पोखरा एकेडेमीमा ‘फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र’ अध्यापन गराइने

समाधान संवाददाता २०७९ साउन १६ गते १६:२७

पोखरा ।
पोखरा युनाइटेड एकेडेमीमा ‘फेशन डिजाइनिङ एवम सौन्दर्यशास्त्र’को पढाइ हुने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरता लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षा तर्फ उक्त विषयको अध्ययन गराउन लागेको जानकारी दिएको हो ।

Advertisement

एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयको रुपमा समावेश गरेको जानकारी दिए । उनले एकेडेमीले यस अघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ्ग र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकहरुबाट अध्यापन गराइने उनको भनाइ छ ।

कार्यक्रममा सौन्दर्य विद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताइन् ।उनले २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताइन् । देशको अर्थतन्त्र बलियो बनाउन व्यवसायिक सीपमुलक शिक्षामा जोड दिनुपर्ने औल्याउँदै पोखराबाट शुरु भएको यस अध्ययनले अब देशभरि माग बढ्दै जाने विश्वास व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा ३५ वर्ष देखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् ।

एकेडेमि प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । उनले शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गरी राम्रो आम्दानी गर्न सकिने भएकोले यी विषयहरुको महत्व पछिल्लो समय बढीरहेको उनको भनाइ छ ।

Advertisement

एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । उनले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एकेडेमि शैक्षिक विभाग प्रमुख डिल्लिराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसइइ उत्तिर्ण भएका जुनसुकै विद्यार्थिले पनि उक्त कोर्ष अध्ययन गर्न सक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया