छेलो उपाधि किरणलाई

सञ्जय रानाभाट २०७९ साउन २९ गते ११:२२

पोखरा l

सञ्जय रानाभाट

पोखरा ।
बगरमा रहेको टुंडिखेलमा आयोजित खुला छेलो खेलको उपाधि किरण सुनारले हात पारेका छन । उनले १५ हजार, मेडल र प्रमाण पत्रसहित प्याराग्लाइडिङ उडानको टिकट हात पारे । परम्परागत खेललाई संरक्षण गर्ने उद्देश्यसहित जनैपूर्णिमाको अवसर पारी नेपाल खेलकुद महासंघ कास्कीले शनिबार पोखराको बगर स्थित टुंडिखेलमा आयोजना गरेको खेलमा ३६ प्रतिस्पर्धीलाई पछि पार्दै सुनारले खेलको उपाधि हात पारेका हुन् ।

Advertisement

सुनारले ११ केजीको ठेलोलाई ४६।४ फिट पर फ्याक्दा उनका प्रतिस्पर्धी रोहित सुनारले ४२।२ फिट दूरीमा ठेलो फाली द्वितीय स्थान हात पारे । रोहितले १० हजार नगद, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा ४२ फिटमा ठेलो फ्याक्ने टेक गुरुङ तृतीय स्नानसहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

ठेलो क्लब पोखरा गण्डकी प्रदेशको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा महिलातर्फ ५ केजीको ठेलो २०।८ फिटमा पुर्‍याइ हरिकुमारी गुरुङले प्रथम स्थान हासिल गरिन् । गुरुङले नगद १ हजार मेडल र प्रमाणपत्र हात पार्न सफल भइन् भने कमला केसी १९।२ फिटमा ठेलो पुर्‍याई दोस्रो बनिन् । महिला तर्फको खेलमा ७ जनाको सहभागिता थियो ।

Advertisement

प्रतियोगिताका विजेतालाई नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ, नेपाल खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोख्रेल लगायतले पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले अहिलेको सरकारले परम्परागत खेललाई त्यति चासो नदिएको बताए ।

उनले एमाले सरकारको पालोमा पोखरा रंगशालाले पूर्णता पाएको भए पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने खेलहरु पोखरातिर पार्नलाई अझैं पनि राष्ट्रिय खेलकुद परिषदले आनाकानी गरिरहेको उनको आरोप छ । पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले आफू खेलकुद मन्त्री हुँदा एक पालिका एक खेलकुद कार्यक्रमको नाराका साथ अघि बढेको स्मरण गरे । उनले परम्परागत खेलकुदलाई समेत जगेर्ना गर्ने गरी कार्यक्रम ल्याइएको उल्लेख गरे ।

गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले गण्डकी प्रेदशमा परम्परागत खेलकुदको संरक्षण र प्रवद्र्धनमा आफूहरु लागिपरेको बताए । प्रदेश खेलकुद परिषद संहालेदेखि प्रदेशभित्र रहेका परम्परागत खेलहरु घोडचढी, तारा हान्ने खेल, छेलो हान्ने खेल लगायतका प्रतियोगिता गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले कास्की इन्चार्ज कृष्णबहादुर थापा, कास्की जिल्ला सचिव बैनबहादुर अधिकारी, नेपाल खेलकुद महासंघ गण्डकी अध्यक्ष विष्णु पुन लगायतले बोलेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया