प्रदेश सभामा ५ दल

सञ्जय रानाभाट २०७९ मंसिर २२ गते १४:४३

सञ्जय रानाभाट, पोखरा ।
प्रदेश सभा निर्वाचनमा गण्डकीमा ४ दलले मात्रै समानुपातिक तर्फ सिट पाए । प्रत्यक्षतर्फको १ सिट पाएको नेकपा एकीकृत समाजवादी दलसहित गरी अब गण्डकी प्रदेश सभामा ५ दलको प्रतिनिधित्व हुने भएको छ । प्रदेशमा नील भएको नेकपा एकीकृत समाजवादीले मनाङ (२)बाट स्वतन्त्र निर्विरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै ५ दलको प्रतिनिधित्व हुने भएको हो ।

थ्रेस होल्ड कटाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै दल हुन् । ०७४ मा नील भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक थ्रेसहोल्डमात्रै कटाएन, २ सिट सुरक्षित ग¥यो । प्रत्यक्ष निर्वाचनमा नील भएको एकीकृत समाजवादीले मनाङेलाई पार्टी प्रवेश गराएर प्रदेश सभामा उपस्थिति देखाएपनि थ्रेसहोल्ड कटाउन सकेन ।

  • — नेपाली कांग्रेस बन्यो सबैभन्दा ठूलो दल
  • — समानुपातिकमा एमाले ठूलो दल भए पनि प्रत्यक्षमा कम सिट
  • — पहिला संसदमा रहेका जसपा र जनमोर्चाले १ सिट पनि पाएनन्
  • — राप्रपाले मार्‍यो पहिलोपटक प्रदेश संसदमा इन्ट्री
  • — थ्रेस होल्ड कटाए पनि एस, हाम्रो नेपाल पार्टी र जनमोर्चाको शून्य सिट

प्रदेशसभा तर्फ ०७४ मा राष्ट्रिय जनमोर्चा र तत्कालीन बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले थ्रेस होल्ड कटाएर समानुपातिकमा १/१ सिट पाए पनि यसपटक कटाएनन् । बाबुराम नेतृत्वको पार्टी माओवादी चुनाव चिन्ह लिएर चुनावमा गयो भने राष्ट्रिय जनमोर्चाले प्रदेशसभातर्फ प्रत्यक्षमा उम्मेदवार नै उठाएन ।

Advertisement

यसपालि कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी २७ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । ०७४ मा प्रदेशमा प्रत्यक्षतर्फ ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको कांग्रेसले यसपटक प्रत्यक्षमा तेब्बर अर्थात १८ सिट जितेको छ । समानुपातिकमा भने पहिलाकै जत्तिकै ९ सिट सुरक्षित गरेको छ ।

०७४ प्रदेशसभामा पहिलो दल बनेको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरी २२ सिट जितेको छ । ०७४ मा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिटसहित २७ सिट जितेको एमालेले यसपटक विगतको सिट गुमाएको हो ।

Advertisement

माओवादी केन्द्रले पनि विगतको सिट गुमाएको छ । ०७४ प्रत्यक्षतर्फ ९ र समानुपातिक ३ गरी १२ सिट जितेको माओवादीले यसपटक प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरी ८ सिट जित्न सफल भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सभामा पहिलोपटक इन्ट्री मारेको छ । प्रत्यक्षमा कुनै पनि सिट नजिते पनि समानुपातिकमा २ सिट पाएर गण्डकीको चौथौ ठूलो शक्ति बनेको छ ।

सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले सरकार गठन गर्न आवश्यक बहुमत संख्या पार गरेका छन् । ती दुई पार्टी मिल्दा बहुमतको सरकार बन्न सक्छ । एमालेले भने माओवादीको साथ पाए पनि सरकार बनाउन सक्ने अवस्था हुँदैन । उसलाई थप ३ सदस्य आवश्यक पर्छ ।

नयाँ सरकार गठनको प्रक्रिया
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । २४ जना समानुपातिकबाट निर्वाचित हुन्छन् । निर्वाचन आयोगले दलले समानुपातिक तर्फको मत परिणाम अनुसार सिट बाँडफाँड भइसकेको छ ।

जसमा नेकपा एमाले १०, कांग्रेस ९, माओवादी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी २ सिट पाउने पाए । सरकार गठन गर्न गण्डकी प्रदेश सभामा ३१ सदस्य आवश्यक हुन्छ । निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्रै मुख्यमन्त्री नियुक्त भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १ सय ६८ अनुसार मन्त्रिपरिषद् गठन गनुपर्ने हुन्छ । उक्त धाराको उपधारा १ मा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।’ कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा धारा १६८ को उपधारा (१)को बाटो बन्द छ ।

प्रदेश सरकार गठनको दोस्रो विकल्प भनेको उपधारा २ हो । यहाँ भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

गण्डकी प्रदेश सरकार गठन प्रक्रिया उपधारा २ बाट सुरु हुनेछ । यसरी हेर्दा कांग्रेस र एमालेले आफ्नो नेतृतवमा सरकार गठन गर्न चाहे माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा निर्णायक देखिन्छन् । मुख्यतः माआवादीको भूमिका महत्पूर्ण देखिन्छ । उपधारा (२) मा सरकार गठन हुन नसके धारा १६८ को उपधारा (३) जाने छ ।

यहाँ भनिएको छ, ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

यसरी दुई वा दुईभन्दा दल मिलेर पनि सरकार गठन गर्न नसके गण्डकी प्रदेशमा प्रदेश प्रमुखले संसदको सबैभन्दा ठूलो कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

गण्डकीमा जम्मा सदर मत —९८५,८०२
थ्रेस होल्ड कटाएर सिट पाएका दलको मत
एमाले— ३,६७,९८९
कांग्रेस—३, ४९, ६२८
माओवादी—१, १६,९४५
राप्रपा— ५९, ४८३
दलले ल्याएको सिट संख्या
—एमाले जम्मा २२
प्रत्यक्ष— १२
समानुपातिक—१०
—कांग्रेस जम्मा २७
प्रत्यक्ष—१८
समानुपातिक—९
—माओवादी जम्मा ८
प्रत्यक्ष—५
समानुपातिक—३
—राप्रपा जम्मा २
प्रत्यक्ष—०
समानुपातिक—२
—एकीकृत समाजवादी जम्मा मत १
प्रत्यक्ष— १
समानुपातिक—०

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया