पोखरामा ३ दिनपछि उठ्यो फोहोर

समाधान संवाददाता २०८० जेठ ३० गते ११:०६

पोखरा ।
पोखरा महानगरपालिकामा ३ दिनदेखि नउठेको फोहोर सोमबारबाट उठ्न थालेको छ । ३ दिनदेखि महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर सोमबार बिहानदेखि उठ्न थालेको हो । महानगरले भाडामा लिएको एक्साभेटरको इन्धनको रकम दिने सहमति भएसँगै फोहोर उठाउन सुरु भएको पोखरा महानगरको सरसफाइ शाखा प्रतिनिधि हर्क गायकले जानकारी दिए ।


यसअघि ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन वापतको रकम नपाएपछि शुक्रबारदेखि पोखराका बजार क्षेत्रका सडकमा थुप्रिएको फोहोर उठेको थिएन । गत फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी छ । महानगरले एक्साभेटरको मासिक ४ लाख रूपैयाँ भाडा तिर्ने र इन्धन घण्टाको आधारमा दिने सम्झौता भएको थियो ।


लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको थियो । गत पुसदेखि महानगरपालिकाको फोहोर पोखरा महानगरपालिका ३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुँदै आइरहेको छ ।

Advertisement


गत ३ दिनदेखि फोहोर नउठेसँगै पोखराका बजार क्षेत्रमा दुर्गन्धित बनेको थियो । सडक छेउमा थुप्रिएको फोहोरले बजार क्षेत्रनै दुर्गन्धित बनेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया