पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

सुन्दरकुमार थकाली २०७९ चैत ९ गते १०:२९

जोमसोम ।
कोरला नाका र उपल्लो मुस्ताङ जोड्ने राष्ट्रिय गौरवको कागबेनीको पक्की पुल निर्माण अन्तिम चरणमा छ । अन्तिम चरणमा भएको पुल निर्माण चाडै सकेर हस्तान्तरण गर्नुपर्नेमा निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन छन् । वारागुङ मुक्तिक्षेत्र ४ मा रहेको मुक्तिनाथबाट बग्ने कागबेनी खोलामा पक्की पुलको ठेक्का सम्झौता भएको ७ वर्ष भयो ।

पुलको काम छाडेर निर्माण कम्पनीका प्रतिनिधि ३ वर्षदेखि सम्पर्कविहीन छन् । यो पुलको जोमसोम कोरला राष्ट्रिय राजमार्गको आयोजना सुरु भएको १ वर्षअघि ठेक्का सम्झौता भएको थियो । २०७३ असार ३० गते डिभिजन सडक कार्यालय बागलुङले २ करोड ८८ लाख ५१ हजारमा पुल ठेक्कामा लगाएको हो ।

यसको १ वर्षपछि जोमसोम कोरला सडक स्तरोन्नति थालिएको थियो । आयोजना सुरु भएपछि डिभिजन सडक कार्यालयले यो पुल गौरवको सडकलाई हस्तान्तरण गरेको हो । कागबेनी खोलामा निर्माणाधीन पक्की पुलको लम्बाइ २५ मिटर र रेलिङ र फुटपाथसहित ११ मिटर चौडाइ छ । पुल बनाउने जिम्मा गाल्वा एन्ड रफिना जेभीले पाएको हो ।

Advertisement

पुलको उत्तर दक्षिण दुइ वटा ¥याप फान्डेसन ढलान र १ स्पान छ । यी सबै काम पुरा गरी निर्माण कम्पनीले पुलमाथि आरसिसी स्लाब ढलानसमेत गरिसकेको छ । तर, काम अन्तिम चरणमा पुगेपछि ३ वर्षदेखि काम छाडेर गल्फा एन्ड रफिनाका प्रतिनिधि सम्पर्कविहीन छन् । त्यसपछि ठेकेदार कम्पनीका प्रतिनिधि रविन जोशी न सम्पर्कमा आएका छन्, न त पुलको कामअघि बढेको छ ।

१० प्रतिशत काम बाँकी रहेको कोरला नाका र उपल्लो मुस्ताङ जोड्ने कागबेनी पक्की पुल ३ वर्षदेखि अलपत्र

Advertisement

पुलको सुरुवाती ठेक्का सम्झौतामा १८ महिना म्याद थियो । यसको म्याद पटक पटक थप गरिएको छ । कागबेनी पुलको भौतिक प्रगति ९० प्रतिशत छ । पुलको दुबैतर्फ २०/२० मिटरको एप्रोज रोड विस्तार, रेलिङ हाल्ने लगायतका काम बाँकी रहेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनले आयोजनाको तर्फबाट निर्माण कम्पनीका प्रतिनिधिलाई पटक पटक काममा फर्किन आग्रह गराए पनि नफर्किएको बताए ।

‘एक महिनाअघि आयोजनाको तर्फबाट म र वारागुङ गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेलले काठमाडौंमा भेटेका थियौं,’ आयोजना प्रमुख प्रजापतीले भने, ‘काम गर्ने गर्ने भन्ने आश्वासन दिएका थिए । तर अझै काममा फर्किएका छैनन् ।’ उनले भेटमा गाल्वाका प्रतिनिधि ठेकेदार रविन जोशीले स्थानीय स्तरमा आफ्नो व्यक्तिगत समस्या परेकाले काम गर्न नसकेको बताएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।

सरकारले सार्वजनिक खरिद नियमावली १२ औं संशोधन बमोजिम यही असार मसान्तसम्म निर्माणाधीन काम सम्पन्न गर्न समयसीमा तोकेको छ । यद्यपि मुस्ताङमा धमाधम विकास निर्माणको कामले तीव्रता पाउँदा कागबेनी पुल अधकल्चो छ ।

पुल निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार रविन जोशीसँग पुलको बिषयमा जानकारी लिन अनेक पटक प्रयास गर्दा पनि सम्पर्क भएन । चालु वर्षको पुस महिनामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक विभागले आयोजनामा ढिलासुस्ती भइरहेका ७ वटा निर्माण कम्पनीलाई काममा फर्किन ७ दिने अल्टिमेटम दिएको थियो । तर, विभागले दिएको अल्टिमेटमको समेत बेवास्ता गर्दै निर्माण कम्पनीका प्रतिनिधि जोशी काममा फर्किएका छैनन् ।

राष्ट्रिय गौरवको निर्माणाधीन कागबेनी पक्की पुल बेलैमा नबन्दा उपल्लो मुस्ताङ जाने सवारी साधन बर्खा याममा आउजाउमा निकै समस्या झेल्नुपर्छ । पुल निर्माण भएमा यो पुल हुँदै उपल्लो मुस्ताङ जान बाह्रै महिना सहज हुने लोमान्थाङका स्थानीय टसी आङ्ग्या गुरुङ बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया