बैंकर डा.मल्लको पुस्तक ‘सफलता सम्भव छ’को गृहविमोचन

समाधान संवाददाता २०८० असार २३ गते १४:०५

पोखरा ।
बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा शनिबार विमोचन गरिएको छ । सो पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनमा गृहविमोचन गरिएको हो ।


शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, वरिष्ठ साहित्कार तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्यकार सरस्वती प्रतीक्षाले एकसाथ बिमोचन गरे ।


कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे । उनले मानिसको जीवनलाई सफलतापूर्वक बिताउन पुस्तक उपयोगी हुने बताए । अहिले विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु पुस्तक लेखन तर्फ लागेको बताउँदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो ।

Advertisement


वरिष्ठ साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिँदै पुस्तक सबैका लागि पठनीय भएको बताए । बिफलताहरु सफलताका सपनाहरु भएको उनको भनाइ थियो ।


पोखरेली यूवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारीले पुस्तकमाथि परिचर्चा एवं समीक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ वटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनको भनाइ थियो ।

Advertisement


लेखक डा. मल्लले पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मा, भगवान गौतम बुद्ध लगायत हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको बताए ।


पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझ पनि पुस्तक विमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लेखकको परिचय पत्रकार सञ्जयकुमार मल्ले गरेका थिए ।

‘इच्छाभित्र उपाय लुकेको हुन्छ भनेझैं, जीवनमा असम्भव केही छैन भन्ने चरितार्थ उहाँले पढाइमा कमब्याक गर्नु भएपछि आफ्नै जीवनमा प्रमाणित गरेर देखाउनुभएको छ,’ सञ्जयले भने ।

पुस्तकको गएको असार २ गते काठमाडौंमा समेत विमोचन गरिएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया