नयाँ हिमाल आरोहण खुला हुने

समाधान संवाददाता २०७९ साउन ३० गते १२:३३

पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमाल आरोहण खुला गर्ने बताएका छन् । आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमाल अरोहणका लागि अनुमति दिने तयारी गरेको बताए ।

उनले कुन कुन हिमालमा आरोहण गर्न सकिन्छ र कुन कुन हिमालमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए । मन्त्री श्रेष्ठले पर्वतारोहणसम्बन्धी अन्योलमा रहेका ऐन, कानुन र नियम सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए ।

उनले सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब १ वर्षको भ्रमण वर्ष नभई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए । मन्त्री श्रेष्ठले नेपालमा पर्यटक प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि बढी आकर्षित भएर आउने गरेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, साहसिक खेल र संस्कृति नै रहेको जिकिर गरे ।

Advertisement

संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा, सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए । उनले साहसिक खेल हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गरे । अध्यक्ष शेर्पाले विश्व विख्यात पर्वतारोहीको लागि विमानस्थलबाटै सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

Advertisement

तपाईको प्रतिक्रिया