ठेलो प्रतियोगितामा किरण प्रथम

समाधान संवाददाता २०७९ भदौ १६ गते १०:४९

पोखरा ।
तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुँडिखेलमा जारी ऐतिहासिक तीज मेलामा बुधबार सकिएको ठेलो प्रतियोगितामा किरण सुनार प्रथम भएका छन् । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा जारी मेलाको छैटौ दिनमा गरिएको प्रतियोगितामा सहभागी १४ जना प्रतिस्पर्धीलाई पछि सुनार प्रथम बनेका हुन् ।

लोप हुँदै गएको परम्परागत खेल ठेलोको संरक्षण एवं प्रचार गर्ने उदेश्यसहित आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका सुनारले १२ किलोको ठेलो ४१.६ फिट पर फाल्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेका थिए । ठेलो ४०.३ फिट पर फाल्दै रोहित सुनार दोस्रो हुन सफल भएका थिए भने ठेलो ३७.१० फिट पर फाल्दै राजेश गुरुङ तेस्रो भएका प्रतियोगिताका संयोजक रुद्र लुईटेलले जानकारी दिए ।

विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमश १२ हजार १ रुपैयाँ, ७ हजार १ रुपैयाँ र ५ हजार १ रुपैयाँ पुरस्कार पाउनेछन् । संयोजक लुईटेलका अनुसार विजेतालाई दिईने पुरस्कार शुक्रबार मेला समापन समारोहमा वितरण गरिने भएको छ ।

Advertisement

१० भदौदेखि सुरु ऐतिहासिक तीज मेलाको समय १ दिन थप गरिएको छ । १६ गतेसम्म तय भएको मेलाको समय १ दिन थप गरिएको हो । मेला अवलोकनका लागि आउने दर्शकहरुको आग्रहका कारण समय १ दिन थप गरिएको आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

मेलामा आमा समूह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिता भएका छन् । मेलामा बुधबार चर्चित र्‍यापर आशीष राना अर्थात लाउरेले प्रस्तुति राखे । बिहीबार राजु परियार, सन्तोष बस्याल, शिवहरि ढुंगाना, जुना शिरिषमगर लगायतका कालाकारले प्रस्तुति राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया