गायक बानियाँलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड 

समाधान संवाददाता २०७९ कार्तिक ५ गते १९:५५

पोखरा ।
पोखराका गायक विनोद बाँनियाले ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ पाएका छन् । सिजन मिडियाले १४ औं स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा बाँनियाले ‘भर्सटाइल सिंगर अफ द इयर अवार्ड’ हात पारेका हुन् ।

२०५७ मा ‘माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी पोखराबाट औपचारिक रुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका बाँनियाका ‘मान्छे’, ‘डाउट’ र ‘प्रोफाइल’ एल्बम बजारमा आइसकेका छन् । एल्बमका अलावा विभिन्न फुटकर गीतका कारण उनको परिचय बेग्लै बनेको छ ।

पप, आधुनिक, गजल, राष्ट्रिय तथा खेलकुद गरी झण्डै ५० हाराहारी गीतमा उनले आवाज भरिसकेका छन् । यति नै गीतमा संगीतसमेत गरेका बाँनियाले केही गीत रचना गर्नसमेत भ्याएका छन् । छोटो फिल्म ‘फेम’ निर्देशन गरिसकेका बाँनियाले नेपाली फिल्ममा ‘दयारानी’मा गीतमार्फत पाश्र्व गायकका रुपमा काम गरेका छन् । जुन चलचित्र केही समयपछि दर्शकमाझ आउने तयारीमा छ ।
संगीतमा डिप्लोमा गरेका उनी विगत १६ वर्षदेखि पोखरामा रहेको सैनिक आवासीय महाविद्यालयमा संगीत प्रशिक्षक छन् । अवार्ड हात पारेपछि बानियाँले यसले सांगीतिक क्षेत्रमा अगाडि बढ्न उत्साह थपेको बताए ।

Advertisement

अवार्डसेप्टेम्वर २९ मा दुबइमा वितरण भएको थियो । दुवइमा जान नपाएका अवार्ड विजेतालाई हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर अवार्ड प्रदान गरिएको हो । गायक बानियालाई पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले अवार्ड प्रदान गरे ।

सिजन मिडियाले सामाजिक, सांस्कृतिक, शैक्षिक, खेलकुद र व्यावसायिक क्षेत्रमा दशकौँदेखि काम गरेर स्थापित भएका व्यक्तिको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले अवार्ड वितरण गर्ने गरेको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए । अबको कार्यक्रम कम्बोडियामा गर्ने वन्तले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया