गलेमबासीको होमस्टे सपना

युवराज पौडेल २०८० असार ५ गते ११:४९

स्याङ्जा ।

भारतीय सेनामा भर्ती भएका ईन्द्रबहादुर गुरुङ ‘जिमाह’ गाउँमा बस आएकोमो गदगद् देखिन्थे । उनी क्याप्टेन पदबाट अवकाश भई फुर्सदिलो जीवन बिताउँदै छन् । अवकासपछि उनी आफ्नो गाउँमा आएका पाहुनालाई स्वागत गर्नेदेखि पत्रकारलाई गलेमका बारेमा ब्रिफिङ गरिरहेका थिए । उनको जन्मघर यहीँ गलेममा छ । गाउँबाट सहर बसाइँ सर्ने क्रम तीव्र हुँदा गुरुङ पनि पोखरेली बने ।


तर उनले गाउँको घर पनि सजिसजाउ गरेर होमस्टेका लागि तयार गरेका छन् । गाउँको विकटता, सडकको पहुँच नभएका कारण आफूहरु सहरतिर जानुपरेको बाध्यता सुनाउँदै उनले अब बाटो राम्रो हुने भएपछि गाउँमै बस्ने र होमस्टेको विकासमा लाग्ने सोच सुनाएन । उनी जस्ता धेरै गलमेबासी जन्मघरको मायाले बेला बेला गाउँमा जमघट हुन्छन् ।

Advertisement


८४ वर्षीय मेजर दिलबहादुर गुरुङ पहिलोपल्ट आफ्नो गाउँमा बस आएकोमा निकै उत्साहित छन् । सर्केटारी गलेम पञ्चासे सडक ट्रयाक खोल्ने क्रममा समितिको अध्यक्ष भएर भूमिका खेलेका गुरुङ पनि पोखरामा नै बस्छन् ।

३६० मध्ये ३ सय घर बसाइ सरेका छन् । प्राकृतिक र सांस्कृति रुपले धनी यहाँका बाँकी बासिन्दा समृद्धि खोज्दै छन् ।

Advertisement


गलेम गाउँकी बुहारी पूजा गुरुङको सपना पनि उस्तै छ । फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्यसमेत रहेकी गुरुङ राम्चे सिल्लो होमस्टेकी संस्थापक अध्यक्षसमेत हुन् । सडकको समस्याका कारण होमस्टे दर्ता गरेर पनि पाहुना नआउने चिन्ताले उनलाई पिरोलेको थियो । सडक खनेर बाटो राम्रो बनाएपछि गाउँमा पहिलोपल्ट मिनी बस आउँदा उनको मुहारमा कहिल्यैं नदेखिएको खुसी देखिन्थ्यो ।


यति बेला प्रदेशको स्थानीय पूर्वाधार विकासबाट ५० लाख बजेटमा सडक बनाउने काम भइरहेको छ । बाटो सहज भएर पहिलोपल्ट गलेमको गाउँमा बस पुग्दा सबै गाउँलेको खुसीको सिमा थिएन । होमस्टेकी अध्यक्ष नानीमाया गुरुङ निकै उत्साहित देखिन्थिन् । ‘बजारको कोलाहल भन्दा गाउँको आनन्द बेग्लै हुँदो रहेछ । बाटो आएपछि आशा जागेको छ । होमस्टेको विकास र प्रचारप्रसारमा सबै मिलेर लाग्छौं ।’

सिद्धार्थ राजमार्ग हुँदै सर्केटारीबाट उत्तर पश्चिमतिरको बाटो हुँदै आरुखर्क, गलेम, राँपु, टुटे र खामोहाले पुग्न सकिन्छ ।

आरुखर्कसम्मको बाटो राम्रो भए पनि गलेम भीरको बाटो सजिलो नभएकाले फोरह्विल जिपमात्र कहिलेकाँही हिउँदमा गाउँमा पुग्ने गरेका थिए । सिधै पञ्चासे जस्तो धार्मिक स्थलसँग जोडिएको हुनाले पनि यो ग्रामीण सडक महत्वपूर्ण छ ।


समुद्री सतहबाट १ हजार ७ सय मिटरमा रहेको गलेम गाउँमा मूलतः गुरुङ छ । यहाँ कुनै समय ३ सय ६० घर थिए । त्यसैले कतिपयले ३ सय ६० गलेम गाउँ भन्ने गर्थे । अहिले यहाँ ६० घर रहेको होमस्टेका सचिव चेतबहादुर गुरूङ (नौले)ले सुनाए ।


गलेममा गुजुमुज्ज बस्ती छ । यहाँ बाटोमुनि र बाटोमाथि बस्ती छ । लमतन्न परको फाँट जस्तो देखिने गलेममा खर्क, चौर, बारी, खरबारी तथा धान खेत छन् । यहाँको माटो पनि उर्वर छ । यहाँ मकै, कोदो, कागती, निबुवा खेती हुन्छ ।


प्रकृति र संस्कृतिले सम्पन्न गलेमसुन्दर भएर पनि प्रचारप्रसारको कमी र यातायातको कठिनाइका कारण ओझेलमा छ । गलेम गाउँको सिरानमा रहेको ढिकीचौरसुन्दर खर्क हो । यो चौर दृश्यावलोकनका लागि प्राकृतिक भ्यु टावर हो । गलेम गाउँले सिरमा राम्चेदेवीलाई राखेर ढिकीचौरलाई छातीमा सजाएर उत्तरबाट दक्षिणी भूभागलाई हेरेर लमतन्न बसेको छ ।


यहाँबाट वरिपरिका थुप्रै डाँडाकाँडा र बस्ती देखिन्छन् । यहाँबाट अर्जुनचौपारी, दरौ, रापाकोट, स्याङ्जा, पोखरा तनहुँसम्मको दृश्य देखिन्छ । त्यतिमात्र होइन, मौसम खुलेका दिन माछापुचछ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमाली चुचुरा लस्करै देखिन्छन् ।


गलेमको ढिकीचौरमा कुनै समय प्याराग्लाइडिङ हुन्थ्यो तर विविध कारणले त्यसले निरन्तरता पाउन नसकेको ईन्द्रबहादुर सुनाउँछन् । ढिकीचौरमा अहिले पनि प्याराग्लाइडिङको सम्भावना रहेको उनको भनाइ छ । ‘पहिले एक पटक ढिकीचौरको डाँडाबाट प्याराग्लाइडिङ परीक्षण सफल भएर केही समय चल्छ भएको हो । अब पुनः यसको सम्भावना खोज्नुपर्छ,’ गुरुङले भने ।


यहाँको महत्वपूर्ण धार्मिक स्थल राम्चेदेवी मन्दिर र धाम हो । समुन्द्री सतहबाट २ हजार १ सय मिटरमा रहेको राम्चेदेवीको ऐतिहासिक तथा धार्मिक महत्व छ । यहाँ वडा दसैँ र चैते दसैमा पूजा गरिन्छ । बाला चतुर्दशीमा यहाँ सद्बिउ छरिन्छ ।


गलेम गाउँमा सिलो मन्दिर छ । शान्तिस्तूप भञ्ज्याङ छ । बुद्ध पूर्णिमामा यहाँ पहिले मेला लाग्थ्यो । यहीँ कल्से झरना छ । यहाँ गुरुङ, बाहुन, क्षेत्री लगायत विभिन्न जातजातिका मानिस भए तापनि मूलत गलेम, राँपु, टुटे, खामोहाले गुरुङ बस्ती नै हुन् ।


मिलेको खेतीयोग्य जमिन, बचिमा बारी र घर, घरमाथि सुन्दर खर्क र खरबारी अझै त्योभन्दा माथि विभिन्न जडीबुटीले भरिपूर्ण हरियो जंगलले गलेम सिँगारिएको देखिन्छ । राँपु, टुटे, खामोहाले हुँदै पञ्चासेसम्मको बाटोको ट्रयाक खुलेसँगै सर्केटारीदेखि पञ्चासे जाने छोटो उपयुक्त बाटो यही भएकाले यस क्षेत्रको विकासको ढोका खुलेको फेदीखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ख्यामबहादुर पौडेलले बताए ।


गलेमका महिलाले गलेममा मौलिक होमस्टे बनाउने योजना बनाएका छन् । कुनै पनि आधुनिक संरचना बनाउनुभन्दा पुराना मौलिक वस्तुहरुलाई संरक्षण र संवर्धन गर्ने उनीहरुको सोच देखिन्छ । यहाँ सांस्कृतिक कार्यक्रम गर्नका लागि जनशक्ति अभाव छैन । बरु सामुदायिक भवन आवश्यक देखिएको छ ।


अहिलेसम्म सरकारी निकायबाट यो होमस्टेको लागि कुनै पनि रकम छुट्टिएको छैन । गाउँलेको आफ्नै स्रोतबाट होमस्टेका घर तथा अन्य आधारभूत संरचना बनेका छन् । यस क्षेत्रमा कृषिको पनि सम्भावना छ । व्यवसायिक कृषि र होमस्टेलाई जोडेर पाहुनालाई घर गाउँका स्थानीय उत्पादन पस्कन सकिन्छ । बजारबाट प्लास्टिकका प्याकेटमा आउने खानेकुरा बन्द गरी गाउँमै फलेका अन्न उपज तथा तरकारी, गाउँमै पालेका कुखुरा, खसी, हाँस आदिलाई होमस्टेमा उपयोग गर्न सकिन्छ । उत्पादनका हिसाबले गलेममा अब्बल माटो छ भन्ने कुरा त्यहाँ सप्रिएका मकै र सागसब्जी हेर्दा नै थाहा हुन्छ ।


गलेम प्रकृतिकमात्र होइन, संस्कृतिले पनि सम्पन्न छ । सुनिमाया र ठाडो भाका यहाँ प्रचलित गीत हुन् । सुनिमाया गाउँदा गाउँदै रात गएको पत्तो नै नपाउने स्थानीयहरु बताउँछन् । सुनिमाया परापूर्वक कालदेखि नै प्रचलित भाका हो । मेलापर्वमा वा स्थानीय जमघटमा यस्ता गीत गाउने गरेको पाइन्छ । सुनीमाया गीत अझै पनि नबिर्सेका दुई, चार जना जम्मा भएर विशेष दिनमा गाउने गरेको गलेङकी अप्सरा गुरुङले जनाइन् ।


अहिले बसाइँसराइले गर्दा गाउँबाट धेरै बासिन्दा सहर बजारतिर आकर्षित भएका छन् । यहाँका अधिकांश युवाहभारतीय सेनामा जागिरे छन् । कोही बिट्रीस सेनामा पनि छन् । कतिपय युरोपका विभिन्न देशमा पुगेका छन् । यहाँका मानिस सुख सुविधा, रोजगार, शिक्षा, स्वास्थ्यको कारण प्रायः पोखरामा झरेका छन् । कोही काठमाडौंमा छन् । उनीहरु उतै घर बनाएर स्थायी रुपमै बसेका छन् ।


होमस्टेका लागि आवश्यक संरचना निर्माण गरेर होमस्टे मापदण्ड अनुसार अघि बढिरहेका यहाँका महिलाको उत्साहले गाउँमा आशाको सञ्चार भएको छ । होमस्टे सञ्चालनको अगुवाई गरिरहेकी कार्यपालिका सदस्य पूजा भन्छिन्, ‘प्रकृतिले गलेमलाई धेरै दिएको छ । यहाँको आफ्नै मौलिक संस्कृति छ । हामीले त केवल प्रकृति र संस्कृतिलाई मिलाए पुग्छ । होमस्टे र गाउँको विकासमा राजनाीति छिर्दैन । हामी सबै राजनीतिभन्दा ममथि उठेर एकताबद्ध छौं ।’

तपाईको प्रतिक्रिया