सम्पादकीय: लघुवित्त संस्थाको सान्दर्भिकता

समाधान संवाददाता २०७९ वैशाख १९ गते १७:०४

देशमा ठूला बैंकहरुको अभाव छैन । वाणिज्य बैंक नै २ दर्जनको संख्यामा छन् । विकास बैंकहरु उत्तिकै छन् । फाइनान्स कम्पनीहरु छन् । त्यसपछि छन् लघुवित्त वित्तीय संस्था । अनि सहकारीहरु पनि बैंककै जस्तो बचत संकलन र ऋण लगानीकै काम गरिरहेका छन् । ठूला बैंकहरुलाई आपसमा गाभ्न लगाएर राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउँदै लगेको छ । विकास बैंकहरुलाई पनि पुँजी बढाउन लगाएको छ । फाइनान्स कम्पनीहरुका हकमा पनि पुँजी वृद्धिको नियम लगाइएको छ । थोरै पुँजी लगानी गरेर गाउँघरलाई लक्षित गरी थुप्रै लघुवित्त वित्तीय संस्था चलिरहेका छन् । जसको संख्या मुलुकभर ६७ छ । यतिका बैंक, विकास बैंक र फाइनान्स भएपछि किन चाहियो लघुवित्त संस्था भन्ने प्रश्न पनि ज्वलन्त रुपमा उठ्ने गरेको छ । मुलुककै पहिलो निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले शुक्रबार पोखरामा गरेको एउटा भेलाले दिएको प्रष्ट सन्देश हो—अझै पनि लघुवित्त संस्थाको आवश्यकता मुलुकमा छ, यी संस्था अझै सान्दर्भिक छन्, यिनको औचित्य सकिएको छैन ।

ठूला बैंकहरु २०÷३० हजार रुपैयाँको ऋण लगानी गर्दैनन् । लाख, करोड र अर्ब गर्छन् । त्यतिका थोरै पैसा व्यक्तिसँग ऋण लिने चलन नेपालका गाउँघरमा छ । तर जोकोहीलाई कसैले ऋण पत्याउँदैन । साहु महाजनहरु गरिब निमुखो नागरिकलाई थोरै पैसा ब्याजमा लगाउने, चर्काे ब्याज लिने, ब्याजको स्याज र स्याजको पनि स्याज असुल्ने गर्छन् । चक्रवर्ती ब्याज लगाउँछन् । निरक्षरहरुलाई त लिएभन्दा बढीको तमसुक बनाएर घरखेतै बेच्नुपर्ने वा ऋणबापत साहुलाई बुझाउनुपर्ने बनाउँछन् । तिनै साहु र सुदखोरहरुबाट मुक्ति दिने काम लघुवित्त संस्थाहरुले गरेका छन् । सञ्चालन खर्च धेरै हुन्छ भनेर ठूला बैंकले सानोतिनो ऋण दिँदैनन्, गाउँगाउँमा पुगेर सेवा दिँदैनन् । लघुवित्तले दिइरहेका छन् ।

सानो पुँजी ऋण लिएर तरकारी खेती गर्ने, पशुपालन गर्ने वा सानोतिनो पसल गर्नेहरुले लघुवित्तकै सहयोगका कारण आज जीवनस्तर उकासेका छन् । लघुवित्तका कमजोरी पनि थुप्रै छन् कि ऋण दोहोरो पर्ने, असुली गर्न जबरजस्ती गर्ने र जिउज्यानै जोखिममा पार्ने गरेका समाचार पनि आएका छन् । तर ऋण लगानीमै होसियार हुने हो भने ज्यानकै जोखिम हुने गरी लघुवित्तको ऋणले कसैलाई थिच्दैन । महँगो ब्याजदर भनिए पनि बिनोधितो दिइने ऋणको जोखिम संस्थालाई पनि हुन्छ । भारतमै लघुवित्तको ब्याजदर सयकडा २ भन्दा बेसी छ । तर हाम्रोमा १५ प्रतिशतभन्दा माथि लिन नपाइने नियम आइसक्यो । निर्धनका सदस्य ऋणीहरुकै कुरा सुन्दा नियतै खराब राख्ने, ऋणको दुरुपयोग गर्नेहरुबाट मात्रै नकारात्मक कुरा आएका छन् । होइन भने लघुवित्त संस्थाले धेरै गरिब नेपालीलाई ठूलो राहत दिएको छ । लघुवित्तका कमजोरीहरुलाई बरु सुधार्ने गर्दै जानुपर्छ । तर सानो पुुँजीबाट केही गर्छु भन्ने वित्तीय संस्थालाई सरकारले प्रेरितै गर्नुपर्ने देखिन्छ । आज पनि यस्ता संस्था सान्दर्भिक छन् ।

Advertisement

तपाईको प्रतिक्रिया