पोखरा आयो ‘तेल भिसा’ कवितासंग्रह

समाधान संवाददाता २०७९ भदौ १३ गते १२:१८

पोखरा ।
नेपाली लेखक संघ कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासंग्रह तेल भिसामाथि परिचर्चा कार्यक्रम गरेको छ । शनिबार पोखरामा आयोजित समारोहमा समालोचक डा भूमिराज बस्ताकोटीले कृतिको चर्चा गरे । बस्ताकोटीले तेल भिसा समसामयिक जीवनको उत्कृष्ट प्रतिबिम्ब भएको जनाए । उनले कविको विषय प्रस्तुतिको शैलीको प्रशंसा गरे । सरल भाषा र शैलीमा गहन भाव पस्कन सक्नु सुरेन्द्रको वैशिष्ट्य रहेको उनको ठम्याइ थियो ।

संग्रह पठनीय हुँदाहुँदै पनि यसमा केही विचारगत, अर्थगत, वर्णविन्यासगत त्रुटि रहेको र त्यसले कृतिलाई उत्कृष्ट बन्नबाट रोकेको उनले उल्लेख गरे । नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले राज्यले स्रष्टा–लेखकलाई सम्मान गर्न नसकेको बताए । व्यक्तिगत क्षमताकै आधारमा केही सर्जक लेखेरै बाँच्ने अवस्था भए पनि अधिकांश उत्कृष्ट कृति सिर्जना गर्ने सर्जक एवं लेखक पनि लेखनकै आधारमा सम्मानित जीवन बाँच्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

समग्र लेखकको हकहितका लागि लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक संघले राखेको र प्रतिलिपि अधिकार प्राप्तिका लागि लेखक संघको लडाईँ निष्कर्षमा पुर्‍याएर छाडिने प्रतिवद्धता उनले गरे । सुरेन्द्र जस्तै निरन्तर साधना गर्ने सर्जकको जीवनको सुरक्षाका लागि र लेखकीय स्वतन्त्रताका लागि देशभरका लेखक एक हुनुपर्ने उनको भनाइ छ । सुरेन्द्रको लेखनशैली र क्रियाशीलता अनुसरणीय रहेको डा. ईश्वरमणि अधिकारीले बताए । कवि अस्तफलले आफ्ना १० कविता सुनाए । उनले कृतिमा रहेका त्रुटिलाई आगामी लेखनमा सच्याउँदै लैजाने प्रतिबद्धता जनाए ।

Advertisement

अस्तफल चितवनमा रही नेपाली कविता लेखनका क्षेत्रमा ३ दशकदेखि क्रियाशील छन् । नेपाली लेखक संघका केन्द्रीय सदस्यसमेत रहेका उनी संघको चितवन शाखाका अध्यक्ष हुन् । नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल पौडेल अथक र उपाध्यक्ष रीता अधिकारी रितुले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया