टमकुमारी रोकामगरका छोराछोरीलाई आर्थिक सहयोग

समाधान संवाददाता २०८० असार २५ गते १२:०६

पोखरा ।
म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौ महिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटेको छ । घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी टमकुमारी रोकामागर गण्डकी मेडिकल कलेजमा उपचार गरी घर फर्किएकी छन् ।


एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक शोभा केसी, परिचय एड्भर्टाइजिङ प्रालिका सञ्चालक सोबित बस्याल, चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारी, सामाजिक अभियन्ता सोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिता शर्मा लगायत सहयोगी हातहरूले संकलन गरेको १५ हजार १ सय ५० रूपयाँ आइतबार टमकुमारीकी काकी तथा सामाजिक अभियन्ता भीमसरा घर्तीमगरलाई हस्तान्तरण गरिएको हो ।


एकेडेमीकी शोभा केसीले घाइते टमकुमारीका बच्चाबच्चीको पढाइ खर्चमा सहयोग पुगोस् भनेर सहयोग जुटाएको जनाएकी छन् । भीमसरा घर्तीले टमकुमारीको उपचार सफल भएको र छोराछोरीका लागि पढाइ खर्चबापत प्राप्त भएको रकम बैंकमा जम्मा गरिदिने बताउँदै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Advertisement


खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी टमकुमारी गत वैशाख २६ गते मंगलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ५ लाख ७ हजारभन्दा बढी रकम जुटेको जानकारी गराइन् ।

Advertisement

तपाईको प्रतिक्रिया