४ पटक म्याद थपियो, काम अपुरै

सुन्दरकुमार थकाली २०८० असार १९ गते १०:३०

जोमसोम ।
मुस्ताङको घरपझोङ रिङ रोड निर्माण कछुवा गतिमा छ । घरपझोङ गाउँपालिकाको ५ वटै वडा जोड्ने रिङ रोड सडक निर्माण गर्न लागेको हो । निर्माण कम्पनीले काम बीचैमा अलपत्र बनाएको छ ।


गण्डकी प्रदेश सरकारको ‘१ निर्वाचन क्षेत्र, १ सडक’ निर्माण कार्यक्रममा यो सडक बन्न लागेको हो । पालिकाको जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा र स्याङ गाउँ जोड्ने रिङ रोडका लागि २०७६ कात्तिक २१ गते ठेक्का लागेको थियो । एमएस वन्दना भगवती जलजला जेभी कन्ट्रक्सनले २१ करोड ४३ लाख १३ हजारमा रोड बनाउन ठेक्का सम्झौता गरेको थियो ।


बहु वर्षीय आयोजना अन्तर्गत सुरु गरिएको सडकको सम्पन्न गर्नुपर्ने अवधि १५ महिना तोकिएको थियो । तर, तोकिएको समय ०७७ माघ ६ गते काम सकिएन । सडकको पछिल्लो भौतिक प्रगति ६१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर दिलीप उप्रेतीले जानकारी दिए ।

Advertisement

घरपझोङका सबै वडा ५ जोड्ने रिङ रोडको ०७६ कात्तिकमा सुरु भए पनि अझै सकिएको छैन


घरपझोङ रिङ रोडको लम्बाई १० दशलमव ५ किमी छ । यो सडक ड्रेनसहित ८ मिटर चौडा कायम गरिएको छ । सडकको ५ किमीमा प्रिमिक्स कालोपत्र र ५ दशमलव ५ किमी ग्राभेल गर्नुपर्ने सम्झौता छ । सडकको चौथो पटक थपिएको म्याद २०८० असार ३० गते सकिँदै छ । पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर उप्रेतीका अनुसार रिङ रोडको ४ पटक म्याद थप भइसकेको छ ।

Advertisement


सरकारले सार्वजनिक खरिद नियमाली १२ औ संशोधन अनुसार जीर्ण आयोजनाहरुको सम्पन्न अवधि चालु आवको असारसम्म कायम गरेको थियो । अहिले पनि निर्माण कम्पनीले जनशक्ति र उपकरण फिल्डमा परिचालन गरेको छैन । यो सडक अन्तर्गत ७ गाउँ जोड्ने सडकको १४ दशमलव १ प्रतिशत भेरियसन अर्डर (भिओ) लागत वृद्धि भएको छ ।


पूर्व निर्धारित सडकको डिपिआरमा आवश्यकता र औचित्यमा केही काम थपिएकाले भिओ लागत वृद्धि हुन पुगेको इन्जिनियर उप्रेतीले खुलाए ।


निर्माण कम्पनीले कुल रकम २१ करोड ४३ लाखमध्ये १४ करोड ७५ लाख भुक्तानी लगिसकेको छ । कन्ट्रक्सनले ४ वर्षमा ६१ प्रतिशत काम गर्दा मेसिनरी वाल, ड्रेन निर्माण, ग्याबिन वाल, ह्युमपाइप क्रसिङ, ५ किमी ग्राभेल र सडक वेस ५ किमी लगायतका काम गरेको छ ।


कन्स्ट्रक्सनले जोमसोमदेखि ढुम्बा ५ किमी कालोपत्र, ३ किमी ग्राभेल, १ सय १० मिटर आरसिसी ढलान, कजवे ३ वटा, केही स्थानमा मेसिनरी वाल र ग्याबिन वाल र ५ किमीमा १ मिटरको डे«न बनाउन बाँकी छ । जोमसोमदेखि ठिनी हुँदै ढुम्बासम्मको ५ किमीमा कालोपत्र सडक निर्माणको ९० प्रतिशत काम भएको छ । सडक स्टक्चर सकिएपछि कालोपत्र गरिने उनले बताए ।


निर्माण कम्पनीलाई बारम्बार गुणस्तर कायम गर्न र कामको भौतिक प्रगतिबारे पूर्वाधार विकास कार्यालयले पत्रचार गरे पनि काम ठप्प छ । सार्वजनिक खरिद नियमावली अनुसारको म्याद असारमा सकिने र अर्को संशोधन नआएको अवस्थामा दैनिक ४२ हजारका दरले निर्माण कम्पनीले जरिवाना व्यवहोनुपर्ने उप्रेतीको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया