क्यानभासमा ‘अनन्त रेखाहरु’

समाधान संवाददाता २०७९ भदौ ६ गते ११:१७

पोखरा ।
पोखरा आर्ट ग्यालरीले ‘इटर्नल लाइन्स’ अर्थात् अनन्त रेखाहरु थिममा प्रर्दशनी गर्ने भएको छ । भदौ १० बाट १५ दिनसम्म चल्ने प्रदर्शनीमा गण्डकी प्रदेशका ८७ कलाकारका चित्र राखिने छन् । संस्थाका उपाध्यक्ष दलबहादुर गुरुङले ग्यालेरीले बर्सेनि ‘मनसुन’ शीर्षकमा चित्रकला प्रदर्शनी गर्दै आए पनि यस वर्ष सबै कलाकर्मीलाई सहभागी बनाउन फरक शीर्षक रोजेको जनाए ।

‘गण्डकीभरका अग्रजदेखि अनुज कलाकारले आफ्नो कला देखाउने मौका पाउने छन् । यो इतिहासकै ठूलो चित्रकला प्रदर्शन हो । चित्रकलाका साथै ललितकलालाई पनि समेट्ने हाम्रो प्रयास हो,’ उनले भने । यस वर्षबाट फोटोग्राफी, पर्फमेन्स आर्ट पनि प्रदर्शनीमा समेटिने छन् । अनुज पुस्तालाई अगाडि बढाउने उद्देश्यले कपी गरिएका चित्रसमेत समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअगाडि संस्थाका सदस्यमात्रै सहभागी हुने भए पनि अब सबै वर्गका कलाकर्मी सहभागी हुने कलाकार मिलन शेरचनले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया