पोखराको मेयर, उमपेयर उम्मेदवार छान्न निर्वाचन प्रक्रिया सुरु

समाधान संवाददाता २०७९ वैशाख २ गते १३:३३

पोखरा ।

एमालेबाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबिच निर्वाचन गर्दैछ । निर्वाचन प्रयोजनका लागि १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।


नेकपा एमाले कास्की जिल्ला कमिटीको कार्यालयमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार १२ बजे मतदान भनिए पनि अझै सुरु भएको छैन । नगर कमिटीका १११ जनाले मतदान गरी आकांक्षीमध्येबाट मेयरको उम्मेदवारको सूची तय गर्नेछन् । उनीहरुले गरेको मतदाताका आधारमा उत्कृष्ट ३ जनाको नाम नगर कमिटीले सिफारिस गर्नेछ । जिल्ला, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीले मेयरको उम्मेदवार तय गर्नेछ ।

Advertisement


पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका छन् ।


महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका थिए । तर, शुक्रबार भने हरिमाया गुरुङ र बैनबहादुर अधिकारी, सञ्जीवबहादुर कोइरालाले उम्मेदवारी दर्ता गराएनन् । बिनुकुमारी गुरुङले भने उपमेयरका लागि उम्मेदवारी हालेकी छन् ।

Advertisement

२०७४ को स्थानीय चुनावमा समेत मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो । त्यति बेला तत्कालीन पोखरा उपमहानगरपालिका, लेखनाथ नगर पालिका कमिटीका ४ सय ७३ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया