गणेशमान पालिखेको सम्झना

समाधान संवाददाता २०८० जेठ २९ गते १७:०७

पोखरा ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाएका छन् ।


मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा शर्माले जनप्रिय क्याम्पसमात्रै होइन, त्रिभुवन विश्वविद्यालय, पोखरामात्रै होइन नेपालभरीकै शिक्षा क्षेत्रमा व्यवस्थापन संकायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे ।


पब्लिक क्याम्पस संघको संस्थापक अध्यक्ष भएर मुलुकभरी सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको उनले सम्झिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले पालिखेलाई २०३९ सालमा पृथ्वीनारायाण क्याम्पसमा आफू उनको चेला भएको स्मरण गरे ।

Advertisement

डेढ दशक जनप्रिय क्याम्पसको नेतृत्व गरेका गणेशमानको १८ औं स्मृति दिवसमा योगदान र क्याम्पसको अवस्थाबारे बिमर्श


उनी भन्छन्, ‘२०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ, त्यो समय स्वर्णकाल थियो । उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्दा खेपेका छौं ।’

Advertisement


संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख कृष्णबाबु बराल, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगर, कर्मचारी संघ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरु, प्राध्यापक शिव केसी, सुरेश रानाभाट लगायतले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने विचार राखे ।


समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट २ पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट २ पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरणीय छ ।


पालिेको सम्झनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामकरण गरिएको छ । गत वर्ष उनकी पत्नी गंगादेवीले पति गणेशमानको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्देश्यले कोष स्थापना भएको हो ।


२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमानलाई उनकै निवास नागढुंगाअघि गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको छ । कास्की जिल्लाबाट २०२२ सालमा एमकम पास गर्ने उनी पहिलो व्यक्ति हुन् ।


२०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पस प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव आएपछि उनले १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।


१८ औं स्मृति दिवसको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउनपर्ने गणेशमान पालिखेका पदचाप विषय अन्तरक्रिया भएको हो । क्याम्पस प्रमुख लोकराज भण्डारीले पालिखका पदचाप पछ्उँदै क्याम्पस लक्ष्यसम्म पुग्ने बताए । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया