जागिर दिने र लिनेको सेतु

समाधान संवाददाता २०७९ मंसिर २१ गते १०:४८

पोखरा ।
नयाँबजारमा मंसिर १६ गतेदेखि औद्योगिक व्यापार मेला चलिरहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना र समृद्धि स्टिल्सको मुख्य प्रायोजन ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ मंसिर २५ गतेसम्म चल्नेछ ।

आयोजकका अनुसार मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी करिब २ सय ५० स्टल छन् । डोमभित्र रहेको एउटा स्टल छ, जहाँ लेखिएको छ, –रोजगारदाता र बेरोजगारलाई मिलाउने कोसिस गर्छाैं । जुन आयोजककै स्टल हो । जहाँबाट रोजगारदाता र बेरोजगारको जोड्ने काम गरिन्छ ।

मेलामा बेरोजगार र रोजगारदातालाई जोड्ने प्रयास आयोजक पोखरा उद्योग वाणिज्य संघले गरेको छ । आयोजकले सो अभियान मंसिर १९ गतेबाट सुरु गरेको हो । हालसम्म रोजगारका लागि १८ जनाले आवेदन दिएका छन् । ५ जना रोजगारदाताले कामदार चाहिएको भन्दै नाम टिपाएका छन् ।

Advertisement

रोजगारदाता र बेरोजगारलाई जोड्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको संघको बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गतको कर्मचारी लक्ष्मी अधिकारीले बनाइन् । ‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो (सोमबार) देखि राखिएको हो । जागिर चाहियो, तालिम चाहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ,’ उनले भनिन् ।

तालिम, रोजगारका लागि र कामदारका लागि नाम टिपाएकासँग संघले समन्वय गरिरहेको अधिकारीले बताइन् । नाम, नम्बरहरु संकलन गरिरहेका छौं, मेलापछि हामी उहाँहरुसँग समन्वय गरीअघि बढ्छौं,’ अधिकारीले भनिन् ।

Advertisement

रोजगारका लागि नाम टिपाएकाहरु अधिकांश पढेलेखेका रहेको अधिकारीले बताइन् । ‘रोेजगारका लागि नाम टिपाएकाहरु अधिकांश पढेलेखेका हुनुहुन्छ, सबैजसो नै प्लस टु पास गरेको, ब्याचलर पास गरेको हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरुले आफ्नो ज्ञान, सीप अनुसारको रोजगारको अपेक्षा गर्नुभएको छ ।’

रोजगारको आवेदन दिनेमा पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंंक तथा वित्तीय संस्था, शिक्षण पेसामा काम गर्न इच्छुक छन् । होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायत क्षेत्रमा कामदार आवश्यक परेको भन्दै ५ जना रोजगारदाताले नाम टिपाएका छन् । केहीले तालिमका लागि पनि नाम टिपाएको अधिकारीले बताइन् ।

तपाईको प्रतिक्रिया