प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न

समाधान संवाददाता २०७९ भदौ २० गते १६:०४

पोखरा ।
कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए ।


प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते। त्यसै गरि ६६.१ देखि ७४ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते ।

ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते । ७४.१ देखि ८३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते।

Advertisement

त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी ), विवेक खडका (४०२.५ केजी ) र मौलादीन मिया ( ३२० केजी ) पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ ( ३४२.५ केजी ), संदेश गुरुङ ( ३४० केजी ) र युनिक गुरुङ ( ३१२.५ केजी ) पहिलो, दोस्रो र तेस्रो भए । ९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार ( ४५७.५ केजी ) र प्रथम श्रेष्ठ ( ४५२.५ केजी ) दोस्रो र तेस्रो भए ।

महिला तर्फ भएको ६३ केजी भन्दा बढी तौल समूहमा व्यायामशालाका शर्मिला शाह ( ३९० केजी ) ले स्वर्ण पदक जितिन् । सरस्वती गुरुङ ( ३३२ .५ केजी ) र गुडु थापा ( ३२३ केजी ) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर ( २७५ केजी ), एनिमाया दर्जी (२४४ केजी ) र सोनी गुरुङ (२४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी ), एनिमाया दर्जी (२४४ केजी ) र सोनी गुरुङ (२४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । ५५ केजीभन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ ( २७७ .५ केजी), पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

Advertisement


प्रतियोगिताको उदघाटन राखेप सदस्य राजेश गुरुङले गरेका थिए । गुरुङले पावरलिफ्टिङ खेलको विकासमा आफू लाग्ने प्रतिबद्धता जनाए । प्रतियोगिताको समापनमा कार्यक्रम बोल्दै कास्की जिल्ला पावरलिफ्टिङ संघ अध्यक्ष हसन गुरुङले यस्ता प्रतियोगिता आयोजना गर्नले पावरलिफ्टिङ खेलको प्रवर्धन हुने र यस सम्बन्धी खेलाडीहरुले प्लेटफर्म पाउने बताएका छन् । ‘अहिले हामीसँग खेलका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका खेल साम्रगी छैन । जसले गर्दा खेल खेल्दा र खेलाउदा समस्या भइरहेको अवस्था छ ।’ गुरुङले भने, ‘अबको दिनमा यस खेलको विकासका लागि निरन्तर लागिरहने छु । सम्बन्धित निकायमा गएर खेल र खेलाडीका लागि आवाज उठाउने छु ।’


अध्यक्ष गुरुङ पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । उनले भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टिङ फेडरेसनले आयोजना गरेको २१ औँ विश्व पावर लिफ्टीङमा नेपालको लागि स्वर्ण पदक जितेका थिए ।

तपाईको प्रतिक्रिया