थप अधिकारका लागि एकताः उपसभामुख

समाधान संवाददाता २०७९ असोज १३ गते १५:५१

पोखरा ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला संवैधानिक अधिकारको अधिकतम उपयोग गर्दै थप अधिकारका लागि लाग्नुपर्ने बताएकी छन् । महिलामात्र सेयर सदस्य रहेको सिद्धि विनायक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभामा उनले अधिकार प्राप्तिका लागि महिला संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

सहकारीको माध्यमबाट महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनु पर्नेमा जोड दिंदै उनले उत्पादित वस्तुको बजारीकरणमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन् । निर्वाचनमा गठबन्धन हुँदा महिलाका हक, अधिकार खोसिन नहुने उनको भनाइ छ ।

निवर्तमान गण्डकी प्रदेश सभा सदस्य एवम् संस्थाका संस्थापक अध्यक्ष प्रभा कोइरालाले सहकारीले समाजका विपन्न एवं असहाय वर्गको उत्थानका लागि सीपको आधारमा लगानी गर्दै आएको जनाइन् । १ सय ६० सेयर सदस्य रहेको सो संस्थाले एक दर्जन बढी सदस्यलाई कुखुरापालन, गुडिया बनाउने, अचार बनाउने, सिलाई कटाई लगायतका बिभिन्न व्यवसाय गर्न लगानी गरेको सचिव इन्दिरा पौडेलले जानकारी दिइन् ।

Advertisement

संस्थाका अध्यक्ष भगवती कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्द्र कोइरालाले सहकारीको महत्व र आवश्यकता माथि चर्चा गरिन् । सभाले अध्यक्ष, सचिव कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया