बेँसीसहर–चामे बाटो बन्द

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार २९ गते १२:०६

लमजुङ ।

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले बाटो बन्द भएको हो ।


बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका १ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले जनाए ।

Advertisement


सो स्थानमा २ वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो ।

पुल निर्माणका लागि मंगलबारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउने लगायतका काम भइरहेको इन्जिनियर अधिकारीले उल्लेख गरे ।

Advertisement


मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजना अनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माणअघि बढाएको थियो । नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो ।

विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो ।


तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिवर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो । उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ । सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया