कोरलामा स्वदेशी पर्यटकको लर्को

सुन्दरकुमार थकाली २०७९ कार्तिक ६ गते ११:०१

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाका अवलोकन गर्न आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा आएको मुस्ताङको उत्तरी कोरला नाका पछिल्लो समय आन्तरिक पर्यटकका लागि पर्यटकीय स्थल बनेको हो ।

समुद्री सतहदेखि झन्डै ४५ सय मिटर अग्लो उचाइमा अवस्थित उत्तरी कोरला नाका लोमान्थाङबाट करिब २० किमी उत्तरमा पर्छ । तिब्बतको खुल्ला पठार भूगोल जस्तै नेपालतर्फ पनि उस्तै खुला पठार मरुभूमि छ । भारतीय नाकाबन्दीपछि सरकारले उत्तरतर्फका नाकाबाट व्यापारिक मार्ग विस्तार गर्न पहल थालेको थियो ।

यतिबेला दिनहुँ १५० देखि २०० सम्म आन्तरिक पर्यटक उपल्लो मुस्ताङ आइरहेका छन्

Advertisement

सोही अवधारणा अनुसार सरकारले २०७४ सालदेखि बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु गरेको थियो । बेनी–जोमसोम ७६ किमी र जोमसोम–कोरला ११० किमी दूरी तय गरेपछि मुस्ताङको उत्तरी कोरला नाका पुग्न सकिन्छ ।

राष्ट्रिय गौरवको सडकमार्ग अन्तर्गत जोमसोम कोरला सडकको सातवटा प्याकेज मध्ये ६ प्याकेज निर्माण भइसकेको छ भने चराङ–छोसेर २५ किमी सडक अन्तिम चरणमा छ ।
पछिल्लो समय सडक सहज भएसँगै नेपाली पर्यटकको रोजाइ उपल्लो मुस्ताङ र कोरला नाका बन्न पुगेको हो ।

Advertisement

उपल्लो मुस्ताङ र उत्तरी कोरला नाका अवलोकन गर्न यतिबेला दिनहुँ १५० देखि २०० सम्म आन्तरिक पर्यटक उपल्लो मुस्ताङ आउने गरेको लोमान्थाङस्थित होटल हिमालयनका सञ्चालक गोम्बो गुरुङले जानकारी दिए ।

उनले दसैं तिहार र छठ पर्वको बिदामा नेपाली पर्यटक उपल्लो मुस्ताङ र कोरला नाका हेर्न आउने गरेको बताए । उपल्लो मुस्ताङको पृथक भूगोल, प्राचिन कलासंस्कृति, मुस्ताङी राजाको ऐतिहासिक दरबार, विश्वकै पहिलो र पुरानो दावी गरिएको लोघेकर–१ मराङको घर गुम्बा, छोसेर गुफा, पर्खालले घेरिएको लोमान्थाङ र पुरातात्विक तथा जैविक विविधिता मनोरम प्राकृतिक भूगोल, उपल्लो मुस्ताङको मौलिक कलासंस्कृति उपल्लो मुस्ताङको महत्वपूर्ण विशेषता भित्र पर्छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत उपल्लो मुस्ताङमा पर्यटकीय दृष्टिकोणले मात्र नभई विभिन्न खोज अनुसन्धान लगायतको केन्द्र बनेको छ । दसैंअघिको अविरल वर्षाले निर्धारित तालिका अनुसार मुस्ताङ आउन नसकेका कतिपय आन्तरिक पर्यटक अहिले मोटरसाइकल चढेर आइरहेका छन् भने कतिपय पर्यटक सवारी साधन लिएर मुस्ताङ आउँछन् ।

मुक्तिनाथको दर्शन गरी उत्तरी कोरला नाका अवलोकन गर्न आन्तरिक पर्यटक माथि उक्लिन्छन् । दसैं–तिहार बिदाको अवसर मिलाएर काठमाडौंदेखि मोटरसाइकल चढेर मुस्ताङ आएका पर्यटक दीपेश रिजालले मुस्ताङको कोरला नाका पुगेर फर्किंदा स्वर्ग नै पुगेको अनुभूति भएको सुनाए ।

यसअघि हिमाल र यहाँका जस्तो भौगोलिक दृष्य कही नदेखेको उल्लेख गर्दै मुस्ताङ आएका रिजालले मुक्तिनाथको दर्शन र कोरला नाका हेरी आफ्नो टोली मार्फा फर्किएको बताए ।

मुस्ताङमा बर्सेनि पाँच लाख बढी आन्तरिक पर्यटक आउने गरेका छन् । यद्यपी मुस्ताङमा विदेशी पर्यटकको मात्र तथ्यांक राखिने भएकाले आन्तरिक पर्यटकको यकिन तथ्यांक संकलन हुँदैन ।

सदियौं वर्ष पहिले पहाड नै खोपेर बनाइएको छोसेर गुफाको बेग्लै इतिहास छ । लोमान्थाङ–कोरला सडकदेखि पूर्वतर्फ छोसेर गुफा अवस्थित छ । गुरु पद्मसम्भवदेखि तिब्बती खम्पा विद्रोहीहरूको इतिहासले समेत जोडिएको उपल्लो मुस्ताङमा बिष्ट, गुरुङ र ल्होवा समुदायका मानिसको बसोबास छ ।

पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएसँगै अहिले त्यहाँ यात्रुवाहक बस, ट्रक, जीप, ट्याक्सी र मोटरसाइकल सहज पुग्न सक्छन् । सडक सहज भएसँगै नेपाली पर्यटकहरू उपल्लो मुस्ताङ घुम्न जाने क्रम बढेको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया