रैथाने बाली पछ्याउँदै किसान

सुन्दरकुमार थकाली २०८० जेठ ३० गते ११:१५

जोमसोम ।
मुस्ताङमा खेतीयोग्य जमिन कम छ । त्यो कम जमिनमा फल्ने बालीको माग भने उच्च छ । यहाँका किसान रैथाने बालीको उत्पादन तथा खेतीपातीमै रमाएका छन् । उनीहरुले पछिल्लो समय तिनै रैथाने खेतीलाई व्यावसायिकसमेत बनाएका छन् ।

सडक यातायातको सहजतासँगै पर्यटकीय जिल्लाको रुपमा स्थापित हुन थालेपछि जिल्लाका कृषक रैथाने बालीप्रति थप आकर्षित भएका हुन् । उपल्लो मुस्ताङमा भने धेरै स्थानीय वैदेशिक रोजगारका कारण परम्परागत रुपमा लगाउने गरिएका रैथानी बाली उवा, फापर र तोरी खेती घट्दो देखिन्छ ।


अहिले मुस्ताङका कृषकलाई जौ थन्क्याउन भ्याइ नभ्याइ छ । यहाँका कृषक जौ थन्क्याएको १५ दिनपछि असारमा फेरि उवा थन्क्याउन जुट्छन् । यहाँ उत्पादन हुने रैथाने बाली उवा, जौं, फापर, सिमी, लसुन आदि जिल्लामै सहजै बिक्री हुन्छन् ।

Advertisement

सजिलै बजार पाएकाले कृषकले रैथाने बाली संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिएका हुन् । यहाँका किसान यी बालीका विभिन्न परिकार बनाएर पनि बिक्री गर्छन् । कतिपयले कोशेली घरमा प्याकेजिङ गरी बेच्न थालेका छन् । रैथाने बालीको खेती प्रणालीमा बढी परिश्रम र झन्झट भए पनि श्रम अनुसारको मूल्य पाउन थालेपछि किसान उत्साहित छन् ।


उचित मूल्य पाएकाले रैथाने बाली विस्तार तथा यो खेतीलाई किसानले निरन्तरता दिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटी बताउँछन् ।

Advertisement


अरु आम्दानीको सम्भावना नहुँदा मुस्ताङका कृषकले व्यक्तिगत र घरायसी खर्च जोहो गर्न रैथानी बाली उवा, जौ, फापर, सिमी, लसुन आदि लगाउने गथ्र्ये ।


त्यसरी लगाइएका खाद्यान्न घरेलु मदिरा बनाउन, सातु बनाउन र ढिडो खानका लागि प्रयोग गरिन्थ्यो । अहिले पनि यहाँका कृषकले मदिरा बनाउनै उवा र जौ प्रयोग गर्छन् । यसको प्रशोधन र थप बजारिकरण गर्न सकिएमा रैथाने बाली विस्तार र प्रर्वद्धन हुने उनीहरुको विश्वास छ ।


केन्द्रले रैथाने बाली संरक्षण तथा विस्तार गर्दै कृषकलाई उत्प्रेरित गर्न बजार प्रर्वद्धन, प्रशोधन र बाली थन्क्याउने चाहिने उपकरण उपलब्ध गराउँदै आएको छ । मुस्ताङका कृषकले स्याउ बगैचाभित्र बाली लगाएर दोहोर मुनाफासमेत लिने गरेका छन् । स्याउका बोटलाई असर नपर्ने गरी खाली भागमा उवा, फापर, जौं, आलु, सिमी, भोटे लसुन र मौसम अनुसार सागसब्जी लगाउने गरिएको छ ।


स्याउ र आलुपछि उवा, फापर र जौ खेती गरिन्छ । यहाँका रैथाने बाली मुस्ताङकै पृथक ब्रान्ड बनेका छन् । उवा जौ जस्तै बाली हो । उवालाई स्थानीय भाषामा करुने र अंग्रेजीमा नेक्ड बार्ली भनिन्छ । समुन्द्री सतहको १ हजार ९ सय ८४ मिटरदेखि ३ हजार ८ सय मिटरसम्म उवा खेती हुन्छ । उवा र जौ मुस्ताङको घाँसादेखि उपल्लो भागमा पनि गरिन्छ ।


मध्य र तल्लो मुस्ताङमा मंसिर अन्तिमदेखि पुससम्म र उपल्लो मुस्ताङमा चैत र वैशाखमा खेतबारीमा जौ छर्ने गरिन्छ । यसरी भूगोल अनुसार फरक फरक समयमा लगाइने जौं जेठ अन्तिम र उवा असारको दोस्रो हप्तामा पाक्छ । उपल्लो मुस्ताङमा असोजमा यी बाली थन्क्याइन्छ ।


जौ भुटेर सातु बनाइन्छ भने रक्सी तथा जाँड बनाउन पनि प्रयोग हुन्छ । उवा पोषिलो, स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ । रैथाने बाली उवा र जौं फलाउन बढी मेहनत चाहिने घरपझोङ—३ स्याङका कृषक रोशन थकाली बताउँछन् । उनले बर्सेनि उवा र जौ बाली मंसिर र पुस महिनामा लगाएर जेठ असारमा पाक्ने बताए । उनका अनुसार कृषकले स्याउ बोट भित्र पनि यो बाली लगाउन मिल्ने भएकाले कृषकलाई दोहोरो फाईदा हुने गरेको उनको भनाई छ ।

यहाँका कृषक अझै प्रविधिमा रुपान्तरण हुन सकेका छैन,परम्परागत शैलीमा उवा,जौ काट्ने र केस्रा छुट्याउने गर्छन ,यो प्रविधि झन्झिटिलो छ ,’कृषक थकालीले भने, केही ठाउँमा उवा र जौंको केस्रा छुट्याउन मेसिन आएको छ ,अब बाली काट्ने देखि थन्क्याउने सबै काम प्रविधिबाटै भएमा कृषकलाई सहज हुन्छ ।’ उनले खेतबाट उवा र जौ काटेपछि २/४ दिनसम्म घाममा सुकाउनु पर्ने बताए ।

यसैगरी रैथाने बाली अन्तर्गत मुस्ताङमा मिठे फापर र तिते फापर लगाउने प्रचलन छ । यो खेती समुन्द्री सतहदेखि १९८४ मिटरदेखि ३९०० मिटरको उचाईसम्म हुन्छ । फापर तल्लो मुस्ताङमा उवा र जौं थन्क्याएपछि असार र श्रावण महिनामा रोपेर असोज÷कार्तिकमा भित्र्याईने गरिन्छ भने उपल्लो मुस्ताङमा बैशाखमा रोपेर कार्तिक महिनामा घरमा भित्र्याईने गरिन्छ । औषत उचाई ११० सेमी,झुप्पामा हलुका गुलावी रंगको फुलहरु फुल्छन् । यसको दाना हलुका कालो रंगको हुन्छ । फापरको केस्रा पिसेर पिठो बनाईन्छ भने यसको पिठो ढिडो र रोटीमा प्रयोग हुन्छ ।


यसका अतिरिक्त रैथाने सिमी पनि २ हजारदेखि ३ हजार मिटरको उचाईमा हुन्छ । सिमी घरपझोङ गाउँपालिकामा जेठको अन्तिममा र वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा बैशाखमा लगाएर भदौदेखि असोजसम्मामा थन्क्याईन्छ । सिमी दालको रुपमा प्रयोग हुन्छ । मुस्ताङी भोटे लसुन पनि २ हजारदेखि ३५ सय मिटरको उचाईमा हुन्छ । लसुन मंसिरमा लगाएर जेठमा भित्र्याईन्छ ।


यस्तै रैथानेबाली अन्तर्गत नपर्ने भएपनि मुस्ताङी आलु सहर बजारका पारखीले औधि रुचाउछन् । यो बाली पनि २ हजारदेखि ४ हजार मिटरको उचाईमा लगाईने गरिन्छ । मुस्ताङी सेतो आलु यहाँको लोकल आलु हो भने यहाँका कृषकले विकासे रातो आलु पनि लगाउने चलन छ । पकाउँदै केही समयमै पाक्ने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । यहाँका कृषकले स्याउ बोटमा अन्तरबालीका रुपमा लगाएर दोहोरो फाईदा लिने गरेका छन् ।तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङसम्म आलु खेती गरिएको हुन्छ ।


कृषि ज्ञान केन्द्र मुस्ताङको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हिमाली जिल्ला मुस्ताङको १०५ हेक्टर क्षेत्रफल जमिनमा लगाएको जौ खेतीबाट १९६ मेट्रिक टन जौ उत्पादन भएको थियो । १५० हेक्टर जमिनमा लगाइएको उवा खेतीबाट ३०० मेट्रिक टन उवा उत्पादन भएको थियो ।


यसैगरी ३०६ हेक्टर जमिनमा लगाएको आलु खेतीबाट ९१३८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने ८० हेक्टर जमिनमा १२४ मेट्रिक टन सिमी उत्पादन भएको थियो । लसुन ११६ हेक्टर जमिनमा लगाउँदा ११७ मेट्रिक टन उत्पादन भएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया