नवौं राष्ट्रिय खेलकुदबारे छलफल

समाधान संवाददाता २०७९ वैशाख ४ गते ११:५८

पोखरा l
आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिता घोषणासँगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि आइतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठक आह्वान गरेको छ ।


परिषद् गण्डकीले सुझाव संकलन थालेको छ । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनुपर्ने विषयमा सुझाव संकलन गरिएको बताए । उनले भने, ‘यो हाम्रो सानो र छरितो कार्यक्रम थियो, हामी आयोजक प्रदेशको नाताले के कस्ता विषय बैठकमा प्रस्तुत गर्ने भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेका छौं ।’

गण्डकी प्रदेशको राजधानी पोखरामा करिब ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुँदै छ । क्षेत्रीय खेलकुदमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्तावनासहित अघि बढेको राखेप सदस्य राजेशकुमार गुरुङले बताए । उनले राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार र त्यसको स्तरोन्नति अहिलेका लागि महत्वपूर्ण विषय रहेको बताउँदै कम्तीमा ३६ वटा खेल प्रस्तावका रुपमा अघि सारिएको उल्लेख गरे ।

Advertisement

राखेप पूर्व सदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले यो अवसरलाई चुनौतीका रुपमा ग्रहण गर्दै ३९ वर्ष पछि इतिहास दोहो¥याउने जिम्मा पोखरेलीको काँधमा आएको जनाए । नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने उल्लेख गरे ।

प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गरेको निर्णय स्वागत योग्य रहेको जनाए । प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदबीच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उनले उल्लेख गरे ।

Advertisement

क्षेत्रीय खेलकुदले नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतिका लागि करिब १७ करोड प्रस्ताव गरेको छ । त्यससँगै राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षण लगायतका कार्यक्रम जरुरी छन् ।

तपाईको प्रतिक्रिया