चराचुरुंगीको वेग विमानस्थललाई चुनौती

रिखिराम जिसी २०७९ माघ ५ गते १०:२०

रिखिराम जिसी ।,पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार यती एयरलाइन्सको जहाज दुर्घटना भयो । जसमा सवार ७१ जनाको शव फेला परेको छ भने १ जना अझै बेपत्ता छन् । जहाज दुर्घटनाको कारण अहिलेसम्म यकिन भएको छैन । दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । साथै ‘ब्लाक बक्स’ फेला पारेर नेपाली सेनालाई बुझाइएको छ ।

दुर्घटना भएको अर्को दिन सोमबार सोही विमानस्थलमा जहाज दुर्घटनाबाट हुन जोगियो । जहाजमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ः १५ बजे अवतरणको क्रममा धावन मार्गको पूर्वी खण्ड विजयपुरपट्टि चरासँग ठोक्किन पुग्यो । गोमायु महाचिल नामक चरा जहाजको ठक्करबाट मर्‍यो । तर, मानवीय र भौतिक क्षति टर्‍यो ।

आन्तरिक उडान गरिरहेको यस अन्तर्राष्ट्रिय विमानस्थलमा चराचुरुंगीको विषय टाउको दुखाई बन्दै आएको छ । चराचुरुंगीले विमानस्थलको उडानलाई त प्रभाव पारेको छ नै, साथै लोप हुन लागेका चराचुरुंगी लोप हुने खतरा पनि त्यतिकै छ । विमानस्थलमा अहिले चरा थपाउन ‘बर्ड स्केयरिङ डिभाइस गन’ प्रयोग गरिएको छ ।

Advertisement

कर्मचारी खटाएर लखेट्ने गरिराखेका छौं । हामीसँग विभिन्न सिस्टम छन् । त्यसलाई चरा धपाउन प्रयोग गरिरहेका छौं ।
विक्रम गौतम
प्रमुख, पोखरा विमानस्थल

विमानस्थलका प्रमुख विक्रम गौतमले स्वाभाविक रुपमा चराचुरुंगी उडानका लागि टाउको दुखाई बनेको बताए । विमानस्थलवरिपरि चरा आउन नदिन कर्मचारीसमेत खटाइएको गौतमले सुनाए । ‘कर्मचारी खटाएर लखेट्ने काम त गरिराखेका छौं । हामीसँग विभिन्न सिस्टम छन् । त्यसलाई चरा धपाउन प्रयोग गरिरहेका छौं,’ गौतमले भने ।

Advertisement

चराचुरुंगी बासस्थान, खानेकुरा र वितरण भएको ठाउँमा हुने गरेको गौतम बताउँछन् । उनले भने, ‘चराचुरुंगी हुने भनेको ३ कारण हुन्छन्, एउटा कारण उसको बासस्थान हो, अर्काे खानेकुरा हो, अर्को भनेको वितरण, वितरणभित्र उनीहरुको सबै खालका कुरा पर्छ । उनीहरुले चल्ला कोरल्ने, भालेपोथीसँगै हिड्ने कुरा वितरणभित्र पर्छन् ।’

महानगरलाई विमानस्थलले चराको बासस्थान सार्नका लागि ल्यान्डफिल साइट सार्न भन्दै आएको थियो । तर, महानगरपालिकाले विमानस्थल सञ्चालन हुनुभन्दा केही दिनअघि मात्रै मात्र पोखरा ३२ लामोआहालमा अस्थायी ल्यान्डफिलको जोहो थियो ।

ल्यान्डफिल साइट र विजयपुर खोलाले गर्दा एयरपोर्ट एरियामा चराचुरुंगीको गतिविधि धेरै भएको विमानस्थल प्रमुख गौतम बताउँछन् । ‘उनीहरुको(चराचुरुंगी) खानेकुरा भनेको ल्यान्डफिल साइटको कुरा हो, सँगसँगै पानी भनेको विजयपुर खोला र सेती नदी दुवैको कुराले यहाँ गतिविधि बढी भएको हो,’ उनले भने ।

चराचुरुंगी धपाउन विमानस्थलमा ‘गन’ दैनिक ४०/५० पटक पड्काइन्छ । विमानस्थलभित्र दिनहुँ बन्दुक पड्केका आवाजले विमानस्थल नजिकका स्थानीयबासी हैरान छन् । शान्त घुम्ने चरालाई ठूलो स्वरले दिक्का बनाएपछि उनीहरु टाढा जाने विमानस्थल प्रमुख गौतमको दाबी छ । उनी भन्छन्, ‘एक किसिमले भन्दाखेरि उनीहरुले नराम्रो मान्ने, शान्त घुम्ने चिजलाई इरिटेट गर्दियो भने भाग्छन् त्यहाँबाट, त्यो एरियामा आउन उनीहरुलाई डिस्कम्पटेबल पार्ने खालको आवाज निकाल्ने काम भएका छन् ।’

यसलाई हटाउन बासस्थान र पानीका मुल हटाउने विमानस्थल प्रमुख गौतमले बताए । ‘उनीहरुको मुल कुरा भनेको खानेकुरा खाइसकेपछि पानी खाने कुरा हुन्छ, जुनसुकै जीवजन्तुको पनि हुन्छ, त्यसो भएर पानीलाई त हामीले केही गर्न सकेनौं तर पानी एभाइलेभल भएन भने र एयरपोर्टवरिपरि उसको वासस्थान भएन भने स्वाभाविक रुपमा एयरपोर्टमा चराचुरुंगीको गतिविधि घट्छ भन्नेचाहिँ हामी सबैको बुझाइ हो,’ उनले भने, ‘अहिले हाम्रोले त्यहाँका मुललाई हटाउने अनि त्यसपछि वरिपरि विभिन्न आवाज निकाल्ने, स्टोलिङ गर्ने कामहरु हामीले गरेका छौं ।’

चराचुरुंगी हटाउन महानगरले भूमिका खेल्नुपर्ने गौतमले सुनाए । ‘अब हामीले चराचुरुंगीका खानेकुरा हटाउन सक्यौं भने स्वाभाविक रुपमा यो समस्या हट्छ । त्यही भनेर यो महानगरपालिकाले हटाउनुपर्छ भन्ने हो,’ उनले भने ।

यो विमानस्थल चिनियाँ कम्पनी सिएएमसीले करिब २२ अर्बको लागतमा फोरडी मोडलको निर्माण गरेको हो । उक्त विमानस्थल जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । विमानस्थलमा अहिले सूर्याेदयदेखि सूर्यास्तसम्म आन्तरिक उडान हुँदै आएको छ ।

फेब्रुवरी २३ देखि विमानस्थलबाट रात्रिकालीन उडान हुने विमानस्थल प्रमुख गौतमले बताए । ‘रात्रिकालीन उडानका लागि सबै तयारी पूरा भएको छ, अहिले परीक्षण उडानमा छौं । छिट्टै नै रात्रिकालीन उडान पनि सुरु गछौं,’ उनले भने ।

नयाँ अग्रेजी वर्षको पहिलो दिनबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान भएको छैन ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया