मन्त्री पाए; जिम्मेवारी पाएनन्

रिखिराम जिसी २०७९ माघ ६ गते १०:३९

रिखिराम जिसी ,पोखरा ।
गण्डकी प्रदेशमा १२ मन्त्रालय छन् । मुख्यमन्त्रीसहित अहिले ४ सदस्यीय मन्त्रिपरिषद् छ तर सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीसँगै ३ जना मन्त्रीले सपथ लिएका थिए ।

पुस २५ गते विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका ३ वटै मन्त्रीले अहिलेसम्म पनि जिम्मेवारी पाएका छैनन् । गत पुस २५ गते विनाविभागीय मन्त्री सपथ लिएका सीता सुन्दास, हरिबहादुर चुमान र पञ्चराम गुरुङको ११ दिनसम्म पनि जिम्मेवारी नपाएका हुन् ।

मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिएका थिए । तर, केन्द्रबाट ठोस निर्देशन नआउँदा प्रदेशमा मन्त्रिपरिषद् विस्तार र विनाविभागीय मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । एमालेबाट मन्त्री बनेकी सुन्दास, माओवादी केन्द्रबाट मन्त्री बनेका चुमान र राप्रपाबाट मन्त्री बनेका गुरुङ विना विभागीय मन्त्री छन् ।

Advertisement

विनाविभागीय मन्त्री बनेका चुमान दोस्रो पटक प्रदेश सभा सदस्य बनेका हुन् भने सुन्दास र गुरुङ पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । जिम्मेवारी नपाएपछि विनाविभागीय मन्त्रीहरु अलमलमा छन् । ३ वटै मन्त्रीले क्याबिनेट बैठकमा सहभागी हुने बाहेकका काम गर्न पाएका छैनन् । उनीहरु जिम्मेवारी नपाउँदा काम गर्न नपाएको बताउँदै आएका छन् ।

जिम्मेवारी नपाउँदा जनताको ऋणमात्रै बोक्ने काम भएको मन्त्री पञ्चराम गुरुङले बताए । ‘खासै त्यस्तो कामचाहिँ हाम्रो भएको छैन । जनताले हामीलाई भोट दिए, फेरि तिनै जनताले खादा पनि लगाइदिए । जनताको ऋण बोकेर हिडेका छौं,’ उनले भने, ‘हामी जनताको काम गर्छु भनेर आएको । अहिले काम गर्ने समयमा पनि फेरि जनताको ऋण बोकेर हिडेका छौं ।’

Advertisement

मन्त्री पद पाए पनि अहिलेसम्म काम गर्ने मौका नपाएको गुरुङले बताए । ‘मन्त्री भन्ने एउटा पदचाहिँ पाएको छु । काम गर्ने मौकाचाहिँ पाएको छैन । विभाग नै नतोकिएको कारणले काम गर्ने मौका नपाएको हो,’ उनले भने ।
केन्द्रको निर्देशन अनुसार जुन जिम्मेवारी दिए पनि आफूले लिने गुरुङले सुनाए । उनले भने, ‘केन्द्रको निर्देशन अनुसार हुन्छ । केन्द्रले जे जिम्मेवारी दिन्छ, त्यही अनुसार यहाँका मुख्यमन्त्रीले हामीलाई जिम्मेवारी दिनुहुन्छ होला । जुन दिनुहुन्छ; त्यही अनुसार काम गर्छु ।’

जिम्मेवारी नपाए पनि सरकारले गर्ने कार्यक्रममा सहभागी भूमिका निर्वाह गरेको मन्त्री हरिबहादुर चुमानले बताए । ‘हामीले मन्त्रीको सपथ लिएपछि सभामुख, उपसभामुखको निर्वाचनमा प्रक्रियामा लाग्यौं, अहिले मन्त्रालय घटाउने विषयमा छलफल भइरहेको छ, यसरी नै दिन बितेका छन्,’ उनले भने ।

जिम्मेवारी पाउने कुरामा छलफल भइरहेको मन्त्री चुमानले सुनाए । ‘मन्त्रालय कति हुने, कसरी हुने भन्ने कुरा फाइनल गर्न पाए सजिलो हुन्थ्यो भन्नेमा छौं,’ उनले भने, ‘छिट्टै टुंग्याएर गर्दा राम्रो हुन्छ । छलफल गरिरहेका छौं । निष्कर्षमा पुगिसकेका छैनौं ।’

मन्त्रिपरिषद् बैठकमा सहभागी हुने र मतदातासँग भेटघाट भइरहेको विना विभागीय मन्त्री सीता सुन्दासले बताइन् । उनले भनिन्, ‘बैठक हुँदा बैठकमै छम् । नत्र भने जिल्लातिर मतदातालाई भेटघाट गर्ने काम त छदैँछ । त्यस कारणले गर्दा हाम्रा दैनिक काम चलिराखेकै छ ।’

विना विभागीय मन्त्रीले क्वाटर पाएका छैनन् । उनीहरुले मन्त्रीको जिम्मेवारी पाएपछि क्वाटर पाउनेछन् । ‘मन्त्री क्वाटर पाएको छैन । जुन मन्त्रालय हो त्यही अनुसारको क्वाटर दिने भन्ने व्यवस्था हुदो रैछ । त्यो व्यवस्थापन हुँदै छ,’ सरकारी प्रवक्तासमेत रहेकी सुन्दासले भनिन् ।

आफूले राम्रै मन्त्रालय पाउनेमा सुन्दास आशावादी छिन् । उनी भन्छिन्, ‘राम्रै मन्त्रालय भएदेखि त विकास, निर्माणका कामदेखि सबै काम गर्न सहज हुन्थ्यो भन्ने स्वभाविक हो । भोलि हाम्रो पार्टीको भागमा कुन कुन मन्त्रालय पर्छन् । त्यसपछि मैले राम्रै मन्त्रालय पाउँछु भन्नेमा छ मलाईचाहिँ ।’

६० सदस्यीय गण्डकी प्रदेश सभामा सविधान अनुसार मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रीमण्डल बनाउन मिल्छ । तर, प्रदेश सरकार मन्त्रालय घटाएर जाने तयारीमा देखिन्छ । विनाविभागीय मन्त्री रहेका चुमान सरकार मन्त्रीमण्डल घटाउने तयारीमा रहेको बताउँछन् । ‘हामी सानो मन्त्रीमण्डल बनाउने गरी अगाडि बढेका छौं, छलफल भइरहेको छ,’ उनले भने ।

एक, दुई दिनमा प्रदेश मन्त्रिपरिषद विस्तार हुने सरकारका प्रवक्ता सुन्दासले बताइन् । ‘हामी छलफल गरिरहेका छौं, एक, दुई दिनमा मन्त्रिपरिषद् विस्तार र विना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान हुन्छ,’ उनले भनिन्, ‘विश्वासको मत लिने, सभामुख, उपसभामुख चुन्ने काम सकियो । अब मन्त्रिपरिषद विस्तार गर्ने, मन्त्रीलाई जिम्मेवारी प्रदान गर्ने भन्ने छ । माघ ९ गतेदेखि संसद सुचारु गर्ने भन्ने छ ।’ गण्डकीमा एमाले, माओवादी र राप्रपा गठबन्धनको सरकार बनेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले छिट्टै नै मन्त्रिपरिषद बैठक विस्तार हुने समाधानलाई बताए । ‘मन्त्रिपरिषद् विस्तार छिट्टै नै हुन्छ, तपाईले थाहा पाइहाल्नु हुन्छ,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया