मेयर, उपमेयरका सबै आकांक्षीका नाम सिफारिस गर्ने, आन्तरिक निर्वाचन नगर्ने सहमति

समाधान संवाददाता २०७९ वैशाख २ गते १४:४३

पोखरा ।

पोखराको मेयरको उम्मेदवार छान्न नेकपा एमाले पोखरा नगर कमिटीले शुक्रबारका लागि तय गरेको निर्वाचन नगर्ने भएको छ । निर्वाचन गरी ३/३ जनाको नाम सिफारिस गर्ने तयारी गरे पनि अन्तिम चरणमा आएर कमिटीले सबै आकांक्षीको नाम सिफारिस गर्ने भएको हो ।

निर्वाचन प्रक्रिया जिल्ला पार्टी कार्यालय भवनमा शुक्रबार बिहान सुरु भएको थियो । तर नगर कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरी मेयर र उपमेयरका आकांक्षीमध्येबाट ३/३ जना छनोट गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । तर निर्वाचन नगरी सबै आकांक्षीको नाम पठाउने सहमति भएको एमाले पोखरा नगर कमिटीका सचिव जीवन आचार्यले जानकारी दिए ।

Advertisement

मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी छन् । मेयरको उम्मेदवारको अन्तिम टुंगो भने एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार टुंगो लगाउने हो ।

मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबिच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । उपमेयमार ११ जना उम्मेदवार थिए । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् । 

Advertisement


उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी छन् । 

तपाईको प्रतिक्रिया