पर्यटन व्यवसायी भन्छन—ऋणले निद्राको औषधी खानुपर्ने बनायो

समाधान संवाददाता २०७९ चैत १६ गते २१:२३

—बैंक ऋण पुनर्तालिकीकरण गर्नुपर्ने
— ब्याजदर एक अंकमा झार्नुपर्ने
— सहुलियतको ऋण दिनुपर्ने

पोखरा ।

बैंक किस्ता र ब्याजले सताइरहे पनि सरकारले कुनै पहलकदमी नगरेको भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । कर्जा चैत मसान्तसम्म दायित्व मिलान गर्नुपर्ने अवस्था रहे पनि तिर्न नसक्ने स्थिति रहेको उनीहरुले बताएका छन् ।
सरकार र राष्ट्र बैंकले एक अंकको ब्याज कायम नगरेको र कर्जाको भुक्तानीमा पुनर्तालिकीकरण गर्नुपर्ने उनीहरुका माग छ । यसो नभए सशक्त आन्दोलन गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।


‘कोरोनाले तन्नम पारेको पर्यटन क्षेत्रमा बैंक ब्याजदर एक अंकको बनाउने र कर्जाको भुक्तानी तालिका असार मसान्तसम्म पुनर्तालिकीकरण गर्नुपर्ने हाम्रो माग हो,’ श्रेष्ठले भने । अघिल्लो वर्ष सरकारले ल्याएका कार्यक्रम पुनर्कर्जा कोष, पुनर्तालिकीकरण र व्यवसाय जीवन रक्षा कोष जस्ता सुविधाहरुको समय ३ वर्ष पु¥याउनुपर्ने व्यवसायीहरुको माग छ ।

Advertisement


व्यवसायीलाई प्रदान गरेको अतिरिक्त कर्जा बैंकहरुले मिलान गर्न ताकेता गरेपनि १ वर्ष बढाइनुपर्ने अध्यक्ष श्रेष्ठले माग गरे । ‘जुन उत्साहले मार्चसम्म पर्यटक वृद्धि हुन्छ भन्ने आश थियो त्यो भएन,’ श्रेष्ठले भने, ‘बैंकको साँवाब्याज तिर्दैनौं भनेका छैनौं । पुनर्तालीकरण गरिनुपर्छ भन्ने हाम्रो माग हो । समय दिनुप¥यो भन्ने हो ।’


नाट्टाका अध्यक्ष हरिराम अधिकारीले व्यवसायीलाई सरकारले दुख पर्दा हेरे अर्थतन्त्र पनि चलायमान हुने सुनाए । व्यवसायीले बैंकको ब्याज भाडा र बत्ती, पानीको बिल पनि तिर्न नसक्दा राति निदाउन औषधी खानुपर्ने अवस्था रहेको उनले बताए ।
बैंकले ७ प्रतिशतबाट ब्याजदर बढाएर १४÷१५ प्रतिशत पु¥याएको व्यवसायीहरुले बताए । समृद्धिको आधार पर्यटन भने पनि सहुलियतको ऋण नपाएको पर्यटनकर्मी कृष्ण भण्डारीले बताए । अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा हुने भनेर उत्साहित भई लगानी गरे पनि अहिलेको अप्ठेरो परिस्थितिमा अभिभावकत्व दिन कसैले नसकेको उनले सुनाए ।

Advertisement


पोखरा आउने पृथ्वी हाइवेको पुनर्निर्माणको काम चलिरहेकाले पनि पोखराको पर्यटन झनझन खस्किँदै गएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए । ‘प्लेनमा आउँदा दुर्घटनाले तर्साएको छ । हाइवेबाट आउँदा मुग्लिनबाट पोखरा आउँदा ५÷७ घन्टा लाग्ने भएपछि पर्यटक ह्वात्तै घटे,’ सिग्देलले भने ।


हानका अध्यक्ष लक्षमण सुवेदीले अकुपेन्सी पनि १५÷२० प्रतिशतभन्दा माथि नपुगेको सुनाए । ‘व्यवसाय सञ्चालन गरेर पानी, बत्तीको पनि बिल तिर्न सकेको छैन । भाडाको कुरा त पर कसरी ब्याज तिर्न सकिन्छ,’ अध्यक्ष सुवेदीले भने । पर्यटक नआउँदा पोखरा आउने पर्यटकलाई ५ सय रुपैयाँको प्याकेजमै खाना र बस्न दिएको उनले सुनाए । ‘पाँच हजारको कोठालाई २ हजारमा दिइयो अहिले त ५ सयमा प्याकेज नै दिनुपर्ने अवस्था आएको छ,’ उनले भने ।


पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि राम कँडेलले अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रलाई सरकारले हेरे भोलि व्यवसायीले हेर्ने बताए ।

तपाईको प्रतिक्रिया