फिल्म समीक्षा: प्रकाशले तर्न नचाहेको पुल

युवराज गुरुङ ‘युनिश’ २०७९ भदौ १५ गते १८:३६

मान्छेको सपनाको आकार ऊ बाँचेको भूगोल, सामाजिक अवस्था, क्षमता इत्यादि अनुरुप हुन्छ । काठमाडौंको सम्भ्रान्त परिवार र कर्णालीमा हुर्केको मान्छेले देख्ने सपनाको आकारमा भिन्नता हुन्छ नै । युद्धले जर्जर बनाएको भूगोल, विकटका सरकारी विद्यालयमा पढेका, हुर्केका मान्छेको सपना कति नै ठूलो हुन्छ र ? यस कथाका केन्द्रीय पात्रको सपना पनि विकराल छैन ।
अँध्यारो भूगोलमा बाँचिरहेका ’प्रकाश’ अर्थात प्रदीप खड्काको सरकारी शिक्षक बन्ने सपना छ ।

उनको मात्र होइन, युद्धमा बेपत्ता भएका सूर्यबहादुर रोकायाको पनि कुनै बेला छोरा प्रकाशलाई शिक्षक बनाएर शिक्षाको प्रकाश बाड्ने चाहना हुन्छ । सीता अर्थात् दीया मास्केले पढाइमा अब्बल रहेको छोरालाई अनेकन् दुःख भोगेर हुर्काउछिन्, पढाउछिन् । दुर्भाग्य, प्रकाशको सपनामा राजनीति खडको भएर आउँछ । उनको जीवनमा आएको उतारचढाव र संघर्षसँगै फिल्मको कथाअघि बढ्छ ।

प्रदीपले फरक प्रयास गर्‍यो भनेर माइन्ड सेट बनाए त उनको अभिनय ‘वाह’ लाग्ला तर कथा भित्रको प्रकाशलाई प्रदीपले पूर्ण न्याय दिएका छैनन्

Advertisement

फिल्ममा एउटा यस्तो दृश्य समावेश छ । अँध्यारो कोठा । धिपधिप बलिरहेको टुकी अनि टुकीको साहारामा पढिरहेको प्रकाश । छेउमा उनकी आमा ढुंग्रीको साहारामा आगो फुक्दै छिन् । केही बेरमा आमाछोराको सपना र संघर्षबारे वार्तालाप सुरु हुन्छ । कुरा गर्दागर्दै एक्कासि आमा लगातार खोक्छिन् । प्रकाश आमा भएतिर दौडिन्छन् । दौडिने बेला टुकी निभ्छ । यही दृश्य र संवाद नै फिल्मको ‘प्रिमाइस’ हो, अर्थात् फिल्मको सम्पूर्ण कथा यही दृश्यले बोलेको छ ।

फिल्मको ओपनिङ सट पुलमा भएको काठको मूर्तिबाट हुन्छ अनि पुल तरेर जानेहरु फर्केका छैनन् । परिवर्तनको सपना बोकका प्रकाशका बुबा पुल तरेर गए, फर्केनन् । आफूले आदर्श मानेका हेडमास्टरले नफर्कने गरी पुल तरे । कस्तो दुर्भाग्य ! माया गर्ने राधा पुलकै मुखबाट छुटिन् । त्यसैले, प्रकाशलाई पुल तर्न नपरे हुन्थ्यो जस्तो लाग्छ । उ सपनाको पुल पार गर्न डराउँछ ।

Advertisement

घरिघरि पुलमाथिको काठको मूर्तिझैं पातारासीमै निर्जीव मूर्ति जस्तै भएर बाँच्न चाहन्छ । निर्जीव मूर्तिको कुनै सपना हुँदैन । समस्या हुँदैन । फेरि मूर्तिले सपनाको पुल पनि तर्नु पर्दैन । सपनाबिनाको मान्छे पनि मूर्तिजस्तै हुन्छ । निर्देशकले पुल, खोला र निर्जीव मूर्तिको प्रयोगबाट जीवन दर्शन, सपना र संघर्ष चित्रण गरेका छन् ।

कथाको संरचना सर्कुलर न्यरेटिभमा छ । यसमा फिल्मको कथा त्यही सकिन्छ, जहाँ सुरु हुन्छ । फिल्मको सुरु र अन्तको घटनाक्रम समान छ । उडिरहेको प्लेन, मलामी यस्तै यस्तै घटनाक्रम सुरु र अन्त्यमा देख्न सकिन्छ । निर्देशकले नेपाली सिनेमा गरेको फरक प्रयास हार्‍यो । अन्तमा एउटा दृश्य छ–लक्ड अफ सटमा खिचेको । एकतिरबाट चुनावी र्‍याली अर्को तर्फबाट मलामी आइरहेको देखिन्छ । मलामी तल झरेको अनि र्‍यालीमाथि उक्लेको दृश्य सशक्तमात्र होइन, अर्थपूर्ण पनि छ ।

सशस्त्र युद्धपछिको सामाजिक अवस्थालाई निर्देशक दिनेश राउतले कलात्मक तरिकाले दृश्य चित्रण गरेका छन् । एउटा दृश्य छ । राधा अर्थात् रानु योगी प्रकाशदेखि टाढा हिड्न खोजिरहेकी छन् । उनीहरुको प्रेममा वर्गीय विभेद, जातीय विभेदको खाडल छ । त्यसैले राधा भाग्न खोजिरहेकी छन् । उक्त दृश्यमा हातमा हँसिया बोकेकी राधासँगै पृष्ठभूमिमा राप्रपाको झण्डा छ । उनी जब जब अगाड बढ्छिन् । फरक फरक राजनैतिक पार्टीका पोस्टर देखिन्छ ।

अन्तमा राधा भित्तामा अडेस लागेपछि उनलाई फोलो गरेको क्यामरा रोकिन्छ अनि भित्तामा ठूला अक्षरले लेखिएको हुन्छ–वर्गीय मुक्ति जिन्दावाद । निर्देशकले सरकारले दिने आरक्षणबारे पनि मुद्दा उठान गरेका छन् । बैशाखीको भरमा बाँचेका काकाको माध्यामबाट सशस्त्र युद्धपछिका लडाकूहरुको अवस्था चित्रण गरेका छन् । रंग बदल्नेहरु महलमा पुगेको अनि रगत बगाउनेहरु किनारा लागेको कुरा देखाएको छ । व्यवस्था फेरिए पनि तिनका ठेकेदार नफेरिएको कुरा प्रकाश घिमिरेको चरित्रबाट चित्रण भएको छन् । विकटका सरकारी विद्यालयको दुर्दशा र त्योमाथि राजनीतिले गरेको प्रभाव सूक्ष्म रुप देखिइएको छ ।

फिल्ममा प्रयोग भएको प्रकाश कथा अनुरुप बगेको छ । उज्यालोबाट सुरु भएको कथा बिस्तारै कम हुँदै जान्छ । त्यस्तै घरभित्रका दृश्यमा पात्रहरुको असहज परिस्थिति, भाव अनुसार अन्धकार नै देखाइएको छ । जुन सबल पक्ष हो । पात्रले बोलेका संवाद सशक्त छन् । पात्रहरु चरित्रमा घुसेको छ । कम्फर्ट जोनबाट निस्केर गरेको प्रदीपको काम तारिफयोग्य छ । दीया मास्केको अभिनय निकै राम्रो छ ।

दर्शकलाई उनले निभाएको भूमिकाबाट आमाको पीडा, त्याग महसुस गराउन सफल भएकी छन् । दलका झण्डा र राष्ट्रिय झण्डा, पर्खालले विभाजिन गरेका पात्रहरु, प्रकाश र उनको र माथिका मूर्ति जस्ता सिम्बोलिक दृश्यले फिल्मलाई कलात्मक बनाएको छ । न्यारेटिभ अनि पात्रको मुड अनुरुप राजेश श्रेष्ठले क्यामराको मुभमेन्ट र एंगल प्रयोग गरेको देखिन्छ । प्रकाश र राधाको प्रेमिल वार्तालापमा सँगै यात्रा गराउन गरिएको ट्रयाकिङ सट होस् या असहज परिस्थितिमा प्रयोग गरेको डच टिल्ट एंगल प्रयोग ।

जीवन थापाको रंग संयोजन कथासँग मिल्दो छ । त्यस्तै, फिल्ममा लोकेसन साउन्ड नै प्रयोग भएको देखिन्छ । जसले यथार्थ महसुस गराएको छ । बुवाको सतगद गर्दा होस् या व्रतबन्धको दृश्य समावेश गरेर । पात्रले बोलेका लबज होस् या भेषभूषामा कर्नालीको आञ्चलिकता देखाउन भरपूर प्रयास गरेको देखिन्छ ।
०००
तर फिल्म कमजोरी मुक्त भने छैन । पहिलो हाफ सुस्त छ । पटक पटक एउटै विषयमा भएको गन्थनले अनावश्यक तन्केको छ, फिल्म । प्रदीपले फरक प्रयास गर्‍यो भनेर माइन्ड सेट बनाएर फिल्म हेरे त उनको अभिनय ’वाह’ लाग्ला तर कथा भित्रको प्रकाशलाई प्रदीपले पूर्ण न्याय दिएका छैनन् । उनी केन्द्रीय पात्र हुन् । फिल्म हेर्नेले उनीसँग यात्रा गर्नु पथ्र्याे तर उनीसँग भन्दा पनि उनकी आमा दीया मास्केको भूमिकाले बढी तान्छ । अर्थात् ऊभन्दा सहायक पात्र जमेका छन् ।

सब प्लटहरु कमजोर छ । प्रकाश घिमिरेको चुनावी माहोल एकतर्फी र सतही देखिएको छ । त्यस्तै सुनपसले र उनका छोरालाई धेरै स्पेस दिए पनि दमदार छैन । मूल कथामा जब पात्र समस्यामा पर्छ, समाधानका लागि संघर्ष गर्छ । तर पात्रको मूल समस्या देखाउन लेखक अल्मलिएका छन् । शिक्षक बन्न रोकेको राजनीतिले हो कि ? शिक्षा प्रणालीले ? आरक्षण प्रणालीले हो ? स्पष्ट छैन ।

यति गम्भीर बिषयको उठान भएको छ तर हल्का रुपमा । फेरि प्रकाशका बुबा सशस्त्र युद्धमा लडाकू हुन्छन् । जसले त्यही शिक्षा प्रणालीको विरोध गरे । बुर्जुवा शिक्षा भने । उनैले छोरालाई किन मास्टर नै बनाउन चाहे ? प्रावि तहकै दरबन्दीमा भए पनि सरकारी शिक्षक बन्न १२ पास गरेको हुनुपर्छ । जस अनुसार प्रकाशले उच्च शिक्षा हासिल गरिसके । तर कहाँ ? खुलेको छैन, पात्रको विगत स्पष्ट छैन ।

शिक्षण क्षेत्रमा बेथीति छन्, शैक्षिक नियुक्तिको विषय लिएर समय समयमा चर्काचर्की हुन्छ । सो विषयलाई कथाले छोएको छैन । बरु एक पात्रको संवादबाट घूसपैठ चल्दैन भनेर समस्यालाई छोप्नतिर लागेको जस्तो देखिन्छ । फिल्ममा सामान्य सरकारी प्रक्रियालाई समेत सतही रुपमा देखाइएको छ । फिल्ममा विद्यालयमा राष्ट्रिय गान गाउँदा सबैको हातमा छातीमा हुन्छ । छातीमा हात राखेर गाउने कुरा राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधिमा उल्लेख नभएको सामान्य जानकारी हुनु पथ्र्यो । त्यसै गरी बेला बेलामा पात्रहरुले लबज भुलेका छन् ।

फिल्मका दृश्यहरु हेर्दा गाउँमा बिजुली बत्ति आइसकेको छ । सोलार पनि जडान भइसकेको छ । तर लेख यति गरिब बनिदिए कि उनको घरमा मात्र टुकी बलिरहेको छ । बाटोमा बिजुलीका पोल लस्कारै देखिन्छन् तर बाटोमा कतै बिजुलीको उज्यालोपन छैन । गाउँमा मोबाइलमा कुराकानी भएको देखाइएको छ तर रेडियो राम्रोसँग टिपेको छैन । यी दृश्य पत्यारिला लाग्दैनन् । लोकेसन तथा सिंक साउन्डमा मेहनत देखिन्छ तर कुनै फ्रेममा नभएको चीज साउन्ड समावेश छ । खोला कराएको छ, खोला छैन । बतास चलेको छ, पात हाल्लिएको छैन । फिल्ममा पात्रको भाव अनुसार पटक पटक एकै खालको साउन्ड प्रयोग छ । जसले दर्शकलाई कथामा घुसाउनुको साटो मोनोटोनोस बनाउँछ ।

यद्यपि प्रकाश फिल्म ‘प्रकाश सर’ बन्न चाहने प्रकाशेहरुको कथा हो । कर्नालीमात्र होइन, गरिबी र अभावले थिचेका प्रकाशेहरुको कथा हो । राजनीतिक शिकारका कारण सपनाको भारीले थिचेका साना मान्ठाहरुको कथा हो । प्राविधिक रुपमा कमजोरी छन् तर निर्देशकले फिल्ममा सामाजिक, शैक्षिक र राजनीतिक अवस्थाले दृश्य चित्रण गर्न प्रयास भने गरेका छन् ।

तपाईको प्रतिक्रिया