कास्कीमा गठबन्धन बैठक आज

समाधान संवाददाता २०७९ वैशाख ४ गते १०:३०

पोखरा l
नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आवद्ध कास्कीका पार्टीहरुको बैठक आइतबार बस्ने भएको छ । पोखरा महानगरपालिकासहित कास्कीका गाउँपालिकामा उम्मेदवारहरु टुंगो लगाउने एजेन्डासहित बैठक बस्न लागेको हो ।
पोखरा महानगरपालिकाबाहेक कास्कीका ४ वटा गाउँपालिकाको प्रमुख–उपप्रमुख, पोखरासहित ५ पालिकाका ७२ वटा वडा, जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कुन दलले पाउने भन्नेबारे आइतबार साँझसम्म टुंगो लगाइने गठबन्धनका एक नेताले जानकारी दिए ।


कांग्रेस जिल्ला सचिव भानु ढकाल, माओवादी केन्द्र कास्की संयोजक बखानसिंह तमु र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यलाई कास्कीका पालिकामा गठबन्धनका दलहरुको मतभारबारे अध्ययन गर्न गठबन्धनले यसअघि जिम्मेवारी दिएको थियो । आइतबारको बैठकमा उक्त अध्ययन समितिले ब्रिफिङ गर्ने भएको छ ।


कास्कीका पाँचै पालिका प्रमुखमा कांग्रेसको दाबी छ । ‘पहिलाको मतभारको हिसाबले पोखरा महानगर र चार वटै गाउँपालिकामा कांग्रेस बलियो दाबेदार हो । उपप्रमुखमा गठबन्धनका अरु दललाई दिनुपर्छ भन्ने हाम्रो मत हो,’ कांग्रेस कास्की सचिव ढकालले भने ।

Advertisement


अरु दल भने कांग्रेसलाई छोड्ने पक्षमा छैनन् । नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिका र माााछापुच्छ्रे गाउँपालिकामा दाबी गरिरहेको छ । महानगर पाए ऊ अरु पालिका छोड्न तयार छ । माओवादीले मादी गाउँपालिकामा दाबी गरेको छ । जसपाले अन्नपूर्ण गाउँपालिकामा दाबी गर्दै उम्मेदवार पनि टुंग्याएको छ । रुपा गाउँपालिकामा सबै दलको दाबी छ ।
२०७४ सालको चुनावमा कास्कीका ५ पालिकामध्ये ४ वटाको प्रमुख एमालेले जितेको थियो । अन्नपूर्ण गाउँपालिकाको प्रमुख कांग्रेसले जित्दा बाँकी पालिकाको प्रमुख–उपप्रमुख सबै एमालेले जितेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया