कास्कीमा २ मतदानस्थल थप

सञ्जय रानाभाट २०७९ साउन ३० गते ११:०१

सञ्जय रानाभाट l
पोखरा l
कास्कीमा २ मतदान स्थल थप गरिएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थलमध्ये एउटा गाभिएको छ भने ८ वटा मतदान स्थल परिवर्तन गरिएका छन् । निर्वाचन कार्यालय गण्डकीले कास्कीका राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मंसिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका मतदान स्थल परिवर्तनदेखि मतदान स्थल थपघट गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १८ को शान्ता माध्यमिक विद्यालय भकुण्डेमा मतदान केन्द्र थप गरिएको छ । खपौदी, क्यानचोक, भकुण्डे, चंखपुर, अर्मजा र पामेका मतदातालाई मत हाल्न आउन असुविधा भएकाले सर्वदलीय बैठकले मतदान स्थल थप गरेको हो ।

एउटा मतदान स्थल गाभियो, ८ वटाको स्थान परिवर्तन

Advertisement

बैठकले मादी १२ को भगवती आधाभूत विद्यालयमा पनि मतदान स्थल कायम गरेको छ । हालको मतदान स्थलमा ३ टोलका मतदाता ३ घन्टा हिडेर जानुपर्ने अवस्था भएकाले बैठकले मतदान स्थल सारेको निर्वाचन कार्यालय गण्डकी प्रमुख हुमनाथ पराजुलीले बताए । बैठकले एउटा मतदान केन्द्र गाभने निर्णय गरेको छ ।

पोखरा ३० को सरस्वती आधारभूत विद्यालय ढुंगेपाटनमा रहेको मतदान स्थललाई त्रिभुवन शान्ति माध्यमिक विद्यालय खुदीमा गाभ्ने निर्णय भएको हो । सरस्वती आधारभूत विद्यालय भएको ठाउँमा अहिले इलाका प्रशासन कार्यालय छ । स्कुल अर्कै ठाउँमा सरेको छ । त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा हाल २ केन्द्र छन् र सरस्वती आधारभूत विद्यालयमा गाभेपछि ३ केन्द्र कायम भएको प्रमुख पराजुलीले जानकारी दिए ।

Advertisement

कास्कीका ८ मतदान केन्द्र सरिएको छ । पोखरा ६ अन्नपूर्ण आधारभूत विद्यालय बैदाममा रहेको मतदान स्थललाई सामुदायिक भवन, बसुन्धरा पार्कमा सरिएको छ । यो मतदान स्थल सार्नुमा भने स्थल साँघुरो भएको उल्लेख छ । पोखरा ७ को वडा कार्यालय भवन रत्नचोकमा नयाँ भवन बनाइएकाले त्यसलाई सारिएको छ । त्यहाँ ३ मतदान केन्द्र छन् ।

पोखरा ११ मा रहेको मेलबोटलाई पनि कालिका मध्यमिक विद्यालयमा सरिएको छ । भवन पुरानो रहेको, भिरालो ठाउँमा रहेको साथै उक्त मतदान स्थलमा वडा कार्यालयसमेत नरहेकाले सारिएको हो । यहाँ पनि २ मतदान केन्द्र थिए । पोखरा ३० मा रहेको वडा कार्यालय भवनमा रहेको केन्द्र पावर हाउसबाट सहिद स्मारक आधारभूत विद्यालय पावर हाउसमा सारिएको छ ।

उक्त स्थानमा गण्डकी ट्राफिक कार्यालय रहेको, स्थानीय पनि सहिद स्मारक आधारभूत नजिक नै भएकाले केन्द्र सारिएको उल्लेख छ । यहाँ १ मतदान केन्द्र छ । पोखरा ३१ को इन्द्रेणी आधारभूत विद्यालयलाई इन्द्रेणी आधारभूत विद्यालयको नयाँ भवनमा सरिएको छ । यहाँ २ मतदान केन्द्र छन् । पोखर ७ को वडा कार्यालय भवन छाचोक मतदान स्थल साँघुरो, भिरालो र जंगलको छेउमा भएकाले यसलाई धनुबाँस कालिका माध्यमिक विद्यालयमा सारिएको हो ।

यहाँ पनि २ मतदान केन्द्र छन् । मादी ९ को हिमालय माध्यमिक विद्यालय केन्द्रलाई पनि वडा कार्यालय भवन मुग्रीमा सारिएको छ । गोर्जे र मुग्रीबेसीमा २ मतदान स्थल कायम गर्नुपर्ने भएकाले मतदान स्थल सरिएको निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । यहाँ २ मतदान केन्द्र छन् । रुपा ६ को वडा कार्यालय भवन भीरचोकको मतदान स्थललाई पनि चन्द्रप्रभा माध्यमिक विद्यालय भीरचोकमा सारिएको छ ।

वडा कार्यालय साँघुरो र विद्यालय नजिक रहेकाले केन्द्र परिवर्तन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ३ मतदान केन्द्र छन् । यसरी मतदान स्थल थपघट गर्ने र स्थान परिवर्तन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदान केन्द्र सिफारिस समिति बनेको थियो ।

समितिले निर्वाचन आयोगलाई यससम्बन्धी पत्र पठाएको निर्वाचन कार्यालयका प्रमुख पराजुलीले बताए । प्रमुख जिल्ला अधिकारी संयोजक, सुरक्षा निकायका प्रमुख सदस्य, जिल्ला समन्वय अधिकारी सदस्य, क्रियाशील राजनीतिक दलका प्रमुख सदस्य, जिल्ला वा प्रदेशका अध्यक्ष र निर्वाचन कार्यालयका प्रमुख सदस्य सचिवर रहेको समितिले आयोगलाई निर्वाचन स्थल र केन्द्र थप र परिवर्तन गर्न सिफारिस गरेको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया