गीतकार खरेललाई २ लाखको संगीत पुरस्कार

समाधान संवाददाता २०८० वैशाख २४ गते १०:४३

पोखरा ।
गीतकार किरण खरेललाई ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ बाट प्रदान गरिएको छ । नेपाली राष्ट्रियगानका संगीतकार अम्बर गुरुङको नाममा स्थापना भएको अक्षयकोषबाट सञ्चालित पुरस्कार खरेललाई प्रदान गरिएको हो ।

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसा)ले स्थापना गरेको उक्त पुरस्कार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार खरेललाई हस्तान्तरण गरे । सगीतकार गुरुङको योगदानको चिरस्थायी गराउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय संगीत कोष स्थापना गरको छ । पहिलोपटक शनिबार खरेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पोयुसा संस्थापकमध्येका एक विक्रम गुरुङको नेतृत्वमा केही वर्षअघि हङकङमा आयोजित कार्यक्रमको बचतबाट अक्षयकोष स्थापना गरिएको हो । हङकङको कार्यक्रमबाट ५ लाख रुपैयाँ संकलन भएको थियो । कोषमा अहिले १८ लाख रुपैयाँ छ ।

Advertisement

पुरस्कार प्रत्येक २ वर्षमा वितरण गर्ने पोयुसाको योजना छ ।

खरेलले लेखेको ए दूरका सितारा नेपाली आधुनिक गीतको प्रस्थान बिन्दु

Advertisement

७ दशकदेखि संगीत र समग्र वाङमयमा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खरेललाई २ लाख नगद र ताम्रपत्रले सम्मान गरिएको हो । परिवारका अध्यक्ष उपेन्द्र पौडेलले ८५ वर्षको उमेरमा खरेललाई सम्मान गर्न पाउँदा पुरस्कार आफैैं सम्मानित भएको बताए ।

‘पोखराले चैत ४ गते कार्टुनिस्ट दुर्गा बराललाई सम्मानित गर्‍यो र पोखरा आफै सम्मानित भयो । आज फेरि पोखराले किरण खरेललाई अम्बर गुरुङ पुरस्कार अर्पण गरेको छ । पोखरा फेरि सम्मानित भएको छ,’ पौडेलले भने, ‘पोखराको कला चेत, पोखराको साहित्य चेतको सम्मान पनि हो ।’

‘काठमाडौंले कार्यक्रम गर्दा काठमाडौंले मात्र गर्‍यो भनिन्छ । तर, पोखराले सम्मानित गर्दा देश नै पुरस्कृत भएको छ,’ उनले भने, ‘लामो समयदेखि हाम्रो सपना थियो । अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्ने । त्यो सपना पूरा भएको छ ।’

२०१४ सालमा पहिलोपटक खरेलले ‘ए दूरका सितारा’ रचेका थिए । १९ वर्षको उमेरमा लेखिएको त्यो गीन नेपाली आधुनिक गीतको प्रस्थान बिन्दु भएको कवि तीर्थ श्रेष्ठले बताए । उनले खरेललाई नेपाली आधुनिक गीत रचनाका माइलस्टोनको संज्ञा दिए । ‘त्यो गीत नेपाली आधुनिक गीतको प्रस्थान बिन्दु भनौं या माइलस्टोन भनौं,’ उनले भने ।

श्रेष्ठले अम्बर गुरुङसँग पनि आफूले काम गर्ने अवसर पाएको बताए । उनले गुरुङलाई गीति क्षेत्रका त्रिवेणीको उपमा दिए ।

‘अम्बर दाइ गीतकार, संगीतकार र गायक पनि हुनुहुन्थ्यो । त्रिवेणीका रुपमा क्षमता भएको व्यक्ति हो उहाँ,’ कवि श्रेष्ठले भने ।

अम्बर गुरुङको नाममा राखिएको यो पुरस्कारले आउने पुस्ताहरुलाई ठूलो प्रेरणा पुग्ने श्रेष्ठको भनाइ थियो ।

नेपाली फिल्म ‘माइतीघर’ को ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर…’ चर्चित गीतका लेखक खरेलले करिब ७ सय गीत लेखेका छन् । विसं १९९५ सालमा काभ्रे खरेलथोकमा जन्मिएका खरेलका ४ गीतिसंग्रह प्रकाशित छन् । शनिबार नै ‘ए दूरका सितारा’ शीर्षक गीत संग्रह विमोचनसमेत गरिएको थियो ।

उक्त पुरस्कारको प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले नेपाली गीतसंगीत क्षेत्रका सदावहार खरेलले नै परम्परागत गीति लेखनको मानक भत्काएको बताए । नेपाली गीतमा आधुनिकताको प्रयोगको सुरुआत खरेलबाट सुरु भएको सुनाए ।

‘नेपाली संगीत, वाङ्मय, गीत लेखन संगीत र वाद्यवादन यो विभिन्न विधामा देशभित्र रहेर वा देश बाहिर रहेर सेवामा निरन्तर लागि रहनुभएको छ । नेपाली संगीत वाङ्मयमा योगदान गर्ने भएर २ वर्षमा दिने भनेर सम्मानपत्र सहितको व्यवस्था गरेको छ,’ उनले भने, ‘यो पुरस्कार दुई लाख राशि भएको छ । कोष वृद्धिमा लागिरहेका छौं । यो वृद्धि हुँदै जान्छ । पुरस्कार राशि पनि वृद्धि गर्दै जान्छ ।’

तपाईको प्रतिक्रिया