२४ गतेबाट पोखरा थिएटरमा ‘सुनकेशरी’ मञ्चन हुने

समाधान संवाददाता २०७९ भदौ २१ गते १४:५४

पोखरा ।
संस्कृतिविद सत्यमोहन जोशीले लेखेको नाटक ‘सुनकेशरी’ पोखरामा मञ्चन हुने भएको छ । पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने भएको छ । नाटकले पोखरेली नाट्यप्रेमीको राम्रो साथ पाउनेमा नाटक युनिट विश्वस्त रहेको छ । नाटक हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त्त सो दिउँसो १ बजे मञ्चन हुनेछ ।


नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री, आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, उज्ववल राई, विवेक कट्वाल, नोर्देन ख्यूङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविन गिरी, सलिना खत्री, किसम विर विक्रम थापा, अभिषेक राई, सुनील खड्का र रोसन अधिकारीको अभिनय हेर्न पाइनेछ ।


प्रत्यक्ष संगीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनेछन् । नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन् । पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले पोखरामा नाटक मञ्चन गर्न लागेको हो । नाटक मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं. ४ को सहकार्य रहेको छ ।

Advertisement


सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा बुनिएको छ । यो कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा कथा वस्तुको संकलन गरेका हुन् । जनजिब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रुप दिएका हुन् ।


यो नाटक १० वर्ष अगाडि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको थियो । नेपालका अलावा भारत र बंगलादेशमा समेत यो नाटक मञ्चन भइसकेको छ । आफ्ना लागि सुनकेशरी विशेष नाटक भएको परिकल्पनाकार तथा निर्देशक राजन खतिवडा बताउँछन् । ‘दर्जनौ नाटक अभ्यासबीच सुनकेशरी मेरा लागि दुई दशक लामो करियरकै एक विशेष नाटक हो’ उनले भने ।

Advertisement


पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दावी गर्छन् । यो नाटक पोखरामा मञ्चन हुनु खुशीको कुरा भएको भन्दै उनले सबै नाट्यप्रेमीलाई नाटक हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
मण्डलाको इतिहाससँग जोडिएको नाटकले पोखरामा राम्रो साथ पाउने मण्डला नाटक समुह नेपालका अध्यक्ष सृजना सुब्बाको विश्वास छ । यो नाटकको पुर्नउत्पादन तथा नियमित मञ्चन गर्नुको पछाडि केही संयोग, केही नियति र केही नियमित आस्मिता रहेको उनको भनाई छ । यो नाटक आगामी कार्तिक १८ गतेदेखि मंसिर ४ गतेसम्म मण्डला नाटकघर काठमाण्डौमा समेत मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया