सावित्रा र करण उत्कृष्ट खेलाडी

समाधान संवाददाता २०८० वैशाख २४ गते १०:२२

पोखरा ।
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्डमा वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषमा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापामगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर उत्कृष्ट ३ मा परेका थिए ।

उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सर्वाेत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा थिए । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङले बाजी मारे । यो विधामा गुरुङसँगै लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए ।

Advertisement

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला विजेताले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजारका साथमा ट्रफी जिते । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकालाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई सम्मान गरियो । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघलाई प्रदान गरियो ।

Advertisement

वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले पाए । वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेताले जनही नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी पाएका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, सांसद सरस्वती गुरुङ लगायतले अवार्ड हस्तान्तरण गरे ।

अवार्ड वितरण गर्न मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति बनाइएको थियो । समिति सदस्यमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, मञ्चका सदस्यहरु सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपाली थिए । उत्कृष्ट खेल पत्रकार छनोट समिति संयोजकमा मञ्चका पूर्व सल्लाहकार सन्देश श्रेष्ठ थिए ।

यो समितिका सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मञ्चका पूर्व अध्यक्ष केशव पाठक, मञ्चका सदस्य उमेश पुन सदस्य थिए । दुवै समितिका पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको छ ।

पोखरा सभागृह हलमा भएको कार्यक्रममा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति गरियो । भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडी, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रका प्रस्तुति र खेलाडहरुका डेमोस्ट्रेसनमा दर्शक रमाए ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्युस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेका थिए ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले बोलका थिए ।

मञ्चले २०७२ देखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया