बगर बदलेर स्याउ बगैंचा

सुन्दरकुमार थकाली २०७९ चैत ४ गते ९:१२

सुन्दरकुमार थकाली
जोमसोम ।

नीलगिरि हिमालको फेदैमा दौडिने ढुम्बा खोलाको किनार अब फगत किनार रहेन । यहाँका किसानले तटबन्ध गरी बगरलाई खेतीयोग्य बनाएका छन् । गाउँले र दुर्गमका बासिन्दा सहर, बजारतिर पलायन हुँदै गर्दा यहाँका बासिन्दाले भने आर्थिक उपार्जनको सिर्जनात्मक बाटो खोजेका छन् ।

पछिल्लो समय मुस्ताङमा खेर गएका बाँझो जग्गा र खोला, नदी किनाराको छेउमा तटबन्ध निर्माण गरी स्याउ खेती गर्ने चलन बढेको छ । कतिपयले आफ्नै जग्गा र कतिपयले उपयोगमा नरहेका पर्ति जग्गामा सामूहिक र व्यक्तिगत रुपमा स्याउ खेती थालेका छन् ।

सडक यातायातको पहुँच र पर्यटकीय गतिविधि वृद्धि भएसँगै मुस्ताङको स्याउले प्राथमिकता पाएको छ । स्याउबाट मनग्गे आम्दानी हुने र स्याउ बजारीकरण सहज भइसकेकाले यहाँका कृषक स्याउ खेतीतर्फ आर्कषित छन् । मुस्ताङमा उत्पादित स्याउ कृषकको बगैचाबाटै बिक्री हुन्छन् । केहीले फुटकर रुपमा मुस्ताङमै पनि बेच्छन् ।

Advertisement

जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा नकारात्मक प्रभाव परिरहेका बेलास्याउ खेती विस्तारले वातावरण र जैविक विविधता जोगाउन योगदान हुने अपेक्षासमेत गरिएको छ । मुस्ताङको वारागुङ, लोघेकर, लोमान्थाङ, घरपझोङ र थासाङ गाउँपालिकामा कृषक, समूह, सहकारी र फर्महरुले स्याउ खेती विस्तार गर्न थालेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बाको ठाँडो बग्ने ढुम्बा खोलामा गत वर्षदेखि स्याउ खेती सुरु गरिएको छ । ढुम्बा गाउँमा ४१ घरधुरी छन् । २०६८ सालतिर त्यहाको गाउँ समाजले खोलाको बगरे जग्गालाई समान रुपमा भाग लगाएर खेती थालेको हो । त्यहाँ ४१ घरधुरीको करिब सय रोपनीमा खेती गरेका छन् ।

Advertisement

गत वर्ष त्यहाँ रहेको करिब सय रोपनी जग्गामध्ये आधाजसो जग्गामा इटालीबाट आयात गरिएका करिब ५ हजार उच्च घनत्व प्रविधिमा आधारित स्याउ र करिब ५ सय हाराहारीमा रैथाने जातका स्याउका बिरुवा लगाएको ढुम्बा गाउँका स्थानीय अगुवा ढिन्डुक गुरुङले जानकारी दिए ।

ढुम्बा खोला बगरमा कतिपयले स्याउ लगाउन बाँकी छ । उनीहरुले बगरको जग्गालाई खेतजोत गरी सम्याएर बिरुवा लगाउन तयारी गरेको स्थानीय अगुवा गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेशको स्याउ अनुदान कार्यक्रम र प्रधानमन्त्री परियोजना कार्यान्वयन इकाइ मुस्ताङको अनुदानमा ढुम्बा स्थानीय कृषकलाई ७५ प्रतिशत अनुदान सहुलियतमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराइएको थियो ।

स्याउका बिरुवामा अनुदानमा पाएपछि स्थानीय कृषक उच्च घनत्वको स्याउ लगाउन प्रेरित भएका हुन् । यसअघि ढुम्बाका स्थानीयले खेर गएको जमिन आफैंले खर्च गरी स्याउ बगैचाको मोडल तयार गरेको ढुम्बा गाउँ समाजका सचिव छिरिङ वाङ्दी गुरुङले जानकारी दिए ।

‘हामीले खोलाको जोखिम मोलेर खेर गएको बाँझो जग्गालाई प्रयोगमा ल्याउन थालेका हौं,’ गाउँ समाजका सचिव गुरुङले भने, ‘यसले कृषकलाई फाइदा पुग्ने र वातावरणीय क्षेत्रमा समेत योगदान पुग्ने विश्वास गरेका छौं ।’

अहिले त्यहाँ छिटो, छरितो र गुणस्तरीय उत्पादन दि नसक्ने उच्च घनत्व प्रविधिको स्याउ खेत गरिएको छ । बिरुवा लगाइएको दोश्रो वर्षमै फल दिन सक्ने उच्च घनत्वको स्याउको १ विरुवाले २÷४ वर्षपछि ३० केजीसम्म उत्पादन दिन्छ ।
मुस्ताङको ढुम्बामा खोलाको बगरमा स्याउ खेती गर्दै गाउँले ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया