

Advertisement


सभामुख अधिकारीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मंगलबार आयोजित मानव अधिकारका विषयमा पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न सरोकारहरुको भूमिका विषयक कार्यक्रममा उक्त खुलासा गरेका हुन् । सभामुख अधिकारीले ढाँटेर चुनाव खर्च पेस गर्न बाध्य भएको स्वीकारेका थिए । ‘मैले निर्वाचन आयोगमा खर्च विवरण बुझाउँदा भनेको थिएँ—मैले यो जे लेख्दै छु । त्यो एकदम ढाँट्दै छु । यो सत्य कुरा हो । तपाईंहरुले पाउनु हुँदैैन मैले जे लेखेको छु,’ अधिकारीले भनेका थिए ।
ढाँटेर चुनाव खर्च विवरण पेस गरेको भने पनि अधिकारीले कति खर्च गरेको र कतिको विवरण बुझाएको भन्नेचाहिँ खुलाएका थिएनन् । २०७४ सालमा निर्वाचन आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।


निर्वाचन आयोगले तोकेभन्दा बढी खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको सभामुख अधिकारीको भनाइ थियो । ‘वडाध्यक्षहरु उठ्दा खेरी वा वडाध्यक्षहरुले हिजो जित्दा खेरी कति रुपैयाँ खर्च गर्नुभयो ? कति रुपैयाँ उहाँहरुले पाउनुहुन्थ्यो के सबैले सत्य बुझाएका छन् त ?, अधिकारीको प्रश्न थियो ।

Advertisement


कार्यक्रममा सभामुख अधिकारीले नागरिकको कल्चर र विचारकै कारण चुनाव खर्च बढ्दै गएको दाबी गरेका थिए । ‘पार्टी कार्यकर्तामा कुन ढंगले विकास भयो, जसले भोट हाल्थे । त्यही बोकेर हिँड्थे, मलाई लाग्छ यो जुन टाइपको ढंगले विकास हुँदै गएको छ यो खर्चिलो छ,’ उनले भनेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया