निक्खर कथा, तिख्खर फिल्म
ऐना झ्यालको पुतली निक्खर कथामा बनेको तिक्खर फिल्म हो । कलात्मक, सरल कथावाचन, यथार्थपरक, मैलिक सिनेमा हो ।
युनिश गुरुङ ।
फ्रान्सेली निर्देशक रोमन पोलान्स्कीले एक पटक भनेका थिए– ‘राम्रो सिनेमाले तपाइँलाइ थिएटरमा बसेर फिल्म हेरिरहेको छु भन्ने कुरा नै बिर्साइदिन्छ ।’ जब दर्शक कथा भित्र घुस्न थाल्छ, पात्रसंगै यात्रा तय गर्छ । कथाभित्रको समस्यामा अप्ठेरो र समाधान पछि रिलिफ महसुस गर्छ । तब सिनेमा सुन्दर भएको मानिन्छ । यसै साता नेपाली सिनेमा आकाशमा यस्तै एउटा सुन्दर सिनेमा उदाएको छ, ऐना झ्यालको पुतली ।
ऐना झ्यालको पुतली अर्थात् सिसाभित्र थुनिएको पुतली जो बाहिरी संसार नियाल्छ तर निस्किन सक्दैन । प्वाँखमा रंगिन सपना भरेर स्वतन्त्र गगनमा निस्फिक्री उड्न चाहन्छ तर सिसा भित्र अड्किन बाध्य छ । यस सिनेमाको प्रोटागोनिस्ट विद्या अधिकारी (कञ्चन चिमोरिया लक्ष्मी) पनि ऐना झ्यालमा अड्केको पुतलीको जीवन बाँचिरहेकी छिन् । उनी नजिकको गाउँमा गएर माध्यमिक तहको पढाइ पूरा गर्न चाहन्छिन् । स्वतन्त्र बन्न चाहेपनि सपना प्राप्तिमा बाधा आइपर्छ । परिवारले उनको चाहना थाहा पाउनु अगावै उनी बन्धनमा बाँधिन्छिन् ।
के विद्याग्रहण गर्ने विधाको सपनामा साँचिकै ग्रहण लाग्ला ?
फिल्मको ओपनिङ सिनमा विद्या र उनका भाइ बसन्त (दिनेश खत्री) उत्सुकतापूर्वक काँचको बट्टामा थुनिएको पुतली हेरिरहेका छन् । झुसिलकिराबाट पुतली बन्दासम्म थुनिएर राखेको पुतली विद्याले उडाउन खोज्छिन् । तर बसन्तले अवरोध गर्छ । यद्यपी विद्याले पुतली उडाएर नै छाड्छिन् ।
बन्धनमा बाँधिएकी विद्याले उन्मुक्ति पाउलिन् ? वर्षौंदेखि पुरुष प्रधान समाजले कठपुतली बनाएका विद्याहरुले उन्मुक्ति पाउँछन् ?
०००
लिनियर न्यारेटिभमा रहेको कथाको संरचना सुन्दर छ । जुन सरल र सामान्य शैली पनि हो । समान बेगमा बगेको पटकथाको कारण दर्शक सजिलै कथा भित्र घुस्छ र कथाले अन्तिमसम्म दर्शकलाई बाँधेर राख्छ । कथा, पात्रहरु फिक्सनल भएको थाहा हुँदाहँुदै भावुक बनाइ छाड्छ । बालापनको धूमिल स्मृतिमा पुर्याउँछ ।
ग्रामीण भेगमा निम्न जीवन बिताएका जो कोहीलाई बाल्यकालको फन्को गराउँछ । निर्देशकले बाल्यकालमा गरिने स–साना क्रियाकलापलाई मिहिन रुपमा उतारेका छन् ।
यो विद्याहरुको कथा हो । विशा राई र पारुको कथा हो । माइतको दैलो टेक्न कुर्ने विद्याकी आमाको कथा हो ।
स्वतन्त्रताको भोकको कथा हो । जो वर्षौंदेखि अधिनताको डोरीले बाँधिएर बसेका छन् । फिल्ममा कानमा लगाउने मुन्द्रीलाई बिम्बको स्वरुप दिएको छ । मुन्द्री हजुरआमापछि आमा हुँदै विद्याका कानमा आइपुग्छ । जसले महिलाहरु पितृसत्तामा महिलाहरु कसरी कठपुतली जीवन बाँचिरहेका छन्, त्यो देखाउन खोजिएको छ ।
फिल्मको एउटा दृश्यमा बसन्तले स्वतन्त्रताको कविता वाचन गर्दैछ । सोही समयमा क्यामेरा हजुरबुबा, बुबा हुँदै विस्तारै विद्याको मुहारमा होल्ड हुन्छ ।
त्यति बेला विद्याले मुन्द्री लगाएकी हुन्छिन् । त्यसपछि क्यामरा विस्तारै पिनिङ हुँदै झ्याल तर्फ लैजान्छ । यो दृश्य र त्यति बेला बोलेका संवाद निकै अर्थपूर्ण छ । फिल्ममा एउटा यस्तो दृश्य छ, बसन्त कपाल कोर्दै छ, छेउमा दिदी खाटमा बसिरहेकी छिन् र उनीहरुको बीचमा खम्बा छ । खम्बामा पुतली अंकित रुमाल झुण्डिरहेको छ । उक्त दृश्यमा खम्बाले दुईबीचको फरक देखाउन खोजेको छ ।
विद्या अलि विद्रोही स्वभावकी हुन्छिन् । उनी ऐना झ्याल तोड्न चाहन्छिन् । खोला तर्न चाहन्छिन् तर कहिले नवराज, कहिले मुढो बाउ त कहिले चकचके भाइ तगारो भएर आउँछन् । विद्याले पढ्न चाहेको विद्यालय खोला पारी छ । खोलालाई स्वतन्त्रताको रेखाको रुपमा पनि देखाइएको छ । उनले खोला पार गरेकै दिन आमाको गाली खान्छिन् । निर्देशकले पारुसँग खोला तर्दा पृष्ठभुमिमा देखाएको दृश्य, खोलामा निस्फिक्री पौडेका बच्चाहरुको दृश्यले महिला स्वतन्त्रता र रूढीवादी समाजलाई प्रतिविम्बित गर्न खोजेका छन् ।
इरानलाई बर्बर युद्ध मात्र हैन, फिल्मको उर्वर भूमि पनि मानिन्छ । चिल्ड्रेन अफ हेभन, सन चिल्ड्रेन, होर वेर इज माइ फ्रेन हाउस, कलर अफ प्यारडाइज जस्ता सिनेमा बाल मनोविज्ञान र पारिवारिक बन्धनमा बनेका छन् । ऐना झ्यालको पुतलीले पनि तिनै कलात्मक र यथार्थपरक इरानी सिनेमाको झल्को दिलाउँछ । बाल मनोविज्ञानसँग साक्षात्कार गराउँछ । हुन त हराएको साइकल खोजीमा हिँडेका बाउछोराको कथा ‘दी बाइसाइकल थिभ्स’को झल्को पनि नदिएको हैन ।
दि बाइसाइकल थिभ्स इटालियन न्यू रियालिज्म मुभमेन्टमा बनेको सुरुआती फिल्म पनि हो । ऐना झ्यालको पुतलीमा पनि अधिकांश भन्दा बढी कलाकार नन प्रोफेसनल हुन् । इटालियन न्यू रियालिज्म मुभमेन्ट सबै भन्दा धेरै पछ्याएको इरानी फिल्ममेकरहरुले हो । जसलाई इरानी न्यू वेभको मुभमेन्ट भनियो । माजिद माजिदी, बहराम बेजाय, अब्बास कियारोस्तमी त्यसलाई पछ्याउने फिल्म मेकरहरु हुन् । अत्यन्त सरल कथा, स्लो पेस, नन प्रोफेसनल एक्टर, सिंगल टेक, काव्यात्मक, मेटाफोरिकल स्टोरि टेलिङ इरानी न्यु वेभका खासियत हुन् ।
फिल्मको सुन्दर पक्ष भनेको खिचाइ पनि हो । दर्शकलाई पात्रसँगै यात्रा गराउन, अधिक यथार्थपरक देखाउन धेरै ठाउँमा सिंगल अर्थात् लङ टेक प्रयोग गरिएको छ । जसले अब्बास कियारोस्तमीको सिनेमाको झल्को दिलाउँछ । नन प्रोफेसनल एक्टरलाई सिंगल टेकमा लामा संवाद बोल्न लगाउनु, अभिनय गर्न लगाउनु तारिफ गर्न लायक कुरा हुन् । खोलातिर बसन्तले कुटाइ खाँदा निसाँसिदा होस् या देउराली चोकमा बांगे मिलनसँग जुध्दा गरिएको सेक गरिएको क्यामराले कथा र पात्रको मनोदशा दर्शाउन मद्दत गरेको छ । जसले कथालाई जीवन्त बनाउन सहयोग गरेको छ ।
आर्ट डिरेक्टरको काम पनि प्रसंशनिय छ । तत्काल समयमा प्रयोग गरिने पेन, सिनेमाका पोस्टर, पैसा जस्ता प्रोप्सले तत्कालिन समयमै पुर्याइदिन्छ । निर्देशकले टाइमफ्रेमलाई डिटेलमा देखाएका छन् । कक्षाकोठाको एउटा दृश्यमा मिति लेखिएको छ, २०५२ मङ्सिर १२ गते । त्यो दिन मुनामा कविता पनि पठाएको दिन पनि हो । जुन समय द्वन्द्वकाल सुरु हुनु २ महिना अघिको समय हो ।
त्यसको केही महिना पछि बसन्त र बांगे मिलन मगर खोज्न जाने क्रममा पृष्ठभूमिमा रेडियो बजिरहेको हुन्छ । जसमा रोल्पामा अज्ञात समूहबाट आक्रमण गरिएको छ भनेर सशस्त्र द्वन्द्व सुरु भएको कुरा संकेत गरिएको छ । तर मूल कथामा सो घटानाक्रमले असर नपर्ने गरी संकेत गरिएको छ । पुष्पसंगमको बिजियम अत्यन्त राम्रो छ । सम्भवत: उनले गरेका पछिल्ला काममध्ये उत्कृष्ट हो । कथा अनुरुप राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् ।
कलाकारहरुको डाइलग डेलिभरी, अभिनय यथार्थपरक छ । कति ठाउँमा अभिनय यस्तो छ कि कलाकारको अनुहारको भावले धेरै कुरा बताउँछ । कास्टिङ डिरेक्टर केदार श्रेष्ठ र आकाश मगरले चरित्र सुहाउँदो कलाकार छानेका छन् । कहिल्यै घर आउँदिन भनेर घुक्र्याउने, नजिक हुँदा दिदीसँग झगडा गर्ने अनि टाढा हुँदा खिर दिने दृश्यहरुले दिदीभाइको प्रेम देखाएको छ । फिल्म बहुविवाह, रुढीवादी र पितृसत्ताको विरोधमा छ तर लम्बेतान क्रान्तिकारी संवाद घुसाएको छैन । त्यस्तै फिल्मको एउटा पुतली उमेश श्रेष्ठ अर्थात् बांगे पनि हो । जो पटक पटक काठमाडौं उड्ने सपना देख्छ र एकदिन उडेर पनि जान्छ । तर विद्यालाई स्वतन्त्र उड्न रोक छ ।
एउटा दृश्य छ, विद्या खेतमा पराल बोकेको त्यसपछि रातको दृश्य आउँछ । त्यति बेलाको फेड इन ब्ल्याक नगरेको भएपनि हुन्थ्यो जस्तो लाग्छ । किनकी फेड इन, फेड आउट सामन्यतया लामो समयको अन्तराल देखाउन प्रयोग गरिन्छ । समग्रमा सम्पादन पक्ष राम्रै छ । एउटा दृश्यमा विद्याले गालामा मेकअप पोतेको देखाउँछ । यति डिटेलमा काम गर्ने निर्देशकले तत्कालिन समय प्रयोग गर्ने टोनी, फेयर एण्ड लभ्ली प्रयोग गरेको देखाएको भए अझ राम्रो हुन्थ्यो कि ? किन भने मितिनीले प्रयोग गर्ने मेकअप टुल तत्कालिन समयमा सहरमा समेत कमै प्रयोग गर्ने गरिन्थ्यो । हुन त कनट्युनिटिका कुराहरु हुन्, कमजोरी हैनन् ।
तर बिजुलीका प्लग र टुकी एकै पटक नदेखाएको भए अझ राम्रो कि ? गाउँमा लामा बिजुलीका पोलहरु ठडिसकेका छन् तर पानी भने उही पँधेरो धाउनु परेको छ । अर्को कुरा बुवाको चरित्र अझ बलियो रुपमा स्थापित गरेको भए हुन्थ्यो । उनलाई विद्याको सपना तगारो बनाउन मात्र एन्टागनिस्ट देखाएको छ जस्तो लाग्छ । कहिले गीत, कहिले समाचार अनि कहिले विज्ञापन गरेर प्राय दृश्यहरुको पृष्ठभूमिमा केही न केही बजिरहेको हुन्छ । टाइमलाई स्थापित गर्न बजाएको रेडियोको धुन अलि नै बढि भयो कि ?
यद्यपि ऐना झ्यालको पुतली निक्खर कथामा बनेको तिक्खर फिल्म हो । कलात्मक, सरल कथावाचन, यथार्थपरक, मैलिक सिनेमा हो । दोस्रो विश्वयुद्ध पछि रोम ओपन सिटी, बाइसाइकल थिभ्स जस्ता फिल्म जन्मिए जसलाई इटालियन न्यू रियालिज्म भनियो । यसै शैलीलाई इरानी फिल्ममेकरहरुले इरानी न्यू वेभको नाम दिए । नेपाली माटोसँग पनि सुहाउँदो यहि शैलीमा निर्देशक सुरेश बिडारीले आफ्नै कथा बुनेका छन् । फिल्म हेरिरहँदा यस्तो लाग्छ, माजिद माजिदी, अब्बास कियारोस्तमीहरु कै सिनेमा हेरिरहेको छु । ऐना झ्यालको पुतलीले साँच्चिकै इरानी सिनेमाको झल्को दिन्छ ।
तपाईको प्रतिक्रिया