मुस्ताङ कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

सुन्दरकुमार थकाली २०७९ चैत १२ गते १७:११

जोमसोम ।
मुस्ताङ जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदी/बन्दी साँघुरो दुई कोठे भवनमा गुम्सिएर बस्नुपर्ने बाध्यता छ । ढुंगा माटोले निर्मित कच्ची कारागार भवनको साँघुरो कोठामा अहिले १९ जना पुरुष कैदी/बन्दी असहज रुपमा बस्न बाध्य छन् ।

मुस्ताङ जिल्ला कारागार २०३७ सालमा स्थापना भएको हो । त्यसअघि मुस्ताङ जिल्ला कारागार भवनमा सीमा प्रशासन कार्यालय थियो । कारागार भवनमा ९ वटा कोठा छन् । त्यहाँ कैदी/बन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारी बस्ने गर्छन् । पछिल्लो समय कारागारका कर्मचारी बस्ने बेग्लै जस्ताले छाईएको दुई कोठे भवन छ ।

२०७८ साल साउन महिनामा जीर्ण मुस्ताङ कारागारमा वर्षाका कारण आशिंक क्षति भएको थियो । भवन संरचना भत्किएपछि त्यहाँ रहेका कैदी,बन्दी र कर्मचारीलाई बस्न अप्ठ्यारो परेको थियो । भौगोलिक रुपले विकट हिमाली जिल्ला मुस्ताङ जिल्लाको कारागारको भौतिक संरचनाको कमी रहेको कारागारका जेलर भगवानलाल साहले जानकारी दिए ।

Advertisement

उनले मुस्ताङ जिल्ला कारागारमा पूर्वाधारको कमीले गर्दा कैदी/बन्दीलाई भवनबाट बाहिर निकाल्न गाह्रो परेको बताए । उनले मुस्ताङ कारागारमा कैदी/बन्दीका लागि महिला/पुरुषसहित ५० जना अट्न सक्ने क्षमताको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको औंल्याए ।

पछिल्ला समय बर्सेनि मुस्ताङ कारागारमा कैदी/बन्दीको संख्या वृद्धि हुँदै जान थालेको छ । सडक यातायातको सहजतासंगै विगतको तुलानामा मुस्ताङमा जनघनत्व समेत बढ्दै जान थालेका अपराधिक घटनाहरु बढ्न थालेको हो ।

Advertisement

पर्यटकीय जिल्ला भएको यहाँ कामदारको रुपमा अस्थायी बसोबास गर्नेको संख्या बढेकाले थुनुवा संख्याको अनुपात पनि बढ्न गएको हो । झन्डै ४२ वर्ष पुगिसक्दा समेत मुस्ताङ कारागारको भौतिक संरचना अपेक्षा गरेअनुसार सुधार हुन नसकेको हो । कारागारको भौतिक संरचना कमजोर हुँदा त्यहाँ रहेका कैदी/बन्दी थुनुवा २४ सै घण्टा भवन भित्रै गुम्सिएर बस्न बाध्य छन् ।

अहिले मुस्ताङ कारागारको दुई वटा कोठामा कोचाकोच कैदी/बन्दी राखिएको छ ।त्यहाँ बस्ने कैदी/बन्दीलाई टिभि हेर्न र घरपरिवारमा फोन गर्न पाउँने व्यवस्था गरिएको छ ।

यथेष्ठ पूर्वाधार नहुँदा कारागारका कैन्दी–बन्दीले सीममूलक आर्यआर्जनका काम गर्न पाउँने अवसर उपलब्ध छैन । उनीहरुले अर्को फाईबर जस्ताले छाईएको दुई कोठे भवनमा घाम ताप्न पाउँने व्यवस्था मिलाईएको छ । साँघुरो कोठाभित्रै असहज रुपमा बस्न परेको कारागारका कैदी/बन्दीको गुनासो छ । मुस्ताङ कारागारको दुई कोठे भवनमा बढीमा १० जना भन्दा बढी कैदी/बन्दी मात्र अटाउँछ ।

मुस्ताङ कारागारको ६ रोपनी जग्गा छ । भवन भित्र शौचालय उपलब्ध छैन । सुरक्षा, कर्मचारी र कैदी/बन्दीका लागि कम्पाण्डभित्र शौचालय छ । त्यो शौचालय पनि जीर्ण हुँदै गईरहेको छ । चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले कारागार भवनको छानो छाउन जस्ता बिच्छ्याउन ८ लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

कारागारका अनुसार कैदी/बन्दीका लागि करिव १३ फिट अग्लो कल्सटिनासहितको पर्खाल निर्माण गर्न आवश्यक रहेको बताएको छ । मुस्ताङ कारागारमा बर्सेनी थुनुवाको संख्या वृद्धि हुन थालेपनि कारागार व्यवस्थापन विभाग र अर्थ मन्त्रालयले कारागार सुरक्षा मापदण्ड अनुसार सुधारका लागि कुनै चाँसो दिएको पाईदैन ।

मुस्ताङ कारागारमा जेलरसहित ९ जनाको दरबन्दी छ । जसमा नासु १,खरदार १, सहायक कम्प्युटर अपरेटर,अहेब १,सहलेखा पाल १ र कार्यालयसहयोगी ४ जनाको दरबन्दी छ । तर ,हाल कारागारमा एक जना जेलरसहित सहलेखापाल,करार भर्ना भएका कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगी मात्रै छन् । यसैगरी कारागार सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक(असई)को कमाण्डमा २० जनाको दरबन्दी रहेपनि हाल १२ जना सुरक्षाकर्मी बस्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया