पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समस्या नसुल्झाई उडान तय

सञ्जय रानाभाट २०७९ साउन २४ गते १०:२५

सञ्जय रानाभाट

पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अक्टोबर (असोज–कात्तिक) मा हुने भएको छ । पुस १७ अथात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । यो विमानस्थल चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो ।

विमानस्थलको टर्मिनल भवन, पेरीफेरी रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनिसकेका छन् । विमानस्थलको ९८ प्रतिशतका काम सकिएको विमानस्थलका आयोजका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

Advertisement

विमानस्थलको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि आर्मी ब्यारेक र आयल निगम डिपो स्थापना भएका छैनन्

निर्माण नसकिँदै विमानस्थल चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर सांकेतिक रुपमा विमानस्थल हस्तान्तरण गरिसकेका छन् । चीनको निर्माण कम्पनी सिएएमसीले चाबी हस्तन्तरण भए पनि विमानस्थलको भौतिक प्रगति २ प्रतिशत अझै बाँकी छ । मुनाकर्मीका अनुसार उडान हुने पुस १७ अगावै सम्पूर्ण काम सकिनेछ । ‘विमानस्थल भित्रका गर्नुपर्ने सम्पूर्ण भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको छ । यस कारण क्यालिब्रेसन फाइट पनि अक्टोबरभित्रै गर्छाैं । आउँदो पुस १७ गते उडान भर्न सम्पूण तयारी भइसकेको छ ।’

Advertisement

विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि आर्मी ब्यारेक र आयल निगम डिपो कहिले बन्ने टुंगो छैन । त्यस्तै, रिठेपानी डाँडा कटान र पोखरा १४ मै रहेको ल्यान्डफिल साइट विमानस्थल सञ्चालनका प्रमुख समस्या हुन् ।
डाँडा कटानका लागि इआइए यसअगाडि नै स्वीकृत भएर ६ सय रुख कटान गरिसकिएको मुनकर्मीले बताए । ‘रुख कटान भइसकेर पनि वन मन्त्रालयलाई बुझाउने प्रक्रियामा छौं ।

अब हामी चाडै नै खरिद प्रक्रियामा जान्छौं,’ उनले भने, ‘हामीलाई तत्काल क्लालिब्रेसन फालाइट गर्न ४० मिटर जरुरी छैन । १४ मिटर डाँडा कटान गरे पुग्छ । त्यो एक महिनामा काट्न सकिन्छ ।’ डाँडाको ३ सय ८१ रोपनी जमिनमध्ये ८१ रोपनी व्यक्ति र ३ सय रोपनी जग्गा सरकारको नाममा छ । जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । क्लालिब्रेसन फ्लाइट सकिएपछि पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्ने उनले जनाए ।

डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा त्यो समस्या पनि छिट्टै समाधान हुने उनको विश्वास छ । ‘महानगरबाट हामीलाई ल्यान्डफिल साइटका लागि आवश्यक जग्गा छनोट भइसकेको र छिट्टै योे समस्या समाधान गर्ने मेयरज्यूले बताउनुभएको छ,’ उनले भने । महानगरले ल्यान्डफिल साइट अस्थायी रुपमै भए पनि छिट्टै सार्ने आश्वासन दिएको छ । यता, मेयर धनराज आचार्यले पनि आफूहरुसँग सल्लाह गरेर नै नागरिक उड्यान मन्त्रालयले पुस १७ गते उडान भर्ने मिति तोकेको जानकारी दिए ।

विमानस्थलबाट करिब २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट कहाँ स्थानान्तरण हुने अझै अन्योल छ । यो नहट्दा हवाई उडानमा पंक्षी ठोक्किने खतरा छँदै छ । चराचुरुंगीले बासोबास गरेको स्थान सार्न समय लाग्ने विज्ञहरु बताउँछन् । चराले फूल पर्नेदेखि बच्चा हुर्काउने चक्र सक्न समय लाग्छ । यहाँबाट चराको बसाइँ सार्न ल्यान्डफिल साइट छिटो सार्नुपर्ने हुन्छ । यसरी सार्न टाइम लाग्छ, एकैचोटि गर्न सकिँदैन । चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुन समय लाग्छ ।

२०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप गर्‍यो । २०२२ को जुलाई १० अगावै आयोजना सक्ने भनिएको छ । विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । जहाजले पूर्वबाट मात्र उडान भर्नुपर्छ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।

‘हामीले ल्यान्डफिल साइटभन्दा पनि फोहोर मैलाको कसरी व्यवस्थापन गर्न सक्छौं भन्नेतिर ध्यान दिएका छौं । जसले रिसाइकल, ग्याँस निर्माण र रियुज गर्न सकोस् । यसो हुँदा थोरैमात्र फोहोर निस्कन्छ । यस्ता कम्पनीको खोजीमा छौं ।’ मेयर आचार्यले अहिलेसम्म फोहोर व्यवस्थापन गर्न महानगरसँग ७ वटा कम्पनीको प्रस्ताव आएको बताए । ‘महानगरमा २५ गतेसम्म प्रस्ताव पेश गर्न समय छ,’ उनले भने ।

फोहोर व्यवस्थापन गर्न महानगरमा जर्मनी, फान्स, कोरियादेखि प्रस्ताव आएको छ । स्रोतका अनुसार पोखरा महानगरमा अहिले धरानमा जडान भएको मेसिन ल्याउने तयारी भएको छ । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी भेन्चर वेस्ट टु इनर्जीले धरानमा प्रशोधन केन्द्र स्थापना गरेको छ । धरानमा फोहोरलाई व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन भइरहेको छ । पोखरामा धरानको भन्दा ४ गुना बढी फोहोर उत्पादन हुने भएकाले यहाँ ठूलो क्षमताको मेसिन ल्याउने तयारी गरिएको छ ।

धरानको जस्तो मेसिन ल्याउने लगभग निश्चित भएको स्रोत बनाउँछ । यसका लागि महानगरको जम्बो टोली धरानको मेसिन हेर्न पुगेको थियो । महानगरले उक्त कम्पनीसँग फोहोरबाट निस्कने ग्यास, प्लास्टिक जन्य वस्तु कम्पनीलाई नै प्रयोग गर्न दिने र मेसिन खरिद नगर्ने अवधारणा लिएको छ । यसका लागि महानगरले निश्चित भौतिक पूर्वाधार निर्माण गरिदिनेसम्मको खाका तयार गरेको बताइन्छ ।

पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा पोखरा ३३ मा ल्यान्डफिल साइट स्थान्तरण गर्ने निर्णय गरिसकेको छ । त्यसअघि ५२ औं कार्यपालिका बैठकले पोखरा २० मा रहेको पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । स्थानीयको विरोध पनि त्यो निर्णय कार्यान्वयन भएन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया