बेनी जोमसोम कोरला सडक: अल्टिमेटमपछि धमाधम काम

समाधान संवाददाता २०७९ माघ २५ गते १०:५१

जाेमसाेम ।

बेनी जोमसोम कोरला सडक आयोजनाको अल्टिमेटमपछि मुस्ताङको जोमसोम बजारमा ६ महिनादेखि अलपत्र सडक स्तरोन्नतिको काम सुरु भएको छ । यहाँ निर्माण कम्पनी सम्पर्कविहीन हुँदा सडक निर्माणको काम गत असारदेखि अलपत्र थियो ।

सडक तथा पुल पुलेसा र पुलतर्फ ठेक्का सम्झौता गरी कामबीचैमा अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई काममा फर्किन आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरी आह्वान गरेको ३ सातापछि जोमसोम बजारमा अलपत्र सडकको काम फेरि सुरु गरिएको हो ।

Advertisement

आयोजनाले तोकेको समयसीमाभित्र अटेर गरी काममा नफर्किने निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने चेतावनी दिएको थियो ।

चेतावनीपछि राष्ट्रिय गौरवको सडक अन्तर्गत कोवाङ जोमसोम १६ किमी कालोपत्र सडक र चराङ छोसेर ग्राभेल सडक स्तरोन्नतिको जिम्मा लिएको जोइन कम्पनी गोरी पार्वती काममा फर्किएको छ ।

Advertisement

मुस्ताङ सदरमुकाम जोमसोमको १६ सय मिटर सडकको काम भदौदेखि अलपत्र परेको थियो । सडक अलपत्र पर्दा जोमसोम बजारक्षेत्रका पर्यटन व्यवसायी तथा सवारी आवामगनमा निकै समस्या थियो ।

सुरुवाती ३ वटा ज्वाइन कम्पनीको ठेक्का सम्झौता रहेको अलपत्र सडकको काम सम्पन्न गर्न गौरी पार्वती जेभी फिल्ममा परिचालन भइसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।

बेनी जोमसोम चौथो खण्ड १६ किमी र जोमसोम कोरला छैटौ खण्ड चराङ छोसेर २५ किमी सडकको काम पप्पु गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । कोवाङ जोमसोम १६ किमी अस्फाल्ट कालोपत्र २०७४ साल जेठ ९ गते र चराङ–छोसेर २५ किमी खण्ड २०७३ साल असार ३० गते ठेक्का सम्झौता भएको थियो ।

जस अन्तर्गत कोवाङ–जोमसोम सडकको लागत ९९ करोड ६२ करोड र चराङ–छोसेर सडकको लागत ५८ करोडमा २६ करोडमा ठेक्का सम्झौता भएको थियो । सुरुवाती चरणमा ३ ज्वाइन कम्पनीले एउटै फर्ममा ठेक्का सम्झौता गरे पनि त्यसमध्येको कोशी एन्ड न्यौपानेले एक्लैले सडक स्तरोन्नतिको कामअघि बढाएको थियो ।

तर, कोशी एनड न्यौपानेले काम गर्न नसकेपछि सप्तकोशी जलाधार निर्माण कन्ट्रक्सनका प्रतिनिधि भाबेस बोहोरालाई काम गर्ने अख्तियारी दिएको थियो । भाबेस पनि गत आर्थिक वर्षको असारदेखि काम छोडेर सम्पर्कविहीन बने ।

पप्पुको फर्ममा मात्र नाममा सीमित थियो भने गौरी पार्वतीलाई काममा समावेश गरिएको थिएन । कोशी एन्ड न्यौपाने चरण आर्थिक भारमा परेपछि काम गर्न सकेन । उसले जिम्मा लिएको काम दोस्रो प्रतिनिधि भाबेस बोहोरा पनि बैंकको ऋणका कारण सम्पर्कविहीन बने ।

सरकारले सार्वजनिक खरिद नियमावलीको बाह्रौ संशोधन अनुसार चालु आवको असार मसान्तसम्ममा काम सक्न अनिवार्य गरायो । खरिद नियमावली र आयोजनाको अल्टिमेटमपछि गौरी पार्वती काममा फर्किएको आयोजना प्रमुख प्रजापतीको भनाइ छ ।

साविकको कोशी एन्ड न्यौपाने सम्पर्कविहीन रहेको र बैंकमा ऋण रहेकाले नै कोशी एन्ड न्यौपानेको ऋण क्लेम गर्न उक्त जेभीको गौरी पार्वतीलाई निर्माणको काम गर्न बैंकले हस्तक्षेप गरेको हो ।

पप्पु गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभी फर्मको नाममा कोवाङ जोमसोम ठेक्काको ६२ करोडमध्ये ४८ लाख र चराङ–छोसेर ठेक्काको २६ करोडमध्ये २२ करोड रकम भुक्तानी भइसकेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।

कोवाङ जोमसोमको भौतिक प्रगति ७० र चराङ छोसेर सडकको भौतिक प्रगति ८५ प्रतिशत छ । आयोजना प्रमुख प्रजापतीले कोवाङ जोमसोम १६ किमी सडकमध्ये ५ किमी कालोपत्र भइसकेको जनाए ।

कोवाङ जोमसोम र चराङ छोसेर सडकको अलपत्र काम सम्पन्न गर्ने जिम्मा गौरी पार्वतीले लिएको निर्माण कम्पनीका प्रतिनिधि कमल भण्डारीले जानकारी दिए । ‘हामी मुस्ताङसहित अन्य स्थानमा पनि काम गरिहेका छौं,’ भण्डारीले भने, ‘उनीहरुले काम अलपत्र छोडेँपनि कालो सूचीबाट हाम्रो कम्पनी जोगाउन नैतिक जिम्मेवारी लियौं ।

अब काम नसकिकन यहाँबाट फर्किदैनौं ।’ उनले चिसो अझै रहेको र केही उपकरणले काम सुरु गरेको जनाए । फागुनको पहिलो हप्ताबाट मजदूर र उपकरण परिचालन गरी कालोपत्र, सडक ढलान र अन्य काम तीव्र गतिमा हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया