बास्केटबलमा पर्वत र म्याग्दी विजयी

समाधान संवाददाता २०७९ भदौ २० गते १६:२०

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत सम्पन्न बास्केटबल पुरुषतर्फ पर्वत र महिलातर्फ म्याग्दीले जितेका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बलियो मानिएको म्याग्दीलाई पराजित गर्दै पर्वतले स्वर्ण पदक टिम च्याम्पियन बनेको हो । निर्क प्रतिष्पर्धात्मक खेलमा पर्वतले म्याग्दीलाई ५९ का विरुद्ध ६६ स्कोर गर्दै पुरुषतर्फको टिम च्याम्पियन बन्न सफल भएको छ । पर्वतलाई स्वर्ण पदक दिलाउन केशव खोरोजा एक्लैले १५ स्कोर गरेका थिए ।


यस अघि पर्वतले सेमीफाइनलमा स्याङजालाई ८२–७२ को स्कोरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा पर्वतका एञ्जल गर्वुजाले २२ स्कोर गरेका थिए । त्यस्तै पर्वत संग फाइनलमा भेट पक्का गर्न म्याग्दीले कास्कीलाई ६४–५९ को स्कोरले पराजित गरेको थियो । उक्त खेलमा म्याग्दीका गिमेन पुर्जाले १८ स्कोर गरेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा कास्कीले स्याङजालाई ५७–३७ को स्कोरले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको छ । उक्त खेलमा कास्कीका विपुल गुरुङले २४ स्कोर गरेका थिए ।


त्यस्तै महिलातर्फ म्याग्दीले कास्कीलाई १ स्कोरले पराजित गरेको छ । सम्पन्न फाइनल खेलमा विजेता बन्न सफल म्याग्दीले २० स्कोर गर्दा कास्कीले १९ स्कोर मात्रै गर्न सक्यो । म्याग्दीकी सिमा पुनले टिमलाई विजेता बनाउन १० स्कोर गरिन । महिलातर्फ भने कास्की, म्याग्दी र लम्जुङको सहभागिता रहेको खेलका निर्णायक शिव पुनले जानकारी दिए ।

Advertisement


प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्यद्वय शुभ कन्या गुरुङ र खगेन्द्र क्षेत्री, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक गोदारलगायतले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया