नाटक सेमिनार सुरु

समाधान संवाददाता २०८० वैशाख २९ गते १२:५३

पोखरा ।
नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनारबिहीबारदेखि सुरु भयो । नेपाली कला, कौशल, संगीत, नेपाली नाटक, रंगमञ्च, समग्र संस्कृति र नेपाली साहित्यको श्रीवृद्धि गर्ने मुल लक्ष्यका साथ स्थापना भएका प्रतिष्ठानको सेमिनार शनिबारसम्म चल्ने अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा भएको सेमिनारमा नेपाल र भारतका नाटक लेख्ने तथा निर्देशन गर्ने र नाटकघर सञ्चालन गर्ने व्यक्तिहरुको सहभागिता छ ।

सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्राडा पोखरेलले नेपाली नाटकमा समसामयिक रंग चेतना, प्राडा सावित्री मल्ल कक्षपतीले नाटक र रंगकर्म, कालेबुङ भारतका नवीन पौड्यालले कालेबुङको नेपाली नाटक विषयमा कार्यपत्र पेश गरेका छन् ।

Advertisement

कार्यक्रमा नेपालका डा अशोक थापाले चलिसको दशकपछिका नेपाली रंगसंस्था, भारतका वीरबहादुर विश्वकर्माले सिक्किममा नेपाली रंगमञ्च, नेपालका ताराप्रसाद पोखरेलले समसामयिक नेपाली नाटकका प्रवत्ति र भारत असमका पूर्णकुमार शर्माले असमे नेपाली नाटकको शताब्दी यात्रा विषयक कार्यपत्र प्रस्तुत गरेको अध्यक्ष प्राडा पोखरेलले बताए ।

प्रस्तुत कार्यपत्रउपर समीक्षकहरु कृष्णराज घतानी (भारत), डा नेत्र एटम (नेपाल), थमन नौबाग (भारत) र सरिता साह (नेपाल)ले टिप्पणी गरेका छन् ।

Advertisement

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जीवन्त सहरभित्र साहित्य, कला संस्कृति र नाट्य क्षेत्रको विकास हुनुपर्ने बताए । उनले ती क्षेत्रको विकास विना कुनै पनि सहर जीवन्त बन्न नसक्ने तर्क गरे । ‘पर्यटकीय राजधानी बनाउन प्रस्ताव गरिएको पोखरामा भाषा साहित्य र कलाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ,’ मेयर आचार्यले भने, ‘साहित्य, कला र संस्कृतिको चहलपहल भए पोखरा जीवन्त सहर बन्न सक्छ ।’ मेयर आचार्यले पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत साहित्य, कला र संस्कृतिको विकासमा ध्यान दिने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ रंगकर्मी अशेष मल्लले नेपाली नाट्य विधालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

उनले नाट्य क्षेत्रको व्यवस्थित रुपमा अभिलेख राख्नुपर्ने बताए । साहित्यकार सरुभक्तले ओझेलमा परेको नाट्य विधाप्रति आम जनताका ध्यानाकर्षण गर्न सेमिनार सफल हुने विश्वास व्यक्त गरे ।

पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइरालाले नाटक अरु विधाभन्दा पछाडि परेको बताए । उनले संसारका सबै व्यक्ति नाटकको पात्र र नाटकमा अभिनय गरेको चर्चा गरे ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, प्राडा दयाराम श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका नाट्य प्रमुख हिसानबहादुर थापा, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्मराज ढकाल, नेपाल नाट्य प्रतिष्ठान पोखराका उपाध्यक्ष डा अशोक थापा, सचिव सुन्दर मानन्धर, सहसचिव चित्रा ढकाल लगायतले नेपाली नाटकबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया